१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेश १ को राजधानी कहाँ ?

विभिन्न स्थानमा दबाबमूलक प्रदर्शन

विराटनगर — प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने यकिन नहुँदा अन्योल बढेको छ । विराटनगर, इटहरी वा अरु कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न जिल्लामा राजधानी बनाइनुपर्ने मागसहित प्रदर्शन भइरहेको छ ।

धनकुटालाई प्रादेशिक राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । राजनीतिक दल, पेशाकर्मीलगायतले पूर्वाधारयुक्त भएको भन्दै धनकुटालाई राजधानी बनाइनुपर्ने माग राखेका छन् ।

सबैखाले पूर्वाधार भएको भन्दै प्रादेशिक राजधानी विराटनगरलाई नै बनाइनुपर्ने माग गरिएको छ । उद्योगी–व्यवसायी, राजनीतिक दल र अन्य संस्थाहरुले औद्योगिक एवं आधुनिक राजनीतिको अगुवा भएकाले पनि विराटनगर राजधानीका लागि उपयुक्त भएको बताएका छन् ।

यसैगरी धरानका बासिन्दाले पनि पूर्वाधार पहिल्यै तयार रहेकाले धरानलाई नै राजधानी बनाइनुपर्ने माग गरिरहेका छन् । उता, सुनसरीकै इटहरीमा राजधानी राख्नुपर्ने माग पनि उठिरहेको छ । राजधानी कहाँ रहने भन्ने तय हुन नसक्दा यही विषयलाई लिएर विभिन्न जिल्ला र स्थानका बासिन्दा आन्दोलनमार्फत् दबाब दिइरहेका छन् ।
प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलकै बीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरेको छ । मन्त्रालय र मन्त्रीहरुका लागि निवास, मुख्य सचिवको कार्यालय, सचिवालयहरुका लागि आवश्यक भवनका लागि सहरी विकास मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा सरकारी कार्यालयहरुका भवनको अवस्थाबारे अध्ययन भइसकेको छ ।

‘भौतिक पूर्वाधारको अवस्थाबारे अध्ययन भइसकेको छ’ मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने, ‘माथिबाट केही निर्देशन नआए पनि हामी तयारी अवस्थामा छौं ।’ मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चलविश्व विद्यालयका भवनको समेत प्राविधिक टोलीले अध्यायन गरेको थियो । मन्त्रालय, आवास, मुख्य सचिवसहित प्रदेशसभाका लागि आवश्यक भवन समेत एकै स्थानमा रहेकाले त्यसलाई पनि सम्भावित ठाउँका रुपमा हेरिएको थियो । तर विश्वविद्यालयले आउँदो बर्षदेखि चिकित्साशास्त्र अध्यापन सुरु गर्ने तयारी गरेकाले उक्त स्थानमा राजधानी बस्ने सम्भावना नदेखिएको एक सरकारी अधिकारीले बताए ।

विराटनगरका ११ वटा सरकारी कार्यालयको विवरण पठाइएको छ । केन्द्रबाट माग भएपछि विराटनगरमा रहेका कार्यालयको विवरण पठाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पठाएको हो । मुख्य मन्त्रीको कार्यालय र निवासका लागि क्षेत्रीय खाद्य प्रविधि तथा अनुसन्धान प्रयोगशाला, प्रदेश प्रमुखको सचिवालय र निवासका लागि क्षेत्रीय कृषि विकास कार्यालय, मुख्य सचिवको कार्यालय र निवासका लागि क्षेत्रीय सिचाई निर्देशनलयका भवनहरु प्रयाप्त रहेको विवरण पठाएको छ । यसैगरी इटहरी आसपासको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका भवन, क्षेत्रीय माटो अनुसन्धान केन्द्र झुम्का, जुट विकास केन्द्र लगायत भवनको विवरण संकलन गरिएको थियो ।

प्रकाशित : पुस ३, २०७४ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?