कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कार्यालय सहयोगीले चलाउछन् सिमा प्रशासन

शाहीमान राई

च्याङ्थापू (पाँचथर) — भारतीय सिमावर्ती क्षेत्रको निगरानी एवं दैनिक प्रशासनिक कार्य संचालन गर्नका निम्ति पाँचथरको सुदुर उतर च्याङथापूमा स्थापित सिमा प्रशासन कार्यालय वर्षौदेखि कर्मचारीविहीन छ । दरबन्दीका कर्मचारी नभएपछि कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका छन् ।

कार्यालय सहयोगीले चलाउछन् सिमा प्रशासन

सदरमुकाम फिदिमदेखि ७० किलोमिटर सुदुर उतर भारतको सिक्किम र दार्जिलिङसित सिमा जोडिएको याङवरक गाउँपालिका–१ च्याङथापूमा स्थापित सिमा प्रशासन कार्यालय सरकारले २०३२ सालदेखि संचालनमा ल्याएको हो । तर दशवर्षे द्वन्द्वको बेला कर्मचारी विस्थापित भएदेखि फर्केर आएका छैनन् ।

एकजना शाखा अधिकृत, नायव सुब्बा दुई जना, खरिदार दुई जना र दुई जना कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको सिमा प्रशासन कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र छन् ।

च्याङथापू बजारको बीचैमा रहेको सिमा प्रशासन कार्यालय परिसरमा राष्ट्रिय झण्डा फहराए पनि कर्मचारी कोही भेटिदैनन् । कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले बिहान झण्डा फहराउने, बेलुकी झिक्ने, कार्यालय खोल्ने र बन्द गर्ने कार्य गर्दै आएका छन् । इलाका हुलाक कार्यालय समेत सँगै रहेको सिमा प्रशासन कार्यालयको घरभाडा र सहायक कर्मचारी तलब भने जिल्ला प्रशासन कार्यालयले भुक्तानी दिदै आएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका –४ छातेढुङ्गाका लक्ष्मीप्रसाद खवास १३ वर्षदेखि करारमा कार्यरत कार्यालय सहयोगी कर्मचारी हुन् । सिमा प्रशासन कार्यालय उनैको भरमा छ । गृहमन्त्रालय अन्तर्गतको सिमा प्रशासन कार्यालय सर्वसाधारणसित प्रत्यक्ष सरोकार राख्ने कार्यालय हो । तर आफ्नै आँगनमा भएको सरकारी कार्यालयबाट सेवा सुविधा पाउन नसक्दा च्याङथापू, फलैंचा र फालोटबासी दु:खी छन् ।

सिमा प्रशासन कार्यालयवाट सेवा सूचारु गर्न स्थानीय जनप्रतिनिधि राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीले पटक पटक पहल गर्दा समेत सरकारले चासो नदिएको याङवरक गाउापालिका वडा नं १ च्याङथापूस्थित नेकपा एमाले वडा पार्टी अध्यक्ष महेस खरेलले बताए । द्वन्द्वको बहानामा २०५८ सालदेखि कर्मचारीविहीन बनेको सिमा प्रशासन कार्यालयवाट शान्ति प्रक्रियापछि पनि केही महिना नागरिकता वितरण भएको थियो ।

दरबन्दीका कर्मचारी अन्यत्र काज मिलाएर बस्ने र सरुवा भएर आउने कर्मचारी च्याङथापू नआइ फर्किने गरेका छन् ।

विगतमा च्याङथापू सिमा प्रशासनवाट नागरिकता प्रमाण–पत्र वितरण, आयातनिर्यात, निकासी पैठारी हुने सामाग्रीको जाँच गर्ने, भारतको राज्य सिक्किम र दार्जिलिङतर्फ जाने यात्रु, स्वदेशी तथा विदेशी पर्यटकलाई प्रवेशाज्ञा (पास) दिने गरिन्थ्यो । भारतबाट आउने यात्रु तथा मालसामान जाँच, सोधपुछ र राजश्व अशुली कार्य हुने गथ्र्यो । जनतासित प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा कर्मचारी नपठाइदिएको सरकारी सेवा पाउनबाट बञ्चित भएको स्थानीय भरत राईले बताए ।

सदरमुकामदेखि जिल्ला न्यायधीश, प्रमूख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमूखहरु च्याङथापू भ्रमणमा आउदा सिमा प्रशासन कार्यालय संचालनमा ल्याउन स्थानीयबासीले अनुरोध गरेपनि उपल्लो निकायबाट कर्मचारी नपठाएकाले तत्काल सिमा प्रशासन संचालन हुने अवस्थामा नरहेको प्रमूख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताइन् ।

प्रकाशित : पुस २, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?