प्रदेश ३ को राजधानी भक्तपुरमा राखिए पूर्वाधारका लागि लगानीसमेत गर्नु नपर्ने दाबी

लीला श्रेष्ठ

भक्तपुर — विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई गएपछि सानोठिमीका अधिकांश कार्यालय अब प्रयोगविहीन हुँदै छन् । करिब ६ सय ४६ रोपनी क्षेत्रफलमा रहेको शिक्षाका केन्द्रीय कार्यालयहरूलाई तीन नम्बर प्रदेशका रूपमा प्रयोग गर्न सकिने स्थानीय राजनीतिक दलले सुझाव दिएका छन् ।

प्रदेश ३ को राजधानी भक्तपुरमा राखिए पूर्वाधारका लागि लगानीसमेत गर्नु नपर्ने दाबी

राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रबाहेक अन्य कार्यालयको काम संविधानले नै स्थानीय सरकारलाई दिइसकेको छ । त्यसैले यो ठाउँका संरचना र खाली चौरमा प्रदेशका सबै मन्त्रालय राख्न पर्याप्त जग्गा हुनेछ । 
सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, सीटीईभीटी, विश्वविद्यालय अनुदान आयोग, जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी क्याम्पसलाई अन्यत्र सारेर प्रदेशको केन्द्र बनाउन सकिने शिक्षाका सहसचिवको समेत सुझाव छ । ‘सर्वसाधारणको प्रत्यक्ष सरोकार राख्ने काम अब स्थानीय तहमा हुने भएपछि यी कार्यालयलाई अन्यत्र सार्न सकिन्छ,’ शिक्षाका एक सहसचिवले भने, ‘तीन नम्बर प्रदेशको केन्द्र सानोठिमी उपयुक्त विकल्प हुन सक्छ ।’ सानोठिमी क्याम्पसको मात्रै करिब १ सय ६० रोपनी जग्गा छ । त्यस्तै, जनक शिक्षाका नाममा पनि पर्याप्त जग्गा छ । ४० रोपनीभन्दा बढीको सानोठिमी खेलमैदानलाई स्टेडियमसहितको व्यवस्था गरेर ३ नम्बर प्रदेशको रंगशालासमेत बनाउने स्थानीय बताउँछन् । 
यो खेलमैदानसँगै नागरिक उड्डयन प्राधिकरणका नाममा मात्रै २ सय रोपनीभन्दा बढी जग्गा प्रयोगविहीन छ । ‘पर्याप्त जग्गा भएको र प्रदेशको कार्यालय स्थापना गर्न पूर्वाधारसमेत बनाउन लगानी गर्न नपर्ने भएकाले सानोठिमी नै उपयुक्त स्थान हो,’ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भने, ‘प्रदेश राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्छ । यसका लागि भक्तपुर नै उपयुक्त विकल्प हो ।’ पूर्वाधार बनाउन राज्यले थप लगानीसमेत कम गर्दा हुने भएकाले सानोठिमी उपयुक्त रहेको उनले बताए । 
सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयले समेत सानोठिमीलाई तीन नम्बर प्रदेशको केन्द्र हुन सक्ने सम्भावित क्षेत्रका रूपमा राखेको छ । एकै स्थानमा सबै मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, निवाससमेत बनाउन जग्गा पुग्ने भएकाले सानोठिमी उपयुक्त हुने कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा बताउँछन् । सानोठिमी क्षेत्रमा मन्त्रालय र अन्य कार्यालय बनाएर बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गर्न सकिने थापाको तर्क छ । भक्तपुरका नापी अधिकृत शिवबहादुर चन्दका अनुसार बोडेको उक्त भवन परिसर करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सानोठिमीको जग्गा अपुग भए गट्ठाघरको डोल क्षेत्र अधिग्रहण गर्नसमेत सकिने मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । 
सरकारले निर्वाचन सकिएलगत्तै प्रदेश राजधानी बनाउने उपयुक्त ठाउँ खोजी गरिरहेको छ । सरकारले ३ नम्बर प्रदेशका १३ जिल्लालाई पायक पर्ने ठाउँ खोजी गरिरहेको छ । काभ्रेका राजनीतिक दलले धुलिखेल, धादिङका नेताले धादिङ, चितवनकाले चितवनमै राजधानी राख्न ‘लबिङ’ गरेका छन् । भक्तपुरका दलले भने भक्तपुरलाई केन्द्र बनाउनुपर्ने माग राखेका हुन् । सबै जिल्लालाई अपायक पर्ने उपत्यकाभित्रै विकल्प खोजिएको सहरी विकास मन्त्रालयका एक सहसचिवले जानकारी दिए । ‘उपयुक्त जग्गा खोजी भइरहेको छ । सहरी विकास मन्त्रालयले पनि अध्ययन गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भने ।
भक्तपुर कांग्रेसले प्रदेश नम्बर ३ को केन्द्र भक्तपुरलाई बनाउन माग गर्दै बुधबार विज्ञप्ति नै निकालेको छ । ‘आम जनतालाई सुविधा पुग्न सक्ने र पर्याप्त खाली मैदान एवं भौतिक संरचना भएकाले भक्तपुरमा केन्द्र बनाउन माग गर्छौं,’ कांग्रेस भक्तपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सांसद बस्नेतले भक्तपुर ३ नं. प्रदेश राजधानी बनाउन पहल थालेको बताए । यसबारे कांग्रेस र नेपाल मजदुर किसान पार्टीसँग पनि छलफल गरेको उनी बताउँछन् ।

