मैले हारे पनि गठबन्धनले जितेकामा उत्साहित छुः एमाले उपाध्यक्ष गौतम

काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् ।

मैले हारे पनि गठबन्धनले जितेकामा उत्साहित छुः एमाले उपाध्यक्ष गौतम

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले आइतबार एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गरे ।

आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उनले जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताए ।

'यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागिपर्ने विश्वास पनि दिलाउन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ । 

एमाले उपाध्यक्ष गौतमले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै बर्दिया क्षेत्र नं १ का मतदाता एवं सम्पूर्ण जनतालाई मत दिएकामा आभार व्यक्त गरेका छन् ।

गठबन्धनले प्राप्त गरेको अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपेको उल्लेख गर्दै उपाध्यक्ष गौतमले नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने बताए ।

प्रकाशित : मंसिर २४, २०७४ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?