कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थोरै र धेरै मतान्तरले पराजित हुनेहरू

देवनारायण साह

मोरङ — प्रदेश १ को उदयपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार मञ्जुकुमारी चौधरी सबैभन्दा कम मतान्तरले पराजित भएकी छन् । चौधरी ५ सय ८४ मतान्तरले पराजित भएकी हुन् ।

उनलाई कांग्रेसका नारायण खडकाले ३३ हजार १ सय ४२ मत ल्याएर पराजित गरे । प्रदेश १ मा प्रतिनिधिसभा सदस्यमा सबभन्दा बढी मतान्तरले झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारी पराजित भए । उनी २८ हजार ८ सय ४२ मतान्तरले पराजित भएका हुन् । एमाले अध्यक्ष केपी ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर उनलाई पराजित गरे ।

प्रतिनिधिसभा सदस्यमा कोइरालाको बिरासत र कांग्रेसको प्रभाव क्षेत्र रहेको मोरङ ६ मा शेखर कोइराला ६ सय ७५ मतान्तरले पराजित भए । उनलाई एमालेका लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएर पराजित गरेका हुन् ।

यस्तै, प्रतिनिधिसभा सदस्यको १ सिट रहेको संखुवासभामा कांग्रेसका दीपक खडका १ हजार ६६ मतान्तरले पराजित भए । उनलाई एमालेका राजेन्द्रप्रसाद गौतमले ३० हजार ६ सय ७१ मत ल्याएर पराजित गरे । तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सीता गुरुङ २ हजार २१ मतले पराजित भइन् । उनलाई एमालेका भवानीप्रसाद खापुङले २१ हजार ३ सय ३५ मत ल्याएर पराजित गरे ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यमा झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा २ हजार ८ सय ६३ मतले पराजित भए । उनलाई माओवादी केन्द्रका सुरेन्द्र कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर पराजित गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा सुनसरी १ मा संघीय समाजवादी फोरम, नेपालका अशोककुमार राई २२ हजार ४ सय ५ मतान्तरले पराजित भए । एमालेका जयकुमार राई ४४ हजार ५ सय २८ मत ल्याएर उनलाई पराजित गरे ।

यस्तै, प्रतिनिधिसभा सदस्यमा झापा ४ मा कांग्रेसका देउकुमार थेवे १५ हजार ६ सय ९३ मतान्तरले पराजित भए । उनलाई एमालेका लालप्रसाद साँवाले ४३ हजार ५ सय १५ मत ल्याएर पराजित गरेका हुन् । खोटाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सरस्वती बजिमय १४ हजार ३ सय ७२ मतान्तरले पराजित भइन् । उनलाई पराजित गर्ने एमालेका विशाल भट्टराईले ३७ हजार ८ सय ३७ मत ल्याए ।

प्रदेश १ मा सबभन्दा बढी मत ल्याएर पराजित हुनेमा मोरङ ३ मा कांग्रेसका सुनीलकुमार शर्मा हुन् । ४० हजार ५ सय ६ मत ल्याए पनि उनी पराजित भए । उनलाई पराजित गर्ने एमालेका भानुभक्त ढकालले ४२ हजार ४ सय १३ मत पाए ।

प्रदेशसभा सदस्यमा संखुवासभा १ (ख) मा कांग्रेसका दीपककुमार लिम्बू ४ सय ४६ मतान्तरले पराजित भए । उनलाई पराजित गर्ने एमालेका तुलसीप्रसाद न्यौपानेले १३ हजार ५ सय ७२ मत ल्याए । मोरङ ३ (क) मा माओवादी केन्द्रका गीता तिम्सिना ९ सय मतान्तरले पराजित भइन् । उनलाई पराजित गर्ने कांग्रेसका सूयर्माराज राईले २० हजार २ सय ९९ मत ल्याए ।

मोरङ ५ (ख) मा कांग्रेसका राजेश गुप्ता १ हजार २ सय ८३ मतान्तरले पराजित भए । उनलाई पराजित गर्ने संघीय समाजवादी फोरमका जयराम यादवले ११ हजार २ सय १ मत ल्याए । मोरङ २ (क) मा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती १ हजार ३ सय ११ मतान्तरले पराजित भए । उनलाई पराजित गर्ने कांग्रेसका शिवनारायण गनगाईंले १६ हजार ४ सय १८ मत ल्याए ।

प्रदेशसभा सदस्यमा सबभन्दा बढी मतान्तरले झापा ५ (ख) मा कांग्रेसका राजनबहादुर ढुंगाना पराजित भएको छ । उनी १९ हजार ९ सय ८० मतान्तरले पराजित भए । उनलाई पराजित गर्ने एमालेका अर्जुन राईले ३० हजार ९ सय ७३ मत ल्याए । भोजपुरको १ (ख) मा कांग्रेसका गोविन्दबहादुर कार्की १३ हजार २ सय २९ मतान्तरले पराजित भए । उनलाई पराजित गर्ने एमालेका शेरधन राईले २० हजार ३ सय ३४ मत ल्याए ।

धनकुटा १ (ख) मा संघीय समाजवादी फोरमका अर्जुन थापा १२ हजार ४ सय २१ मतले पराजित भए । उनलाई पराजित गर्ने एमालेका इन्द्रमणि पराजुलीले २० हजार ६ सय ५२ मत ल्याए । प्रदेश १ मा प्रदेशसभा सदस्यमा पराजित हुनेमा सबभन्दा बढी मत ल्याएर मोरङको क्षेत्र ६ (क) मा जीवन आचार्य २१ हजार ४ सय ७० मत ल्याएर पनि पराजित रहे । उनलाई कांग्रेसका चुमनारायण तबदारले २३ हजार ५ सय १३ मत ल्याएर पराजित गरे ।

प्रदेश १ मा  रहेको प्रतिनिधिसभाका २८ मध्ये २७ सिटको र प्रदेशसभा सदस्यको ५६ मध्ये ५५ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को प्रतिनिधिसभा सदस्यतर्फ एमाले १६, माओवादी केन्द्र ६, कांग्रेस ४ र राप्रपा १ सिटमा विजय भएका छन् । यस्तै, प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ मध्ये एमाले ३६, माओवादी केन्द्र १०, कांग्रेस ७, संघीय समाजवादी फोरम र स्वतन्त्रले १/१ सिट जितेका छन् ।

प्रतिनिधिसभातर्फ सुनसरी ३ र प्रदेशसभातर्फ सुनसरीको ३ (ख) को अन्तिम परिणाम आउन बाँकी छ । प्रतिनिधिसभा सदस्यमा एमालेका भगवती चौधरी २९ हजार ३ सय २६ मत ल्याएर अग्रस्थानमा छिन् भने कांग्रेसका विजयकुमार गच्छदारले २९ हजार १ सय ७१ म्त ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित : मंसिर २५, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?