कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोब्बर बढीको रोचक जित

ओलीलाई सर्वाधिक मत
दुर्गा खनाल

काठमाडौं — प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक । प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए ? भन्ने प्रश्न उब्जिन्छ ।

दोब्बर बढीको रोचक जित

हालसम्म परिणाम घोषणा भएका केही क्षेत्र यस्ता छन्, जहाँ दोब्बरभन्दा बढी मतले विजय वा पराजय भएको छ । यो सूचीको पहिलो नम्बरमा आउँछ, दोलखाको प्रतिस्पर्धा । दोलखामा एमालेका पार्वत गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले जितेका छन् । उनको प्रतिस्पर्धीसँग मतअन्तर नै ३० हजार ४ सय ४४ छ । कांग्रेसका रुद्र खडकाले २४ हजार ८ सय १३ मत ल्याउँदा गुरुङले ५५ हजार ४ सय ५७ मत पाए । गुरुङ यसअघि २०७० को चुनावमा दोलखा १ बाट निर्वाचित भएका थिए । उनको यो दोस्रो विजय हो । 

गुरुङपछि सबैभन्दा ठूलो अन्तरमा एमाले अध्यक्ष केपी ओलीले जितेका छन् । झापा–५ बाट निर्वाचित ओलीले २८ हजार ८ सय ४२ मतको अन्तरमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । अन्तरमा दोस्रो भए पनि ओली अहिलेसम्मको सबभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार हुन् । उनले ५७ हजार १ सय ३९ मत ल्याएका छन् । मत गणना सकिन बाँकी स्थानका उम्मेदवारहरूको मत हेर्दा अब ओलीको भन्दा बढी मत ल्याउने सम्भावना न्यून देखिन्छ । वामपन्थी गठबन्धनको मूल नेतृत्व सम्हालेका ओलीले आफ्नो क्षेत्रमा प्राप्त मत मुलुकभर अरू उम्मेदवारले प्राप्त गरेको भन्दा बढी छ । ओली ०६४ को संविधानसभाको चुनावबाहेक अन्य सबै निर्वाचनमा झापाबाट विजयी हुँदै आएका छन् । 

धादिङ–१ मा पनि त्यस्तै रोचक प्रतिस्पर्धा भएको छ । एमालेका भूमि त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई दोब्बर बढी मतले हराएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ म ल्याउँदा अर्यालले २१ हजार ९ सय ६८ मात्र पाए । त्रिपाठीले २७ हजार १ सय ५३ मतले अर्याललाई हराए । धादिङ एमालेका अध्यक्षसमेत रहेका उनी पहिलो पटक संसदीय चुनाव लडेका हुन् । रूपन्देही–२ मा एमालेका उपमहासचिव विष्णु पौडेलले २२ हजार ६३ मतको अन्तरमा कांग्रेसका युवराज गिरीलाई हराए । पौडेलले ४४ हजार ९ मत ल्याए भने गिरीको २१ हजार ९ सय ४६ मत मात्र आयो । निरन्तर रूपन्देहीबाट चुनाव जित्दै आएका पौडेल वाम गठबन्धन निर्माणका एक सूत्रधार हुन् । ओली सरकारमा अर्थमन्त्री रहेका पौडेलले प्रदेश ५ टुक्र्याउने गरी संविधान संशोधन गर्ने तयारी भएका बेला बुटवलमा बसेर त्यसविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए ।  

राजपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याएर जिते । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरीभन्दा १७ हजार ३ सय ३८ मत बढी ल्याएका छन् । ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याउँदा चौधरीले ८ हजार ४ सय ४७ मत मात्र प्राप्त गरे । संविधानको विरोधमा चलेको आन्दोलनका नेतृत्वकर्ता ठाकुर यस पटक आफ्नो गृहजिल्ला छोडेर महोत्तरीमा चुनाव लड्न गएका थिए । सर्लाहीबाट विगतका चुनाव हारेपछि उनी यस पटक राजपाको पकड क्षेत्र मानिएको स्थानमा चुनाव लड्न पुगेका हुन् ।

रोल्पामा माओवादीका वर्षमान पुन र रुकुम पश्चिममा जनार्दन शर्माले पनि दोब्बर बढीको फराकिलो अन्तरमा जितेका छन् । पुनले २० हजार ७ सय ४१ मतको फरकमा जितेका छन् । उनले ४० हजार ६ सय ४७ मत ल्याउँदा कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत मात्र प्राप्त गरे । रुकुम पश्चिममा शर्माले १८ हजार ७ सय ४३ मतको दोब्बर फरकमा जितेका छन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत मात्र ल्याए । माओवादीबाट मन्त्री भइसकेका पुन र शर्मा युद्धकालमा माओवादी सेनाका कमान्डरसमेत थिए । माओवादी युद्धको उद्गमस्थल मानिने रोल्पा र रुकुमबाट उनीहरूले फराकिलो अन्तरमा जिते । 

रुकुम पूर्वमा माओवादीकी कमला रोकाले दोब्बर बढी मत ल्याएर जितेकी छन् । उनले १० हजार ४ सय ३४ मत ल्याउँदा कांग्रेस हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत मात्र प्राप्त गरे । यो दोब्बरभन्दा बढीको अन्तर हो । रोका पनि माओवादी युद्धमा संलग्न भएकी नेतृ हुन् । डोल्पामा एमालेका धनबहादुर बुढाले झन्डै चौबर बढी मतान्तरमा कांग्रेसका  अंगदकुमार बुढालाई हराए । ०७० सालको चुनावमा समेत जितेका धनबहादुरले ११ हजार ७ सय ६१ मत ल्याउँदा कांग्रेसका बुढाले ३ हजार १ सय ६७ मत मात्र प्राप्त गरे ।

यस्तै, सुनसरीको क्षेत्र नं १ मा एमालेका जयकुमार राई पनि दोब्बर मतान्तरले विजयी भए । उनले ४४ हजार ५ सय २८ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले २२ हजार १ सय २३ मत प्राप्त गरे । एमाले नेताका रुपमा राजनीतिमा स्थापित भएका अशोक राई पछि संघीय समाजवादी पार्टीका अध्यक्ष भएका थिए । पछि उपेन्द्र यादव नेतृत्वको जनाधिकार फोरमसँग एकता गरेपछि उनी संघीय फोरमका बरिष्ठ नेता बनेका थिए । उनलाई २२ हजार ४ सय ५ मतान्तरले पराजित गर्ने जयकुमार अशोककै चेला हुन् ।

प्रकाशित : मंसिर २५, २०७४ ०४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?