सुनसरी क्षेत्र नं. ३ मा मतगणना स्थगित

प्रदीप मेन्याङ्बो

धरान — सर्वाधिक चासोको विषय बनेको सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला नौ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो ।

१ सय ५५ मतको झिनो मतको अन्तरले विजय गच्छदारभन्दा अगाडि रहेकी बाम गठबन्धन एमालेकी उम्मेदवार भगवती चौधरीले कांग्रेसको पक्षमा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि पुन: मतदान गर्नुपर्ने माग राख्नु भएको छ ।

विवाद समाधान गर्न अहिले बामगठबन्धन र कांग्रेस वीच आन्तरिक वैठक बसिरहेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार केही प्राविधिक समस्या देखिएको र केही समय पछि मतगणना सुचारु हुने जनाएको छ । विवादपछि मतगणना स्थलमा सुरक्षा व्यबस्था झन कडा पारिएको छ ।

८५ हजार १ सय ९७ मत खसेकोमा पछिल्लो मत परिणाम अनुसार चौधरीको २९ हजार ३ सय २६ र गच्छदार २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर २५, २०७४ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

मोरङमा हारका रोचक कारण

जितेन्द्र साह

विराटनगर — मोरङमा प्रतिनिधि सभाको ६ क्षेत्रमध्ये वाम गठबन्धनले ५ र कांग्रेसले एउटामा जित्यो । प्रदेशसभाको १२ सिट मध्ये वाम गठबन्धनले ७, कांग्रेसले ४ र संघीय समाजवादी फोरमले १ हात पार्‍यो ।

मुलुकको अन्य भागको तुलनामा मोरङमा काँग्रेस, मधेसी र अन्य दलले हार्ने कारण नितान्त फरक एवं रोचक छ । यो जिल्लाका मतदाताले स्थानीय तहको निर्वाचनदेखि नै भुइका मान्छे एवं स्थानीय स्तरमा बलियो संगठन भएका दललाई महत्व दिन थालेका थिए । 

प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनको क्रममा पनि उनीहरुले ‘हाम्रा र राम्रा’ दुवैलाई प्राथमिकतामा राखेर भोट खसाले । परिणामस्वरुप दिग्गज नेताहरुको हार भइ काँग्रेस एवं अन्य दलहरुले पनि क्षति बेहोर्नुपर्यो ।

लेटांगका एमाले नेता घनश्याम खतिवडाले मोरङ १ बाट प्रतिनिधि सभा सदस्यमा जित्ने कारण पनि मतदाताको यही मापदण्ड थियो । किशोरावस्थादेखि अहिलेसम्म विभिन्न किसिमले आफ्नै क्षेत्र र भूमिमा सक्रिय रहेकाले मतदाताको पूर्ण रोजाइमा उनी परे ।

राजनीतिको हरेक आरोहअवरोहमा जनताकोसाथ छाडेनन्, स्थानीयले पनि उनलाई बिर्सेनन् । परिणामस्वरुप उनको अगाडी काँग्रेसका प्रभावशाली नेता डिगबहादुर लिम्बु टिक्नै सकेनन् । हुन त राजनीतिका पण्डितहरुले लिम्बुले जित्ने अन्तसम्मै ठोकुवा गरिरहेका थिए ।  

कुल १ लाख ७२ हजार ३४ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभाकालागि काँग्रेसबाट लिम्बु, एमालेबाट खतिवडा, संघीय समाजवादी फोरमबाट राजकुमार लिम्बु र नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपानेलगायत १० उम्मेदवारले लडेका थिए । उक्त निर्वाचन क्षेत्रमा केरावारी र मिक्लाजुंग एवं उर्लावारी र लेटाङ्ग नगरपालिकाका सबै बडा समेटिएका छन् । उनीहरु बाहेक अन्य प्रतिस्पर्धामै देखिएनन् । 

राजनीतिका जानकारहरुले मोरङ २ मा काँग्रेसले जित्नै नसक्ने भन्दै आएका थिए । तर सबैलाई चकित पार्दै एमालेका निवर्तमान सभाषद ऋषिकेश पोखरेललाई पराजित गर्दै काँग्रेसका मिनेन्द्र रिजाल यहाँ विजयी भए जबकी समग्र मोरङकै काँग्रेसी उम्मेदवारहरुमध्येमा पहिलो पटक चुनावमा उठेका रिजाललाई कमजोर मानिएको थियो ।  

भाग्यले मोरङको ६ मध्ये यो एउटा क्षेत्रमा मात्र काँग्रेस सुरक्षित रह्यो । जितेपछि नेता फर्केर आउँदैनन् भन्ने जनताको मनोदशालाई संवोधन गर्न रिजालले सारा शक्ति लगाएको उनकै कार्यकर्ताहरुले बताए । 

उनी उक्त निर्वाचन क्षेत्रको हरेक वडा र टोल पुगे एवं आफूसँग प्रत्यक्ष संवाद हुने वातावरण बनाए । जितेर राजधानी पुगिएपनि मतदातासँग प्रत्यक्ष संवादकोलागि गाउँ तथा नगरमा उनले कार्यकर्ता मार्फत एक सशक्त सम्पर्क प्रणाली बनाएका छन् ।   

