२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चिसोले मनाङका सबै विद्यालय बन्द

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द भएका छन् । अत्याधिक चिसो बढेसँगै मंसिर तेस्रो साता परीक्षा संचालन गरी विद्यालय बन्द भएका हुन् ।

चिसोले मनाङका सबै विद्यालय बन्द

विद्यालय बन्द भएसँगै शिक्षक, विद्यार्थी तथा शिक्षा कार्यालयका कर्मचारी बेंसी झरिसकेका छन् । केही झर्ने क्रममा छन् । मनाङको नेस्याङ गाउँपालिका र नारफू गाउँपालिकाका स्कुलले मंसिर २० सम्म परीक्षा संचालन गरी २१ गते परीक्षाफल प्रकाशित गरेर २२ गतेदेखि विद्यालय बन्द गरेका थिए ।

चामे र तल्लो मनाङको नासोङ गाउँपालिकाका स्कुलले २२ गतेसम्म परीक्षा सक्काएर मंसिर अन्तिम सातासम्म परीक्षाफल प्रकाशित गरी विद्यालय बन्द गराएका छन् । नेस्याङ र नारफू गाउँपालिकाका स्कुल चैत १ गतेदेखि खुल्ने साथै चामे र नासोङ गाउँपालिकाका स्कुल फागुन १ गतेदेखि खुल्ने गरी बन्द भएका शिक्षक तथा स्रोत व्यक्तिहरुले बताएका छन् ।

माथिल्लो मनाङस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले भने, ‘जाडोले पढ्न र पढाउन सकिंदैन् । चैत १ गतेबाट विद्यालय खुल्ने गरी अभिभावकको सहमतिमा विद्यालयमा पठनपाठन बन्द गराएका छौं ।’

उनका अनुसार माथिल्लो क्षेत्रका लागि ३ महिना विद्यालय बन्द हुन्छ । ‘हामीले शनिबारबाहेक अन्य विदा र शुक्रबारका दिन पुरै पठाउने हिसाबले माथिल्लो क्षेत्रका सबै विद्यालयले शैक्षिक क्यालेन्डर निर्माण गरेका छौं । चिसोले यो बेला पढाउन नसकिएपनि पाठ्यक्रम टुंग्याउने हिसाबले ब्यवस्थापन गरेका छौं,’ उनले भने ।

माथिल्लो मनाङस्थित शिक्षा कार्यालयका स्रोतब्यक्ति कृष्णदास कोइरालाले वार्षीक परीक्षा सक्काएर सवै शिक्षकविद्यार्थी बेंसी झरिसकेको बताए । उनका अनुसार कक्षा ८ को जिल्लास्तरीय परीक्षाफल प्रकाशित हुन बाँकी छ । लेटर ग्रेडिङ सिष्टमका कारण जिल्लास्तरी परीक्षाफल प्रकाशित हुन सकेको छैन् । ‘खास विद्यालय बन्द हुने पुस १० गतेदेखि हो । चिसो अत्याधिक बढ्यो । रिजल्ड गरेर खबर गर्नु भनेर विद्यार्थी लिएर अभिभावक हिँड्न थालेपछि बाध्यताले छिटोछिटो रिजल्ट आउट गरिएको हो,’ उनले भने ।

उनले माथिल्लो क्षेत्रमा चैत १ गतेबाट पठनपाठन सूचारु हुने बताए ।

प्रकाशित : पुस २, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?