३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनमा नेपाली फोटो प्रदर्शनी

चेतनाथ आचार्य

बेइजिङ — चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दूमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दूको पर्यटकीय स्थल वाइड न्यारो एलेमा छ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटोहरु राखिएको छ ।

 चीनमा नेपाली फोटो प्रदर्शनी

छन्दू नेपालमा चिनियाँ पर्यटक भित्र्याउने महत्वपूर्ण हब मानिन्छ । यहाँबाट दैनिक एयर चाइना र सिचुवान एयरलाइन्सले काठमाडौँमा उडान गर्दै आएका छन् ।

दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने खुला सडकमा राखिएका फोटोले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न सघाउ पुर्‍याउने उद्देश्यले खुला स्थानमा प्रदर्शनीको आयोजना गरिएको हो ।

सो फोटो प्रदर्शनीको उद्धाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रदर्शनीले कोशेढुंगाको काम गर्ने बताए । नेपाली पर्यटन बजारमा चिनियाँ पर्यटकले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनले नेपाली पर्यटन प्रवद्र्धन गर्नका लागि सिचुवानको छन्दूले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे । यस प्रकारका कार्यक्रमले नेपालको पर्यटन प्रचारप्रसार सघाएको राजदूत पौड्यालले कान्तिपुरलाई बताए ।

छन्दूसँग गतवर्ष मात्र काठमाडौँ महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको छ । फोटो प्रदर्शनीमा भाग लिनका लागि नेपाल पर्यटन बोर्डका केही अधिकारीसहित नेपाली फोटोग्राफरहरु पनि छन्दू पुगेका छन् । 

फोटो प्रदर्शनीपछि नेपालसम्बन्धी फोटोको प्रतियोगिताको पनि आयोजना गरिने नेपाल पर्यटन बोर्डका शरद प्रधानले बताए । यसले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकास गर्ने उल्लेख गर्दै अझ धेरै चिनियाँलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरमले आकर्षण गर्नै उनले औँल्याए ।

सो प्रदर्शनी नेपाल पर्यटन बोर्ड तथा बेइजिङस्थित नेपाली दूताबासको संयोजनमा सिछुवान प्रान्त र छन्तु नगरपालिकासँग मिलेर चिनियाँ फोटोग्राफी क्लब र साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।

प्रकाशित : पुस ३, २०७४ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?