 

काभ्रेका लागि लबिङ
काभ्रे (कास)– प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदले काभ्रेलाई प्रदेश राजधानी बनाई छाड्ने अठोट गरेका छन् । सरकारले ललितपुरलाई प्रदेश ३ को अस्थायी राजधानी बनाउने तयारी गरेपछि यहाँका सांसदले काभ्रेका लागि लबिङ थालेका हुन् ।
एमाले केन्द्रीय स्कुल विभाग सदस्यसमेत रहेका प्रतिनिधिसभा क्षेत्र २ का सांसद गोकुल बाँस्कोटाले काभ्रेलाई राजधानी बनाउन आफू र सिंगो पार्टी लाग्ने बताए । ‘प्रदेश राजधानी काभ्रे वाम गठबन्धनको मात्र नभई कांग्रेसको पनि एजेन्डा हो,’ उनले भने, ‘यसका लागि पार्टी, केन्द्रीय सरकार र प्रदेशसभामा पनि एमालेले गम्भीर रूपमा आवाज उठाउँछ ।’ 
सरकारले अस्थायी राजधानी ललितपुर तोक्ने तयारी गरे पनि त्यो अनुपयुक्त भएको दाबी गर्दै उनले दूरी र पूर्वाधारका हिसाबले यही उपयुक्त भएको तर्क गरे । ‘पूर्वका जिल्लाको त काभ्रे नाका नै हो । मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवालाई पनि पायक पर्छ,’ उनले भने, ‘प्रदेशसभाको दुई तिहाइले प्रदेश राजधानी तोक्ने भएकाले त्यसका लागि हामी लाग्छौं ।’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला सहइन्चार्जसमेत रहेका प्रतिनिधिसभा क्षेत्र १ का सांसद गंगाबहादुर तामाङले काभ्रे राजधानी बनाउनका लागि भौगोलिक दूरी, मनोवैज्ञानिक र संरचनाका हिसाबले पनि उपयुक्त भएको दाबी गरे । 
क्षेत्र १ को प्रदेशसभा ‘क’ का सांसद रत्न ढकालले काभ्रेलाई राजधानी बनाउन जुट्ने बताए । प्रदेशसभा ‘ख’ का चन्द्रबहादुर लामाले प्रदेश राजधानी आफ्नो चुनावी एजेन्डासमेत रहेकाले निर्वाचित भएपछि त्यसका लागि पहल गर्ने बताए । क्षेत्र २ को प्रदेशसभा ‘क’ का उम्मेदवार लक्ष्मण लम्सालले प्रदेश भित्रका सांसदहरूसँग छलफल थाल्ने बताए । ‘मेरो पहिलो प्राथमिकताको काम नै प्रदेशको राजधानी काभ्रे बनाउने हो,’ उनले भने, ‘अरू जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरूसँग पनि छलफल गरेर लबिङ थाल्छौं ।’ प्रदेशसभा २ ‘ख’ का सांसद बसुन्धरा हुमागाईले सरकारलाई राजधानी तोक्ने अधिकार नभएको भन्दै प्रदेशसभामा छलफल गरी काभ्रेलाई प्रदेश राजधानी बनाउने बताए । 


कांग्रेस पनि प्रतिबद्ध
काभ्रे कांग्रेसले पनि प्रदेश राजधानी बनाउने पार्टीको निर्णय कार्यान्वयन गर्न पहल थाल्ने जनाएको छ । प्रतिनिधिसभा क्षेत्र २ मा पराजित भएका जिल्ला सभापति मधुप्रसाद आचार्यले काभ्रेलाई प्रदेशको राजधानी बनाउन आफ्नो विशेष अभियान नै रहेको बताए । ‘प्रदेश राजधानी बनाउने कुरा हामीले चुनावी नारा मात्रै बनाएका हैनांै, त्यसको पहलकदमी नै गरेका हौं,’ आचार्यले भने, ‘पार्टीको १३ औं महाधिवेशन पछिको पहिलो बैठकले औपचारिक निर्णय नै गरिसकेकाले त्यसका लागि आफ्नो ठाउँबाट 
पहल गर्छौं ।’
अन्य क्रियाशील दलले पनि एउटै मुद्दा बनाएका छन् । यस्तै, काभ्रे उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, काभ्रे सेवा समाज, गैरसरकारी संस्था महासंघ नेपाल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल लगायतका सामाजिक संघ–संस्थाले पनि काभ्रेलाई प्रदेश राजधानी बनाउन लबिङ गर्दै आएका छन् ।

प्रकाशित : मंसिर २८, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?