१ लाख ११ हजार ३ सय २१ मतदाता भएको मोरङको यो २ नम्बर निर्वाचन क्षेत्रमा सुनवर्षी र रतुवामाई नगरपालिका, रंगेलीको १, २, ३, ८, ९, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ , कानेपोखरी गाउँपालिकाको १,२, ३ वडा पर्छ । समग्रमा यो पहाडी, मधेसी, आदिवासी, जनजाति एवं दलितको मिश्रित बसोबास भएको क्षेत्र हो । 

उक्त क्षेत्रमा प्रतिनिधि सभाकालागि काँग्रेसबाट रिजाल, एमालेबाट पोखरेल, राजपाबाट महेन्द्र लाल दास केवरत, नयाँ शक्ति पार्टीबाट दीपक कोइराला, सँघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थिरबहादुर लिम्बु र स्वतन्त्रबाट कल्पना विमलीलगायत १२ जना उठेका थिए ।

मोरङ ३ मा सांगठनिक रुपले एमाले तगडा थियो । यहाँबाट उक्त दलले जुनसुकै दरिला उम्मेदवार उठाएपनि जित्ने पक्कापक्की थियो । यही कारणले व्यक्तिगतरुपले लोकप्रिय एवं संसदमा एमालेको प्रमुख सचेतक भानुभक्त ढकालले काँग्रेसका सम्पन्न उम्मेदवार सुनील शर्मालाई पराजित गरे । शर्माले यहाँ जित्नलाई ठूलै कसरत गरेपनि जित्न सकेनन् ।   

१ लाख २७ हजार ४ सय ९५ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभाकालागि काँग्रेसबाट शर्मा, एमालेबाट  ढकाल र राष्ट्रिय जनमोर्चाबाट योगेन्द्र ढकाललगायत १३ जना मैदानमा थिए । पहाडी बाहुन, क्षेत्री एवं जनजाति बहुल सुन्दरहरैंचा, बेलबारी र पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको विभिन्न वडाहरु मिलाएर उक्त निर्वाचन क्षेत्र बनाइएको हो ।

जितेर गएपछि आफ्नै क्षेत्रकालाई नचिन्ने नेताहरुको प्रवृतिबाट दिक्क भएका मोरङ ४ का थारु, मधेसी र दलितले आफ्नै माझमा हुर्केबढेका माओवादी केन्द्रका अमनलाल मोदीलाई भारी मतले जिताए । यो क्षेत्रमा पराजित काँग्रेसका हस्तीमध्येका एक महेश आचार्यले आफ्नै मतदातालाई नचिन्ने गरेको स्थानीयको व्यापक असन्तुष्टि थियो । 

थारु बहुल उक्त क्षेत्रमा जातिय आधारमा भोट भएको विश्लेषकहरुले दाबी गरे पनि यो तर्कसँग मतदाता सहमत छैनन् । ‘जनतालाई चिन्ने नेतालाई जिताएका हौं, त्यस्ता उम्मेदवार अन्य समुदायको भएपनि भोट दिन्थ्यौं,’स्थानीय शिक्षित मतदाता पूर्णि चौधरीले भनिन् ।  

कुल ९९ हजार १ सय २३ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र ४ मा कटहरी एवं ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका ५, ६, ७ र विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ पर्छ । यो क्षेत्रमा प्रतिनिधि सभाकालागि काँग्रेसबाट आचार्य, माओवादी केन्द्रबाट मोदी र राष्ट्रिय जनता पार्टी (राजपा) बाट लक्ष्मण साहुलगायत ९ जनाले प्रतिस्पर्धा गरेका थिए । 
बिगतको प्रतिनिधि सभा निर्वाचनहरुमा काँग्रेसका गिरिजाप्रसाद कोइराला एवं आमोदप्रसाद उपाध्यायलाई जिताएको मोरङ ५ का मतदाताले लामो समयदेखि सहजै पहुच हुने जनप्रतिनिधिको खोजीमा थिए । स्थानीयकालागि कोइराला एवं उपाध्याय सदैव आलंकारिक व्यक्तित्वको रुपमा मात्र रहे । उनीहरु प्रधानमन्त्री र मन्त्री बनेपनि स्थानीय स्तरमा कुनै स्थायी विकास हुन सकेन ।

स्थानीयले यस पटक यही क्षेत्रबाट राजनीतिमा उदाएका माओवादी केन्द्रका शिवकुमार मण्डललाई विजयी गराए । सीमावर्ती जहदा एवं धनपाल गाउँपालिका, रंगेलीको ४, ५, ६ र ७ वडा तथा विराटनगर महानगरपालिकाको १३ देखि १८ वडा समेटिएको मोरङ निर्वाचन क्षेत्र न. ५ मा ८९ हजार २ सय ८७ मतदाता छन् । 

उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाकालागि काँग्रेसबाट अमृत कुमार अर्याल, सँघीय समाजवादी फोरमबाट राजकुमार यादव, राजपाबाट बद्रिप्रसाद मण्डल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) बाट कुर्वान मियाँ र स्वतन्त्रबाट अनीताकुमारी ढकाललगायत सात उम्मेदवार थिए । 

स्थानीय स्तरमा दलको कमजोर संगठन र कमजोर पकडका कारणले अर्यालले मतदातालाई रिझाउन सफल भएनन् । ‘अर्यालको चुनावी गतिविधि सस्तोलोकप्रियता उन्मुख भनौं वा ललिपपले ललचाउने शैलीको भएकोले सहजै पचाउन सकेनौं,’एक स्थानीयले भने । अर्का उम्मेदवार फोरमका यादवले अधिकांश समय सदरमुकाम केन्द्रित राजनीतिमा बिताएकाले मतदातालाई प्रभावित पार्न सकेनन् ।  

मण्डलको तुलनामा सबै वर्गका स्थानीय माझ कमै भिजेको हुनाले यसपाली यादवले तेस्रो स्थानमै सन्तोष गर्नुपरेको स्थानीयले बताए । ‘यादवले कम समयमा राम्रो मिहिनेत गरेर भविष्यकालागि ढोका खोलेका छन्,’स्थानीय वृद्ध भगवान मण्डलले भने । यहाँ माओवादी, काँग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा रहेकोले जातिय आधारमा मतदान नभएको प्रष्टियो ।
बिगतका निर्वाचनहरुमा जितेर पनि केही गर्न नसकेका राजपाको बद्री मण्डललाई मतदाताले ठाँडै अस्वीकारे । अन्य उम्मेदवारहरु त चर्चामै आएनन् । उम्मेदवारीको घोषणासँगै चर्चामा रहेको मोरङ ६ मा आममतदातासँग प्रत्यक्ष तालमेल गर्न सक्ने सरल छविका कारणले एमालेका लालबाबु पण्डितले बाजी मारे । दुई पटक यो क्षेत्रबाट जितेका काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले ह्याट्रिक गर्न पाएनन् । 

स्थानीय मतदाताको कोइरालासम्म सहज पहुँच स्थापित नहुनु, आसेपासे एवं निकटलाई भेला पारी गर्ने क्लब शैलीको चुनावी प्रचारप्रसारलाई उनको पराजयको कारण मानिएको छ । ‘पटकपटक जितेर पनि उल्लेखीय रुपमा केही नगरेका पुरानैभन्दा नयाँ वा संभावनायुक्त जनप्रतिनिधिको खोजीमा मतदाता थिए,’स्थानीय बुद्धिजीवी उत्तम खड्गीले भने । 

एक लाख १० हजार ३ सय २२ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र न. ६ मा प्रतिनिधि सभाकालागि काँग्रेसबाट डा. कोइराला, एमालेबाट पण्डित, राजपाबाट तवरेज अख्तर आलम, सँघीय समाजवादी फोरमबाट राजेश्वर विश्वास र नयाँ शक्ति पार्टीबाट बिमला अर्याललगायत १० जनाले उम्मेदवारी दिएका थिए ।  

उक्त निर्वाचन क्षेत्रमा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ तथा विराटनगर महानगरपालिकाको ४, ५, ६, ७, ९, ११ र १२ वडाहरु पर्छन् । ‘स्थानीय तह र अहिलेको निर्वाचनमा पूर्वाधार विकासकै मुद्दाहरु बढी उठे,’विराटनगरका व्यवसायी माधव अधिकारीले भने,‘यसकालागि आफ्नैबीचबाट उठेकालाई बढी विश्वास गरे ।’

कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता भएको मोरङमा प्रदेशसभा सदस्य चुन्दा पनि मतदाताले को चाँहि निकट छन् र कुरा सुन्छन् भन्ने पक्षलाई ध्यानमा राखे । ‘भोट दिंदा व्यक्ति हेरे, गणना हुँदा दलले श्रेय पाए,’अधिकारीले भने । 

उल्लेखनीय के छ भने मोरङको दक्षिणपूर्वी भेकमा २०४८ देखि २०५२ सम्म मधेसी दलकै पकड थियो । तर हालको स्थानीय चुनावमा सँघीय समाजवादी फोरमले प्रमुख पदमा मोरङको जहदा गाउँपालिका बाहेक कतै बर्चस्व जमाउन सकेन । मुख्यत: यही गाउँको मतदाताको समर्थनका कारणले प्रदेशमा सभामा उसले एक सिट हात पार्यो ।

मधेस आन्दोलनलाई मझधारमा छाड्ने कारण बारे मधेसी दलले जनतालाई बुझाउन नसक्नु एवं बिना कुनै गृहकार्य जथाभावी उम्मेदवारको चयन गर्नुलाई हारको कारण मानिएको छ । मतदाताले उम्मेदवारहरुमा सशक्त विकल्प खोजिरहेका थिए तर मधेसी दलहरुले सम्पन्न दुवै निर्वाचनमा त्यो दिन सकेनन् । 

 

प्रकाशित : मंसिर २५, २०७४ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्