रोहितको कीर्तिमान

एएफपी

मोहाली — भारतीय कप्तान रोहित शर्मा बुधबार वान डे क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान भएका छन् । उनको त्यस प्रदर्शन मदतमा भारतले श्रीलंकालाई दोस्रो वान डेमा सजिलै १ सय ४१ रनले हरायो ।

रोहितको कीर्तिमान

रोहितले सुदृढ २ सय ८ रन जोडेपछि भारतले पहिले ब्याटिङ गर्दै ४ विकेटमा ३ सय ९२ रन बनायो । जवाफमा श्रीलंकाले ८ विकेटमा २ सय ५१ रनमात्र बनाउन सक्यो र एकपक्षीय हार आत्मसात गर्‍यो । 
योसँगै तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ । रोहितको ऐतिहासिक प्रदर्शनमा १२ छक्का र १३ चौका सामेल थियो । उनले त्यसका लागि १ सय ५३ बल सामना गरे । श्रीलंकाले टस जितेर पानी पर्न सक्ने सम्भावनाबीच भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसयता रोहितले भारतीय आक्रमणको जिम्मेवारी उठाए । उनी ५० औं ओभरमा आफ्नो दोहोरो शतकसम्म पुगेका थिए । उनी विपक्षी कप्तान थिसरा परेराको बलमा बोल्ड भए ।
उनले आफ्नो पहिलो सय रन १ सय १५ बलमा पूरा गरे । उनले दोस्रो सय रनका लागि भने ३८ बलमात्र उपयोग गरे । दायाँहाते ब्याट्सम्यान रोहितले यसअघि सन् २०१३ मा अस्ट्ेरलियाविरुद्ध बेंग्लोरमा २ सय ९ रन बनाएका थिए । त्यसको एक वर्षपछि रोहितले कोलकातामा श्रीलंकाविरुद्ध २ सय ६४ रन जोडेका थिए । वान डे क्रिकेटमा दोहोरो शतक बनाउने अरु ब्याट्सम्यानमा न्युजिल्यान्डका मार्टिन गुप्टिल, भारतका वीरेन्द्र सहवाग, वेस्ट इन्डिजका क्रिस गेल र भारतका सचिन तेन्दुलकर छन् ।
रोहितले प्रारम्भिक जोडी शिखर धवनसँग मिलेर सकारात्मक सुरुआत दिलाए । शिखरले ६८ रन बनाए । पहिलो वान डेमा १ सय १२ रनमा अलआउट भएको भारतले दोस्रो खेलमा भने रनवर्षा गरेको हो । रोहितले दोस्रो विकेटका लागि श्रेयस सन्तोस अयरसँग मिलेर २ सय १३ रनको साझेदारी गरे । श्रेयसले ८८ रन बनाए । शिखरले भने ९ चौका प्रहार गरे । त्यसका लागि उनले ६७ बल सामना गरे । उनी सचिथ पाथिरनाको बलमा मिडविकेटमा समातिए ।

खेल जितेपछि पत्नी रितिकाका साथ रोहित । तस्बिर : एपी

भारतको इनिङ्समा एक छेउ रोहितले आक्रमण प्रदर्शन गरे भने अर्को छेउबाट श्रेयसले उनलाई संयमतापूर्वक साथ दिए । ठूलो स्कोर पछयाइरहेको श्रीलंका सुरुदेखि नै दबाबमा थियो र कुनै पनि समय त्यो लक्ष्यसम्म पुग्ने सक्ने छाँट देखाउन सकेन । श्रीलंकाले ३० रनको अन्तरमा आफ्ना दुवै प्रारम्भिक ब्याट्सम्यान गुमाइसकेको थियो । उसका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक १ सय ११ रन बनाएर नटआउट रहे । भारतका लागि लेग स्पिनर युजभेन्द्र चाहलले तीन विकेट लिए । अब तेस्रो तथा निर्णायक खेल आइतबार विशाखापट्नममा हुनेछ ।

 

प्रकाशित : मंसिर २८, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?