अब के हुन्छ ईपीजी टोली ?

सांसदको हैसियतमा नेपाली टोलीका सदस्य रहेका भट्टराई पराजित भएपछि अन्योल
चन्द्रशेखर अधिकारी

काठमाडौं — नेपाल र भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकन निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुन:संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएको छ । छैटौं बैठक सरेर आफैं अन्योलमा परेको ईपीजी टोलीको नेपालतर्फका सदस्यको हैसियतबारे बहस सुरु भएको छ ।

अब के हुन्छ ईपीजी टोली ?

सांसदको हैसियतमा ईपीजी सदस्य रहेका राजन भट्टराई काठमाडौं ४ को निर्वाचनमा पराजित भएपछि उनको सदस्यताको निरन्तरता रहने भन्ने अन्योलबारे परराष्ट्र अधिकारीले छलफल अघि बढाएका हुन् । 

ईपीजीमा दुवै मुलुकका तर्फबाट ४/४ जना सदस्य छन् ३ भिन्न क्षेत्रका विज्ञ र एक जना सांसद । २०७१ साउनमा नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूबीच ईपीजीमा यस्तो सहभागितामा सहमति भएपछि प्रक्रिया अघि बढेको थियो । भट्टराई सांसदको कोटाबाट ईपीजी सदस्य बनेका थिए । टोलीलाई संसद्मा समेत जिम्मेवार बनाउने तवरले गठन आदेश सहमति भएको थियो । 

उनी त्यतिबेला समानुपातिकबाट सांसद थिए । अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासँग उनी पराजित भए । भारतले पहिलेदेखि नै तराईको उपस्थिति नभएको गुनासो गर्दै आएको अवस्थामा अहिले त्यो प्रावधान परिवर्तन गर्न सहमत हुने देखिँदैन । त्यसैले यो अन्योल झन् बढ्न सक्ने अधिकारीहरूले बताए । 

केही समयका लागि सारेको भनिए पनि यो बैठक कहिले हुने पनि टुंगो लागेको छैन । 

नेपाल–भारत दुवै पक्षको सहमतिमा बैठक केही समय सरेको भनिए पनि यहाँको निर्वाचन र भारतीय एक सदस्यको स्वास्थ्य अवस्थाले बैठक अनिश्चित बनेको थियो । नेपालले भट्टराईको सट्टा अर्का सांसद ईपीजीमा पठाउने वा अहिलेका मध्ये कसैलाई कुनै तवरमा सांसद बनाए मात्र सहमति र सम्झौताअनुसार यो समिति अघि बढ्ने अधिकारीले जनाए । 

यस विषयमा परराष्ट्र मन्त्रालयमा छलफल भए पनि कार्यादेश वा सदस्य परिवर्तन गर्ने भन्ने बहस चलिरहेको छ । पाँचौं बैठकसम्म भएका दुईपक्षीय सहकार्यलाई अन्तिम रूप दिने भन्दै दिल्लीमा गत कात्तिक २५ र २६ मा बैठक तय भएको थियो । तर, अन्तिम समयमा रद्द गरिएको बैठकको अर्को मिति टुंगो लागेको छैन ।

यसअघि दुईपक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेका विषय केलाउने काम दुवै पक्षबाट आन्तरिक रूपमा भए पनि बाहिर देखिने गरी काम हुन सकेको छैन । समूहको म्याद आगामी असारमा सकिने हुनाले त्यसअघि नै तीन बैठक बस्नुपर्ने हुन्छ । अधिकारीका अनुसार समितिको निश्चित समयसीमा, कार्यादेश र बजेट रहेकाले यसमा समय थप्न मिल्दैन । 

दिल्लीमा तय भएको छैटौं बैठक नेपालको निरन्तरको निर्वाचन र भारतीय टोलीका सदस्य जयन्त प्रसाद बिरामी परेका कारण औंल्याउँदै स्थगन गरिएको थियो । पाँचौं बैठकमा पनि उनी सहभागी थिएनन् । नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापा अहिले तीन साताका लागि अमेरिका रहे पनि लगातार सम्पर्कमा रहेको ईपीजी सचिवालयले जनाएको छ । 

‘कार्यादेश, सदस्य सरकारले गर्ने विषय हो । सचिवालयले यसअघि भएको बैठकको सम्झौतालाई अघि बढाइरहेको छ । आपसी सम्पर्क र छलफल नियमित भइरहेको छ,’ ईपीजी नेपालतर्फका सचिवालय सचिव यादव खनालले भने, ‘छिट्टै अर्को बैठकको मिति तय हुन्छ । सदस्यको विषय सरकारको हो । हामी दिएको कार्यादेशमा काम गरिरहन्छौं ।’ परराष्ट्रका उच्च अधिकारीहरूले औपचारिक रूपमा यो विषयमा बोल्न चाहेनन् । 

सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा भएका राय र चासोमा पनि काम भइरहेको, सीमाको विषय, डुबानको विषय, व्यापार सम्झौतालगायतमा छलफल चलिरहेको छ । समूहमा नेपालका तर्फबाट थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र भट्टराई सदस्य छन् । भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारी (सांसद) को संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् । 

प्रकाशित : मंसिर २९, २०७४ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?