पश्चिम तराईमा शितलहर, जनजीवन कष्टपूर्ण बन्दै

ठाकुरसिंह थारू

नेपालगन्ज — पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन् ।

पश्चिम तराईमा शितलहर, जनजीवन कष्टपूर्ण बन्दै

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन् ।

नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रीता महतोले नेपालगन्जको तापक्रम ६ दशमलव ८ मा झरेको बताइन् । आइतबार दिउँसो यहाँको तापक्रम १९ दशमलव ५ सेल्सियसमा झरेको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेको छ । ‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो बढी महसुस भएको हो । दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यति बेला तापक्रम बढ्छ,’ महतोले भनिन् ।

हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ । तर शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहान उडान हुन नसकेको नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नेपालगन्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन् ।

शीतलहरका कारण बिहानको समयमा नेपालगन्जमा चहलपहल कम हुन थालेको छ । सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । दुई वर्षयता पश्चिम तराईमा मंसिरको अन्तिम सातादेखि शीतलहर चल्न थालेको छ । दुई वर्षअघि पुस–माघका समयमा शीतलहर सुरु हुने गरेको हावापानी फिल्ड कार्यालयको अभिलेख छ ।

पश्चिम तराईमा माघ अन्तिम सातासम्म शीतलहर चल्ने गरेका कारण स्थानीय प्रशासनले शीतलहरलाई दैवी प्रकोपको सूचीमा राखेको छ । चिसोबाट जोगिन बाक्लो कपडा लगाउन र शीतलहरका बेला घर बाहिर ननिस्कन प्रशासनले सुझाव दिएको छ ।

प्रकाशित : पुस २, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?