करोडौं ठगेर भारतीय व्यापारी फरार
लेखनाथ — चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।
फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।
उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए । ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएका थिए ।
सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द छ । सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टाँगिएको छ । आइतबार बिदा भनेर बन्द गरिएको पसल सोमबार बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् । पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेको छ । पान नम्बर सहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन । त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
ठगिनेमा धेरै सिर्जनाचोक, जाल्पारोड, मालेपाटन वरपरकै छन् । सिर्जनाचोककी सुष्मा थापाले बजारमा २२ हजार रुपैयाँ पर्ने दराज १२ हजारमा पाइने देखेपछि पैसा बुझाइन् । जाल्पारोडकी गंगा कार्कीले सुरुमा ४ हजार ५ सय रुपैयाँ तिरेर टेबुल, हटकेस, बाटा, कुकर लगायत सामान बुक गरिन् । १५ दिनपछि उनले ति सबै सामान पाइन् पनि । उनले फेरि ५ हजार रुपैयाँको सामान बुक गरिन् । यसपटक भने उनी ठगिइन् ।
ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् । त्यहीं कर्मचारी पृथ्वी भण्डारीले आफूसहित १२ कर्मचारी पनि ठगिएको बताए । उनले सामान बुक गर्न १७ हजार रुपैयाँ बुझाएका थिए । करिब १ हजारजनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । ‘सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’
मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘ठगिएको भनेर कसैको लिखित उजुरी आएन,’ उनले भने, ‘ग्राहक नै आएर आफूले सामान पाइरहेका छौं भनेपछि हामीले छोड्नैपर्यो ।’
उनका अनुसार ६० जना त्यस्ता ग्राहकको रोहबरमा व्यापारीलाई छोडिएको थियो । उनले लिखित उजुरी आए खोजतलास गर्ने बताए । ग्राहकले भने प्रहरीले छाड्नु नै गलत भएको बताएका छन् । पर्स्याङका डा.गोविन्द पाण्डेले प्रहरीले व्यापारीलाई छोडेपछि झन् धेरै ग्राहकले पैसा बुझाएको दाबी गरे ।
प्रकाशित : पुस ३, २०७४ १५:१९