कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘नेता’ चुनेर काम खोज्न भारत'

भवानी भट्ट

कञ्चनपुर — अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यसपटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ।

‘नेता’ चुनेर काम खोज्न भारत'

‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कत्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनैलाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।’ १० वर्षीय स्कुले छोरासँगै छन् । १२/१३ वर्षकै उमेरदेखि भारत जान थालेका विकलाई चुनाव भन्नेबित्तिकै जितेका नेताहरूले केही काम गर्छन् कि भन्ने आस पनि लाग्छ । उनको मनमा गाउँमा सडक, स्कुल र स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माण हुँदा मजदुरी गर्न पाइन्छ कि भन्ने आस पनि छ । 

नेताहरूले पनि हरेक निर्वाचनमा रोजगारीको अवसर खोजिने आश्वासन दिँदै आएका छन् । तर, अवस्था भने अझै उस्तै रहेको विकले बताए । ‘गाउँमा भोट माग्न जाँदा अब भारत गइरहनु पर्दैन भन्छन्,’ उनले भने, ‘चुनाव जितेपछि नेताहरू काठमाडौं लाग्छन्, हामी काम खोज्दै भारत पस्छौं ।’ 

उनी दिल्लीमा चौकिदारीसँगै गाडी धुने काम गर्छन् । चौकिदारीबाट मासिक ५/६ हजार कमाइ हुन्छ । गाडी धोएको पारिश्रमिक मासिक २/३ हजार पाइन्छ । यसपटकको चुनाव फरक खालको भएकाले कतिपय कामदारलाई भने अब केही हुन्छ कि भन्ने आस पनि छ । ‘यस्तै अवस्था कहिलेसम्म रहला र ?,’ शनिबार भारत पसेका जाजरकोटका रति विकले भने, ‘भोट माग्दा नेताहरूले पनि रोजगारी दिन्छौं भनेका छन् ।’ 

हरेक दिन साँझ र बिहानको समयमा सीमा क्षेत्रमा कामको खोजीमा भारत पस्नेको लर्काे देखिन्छ । चाडपर्व र खेतीको काम सकिएपछि बर्सेनि यसैगरी काम खोज्न जानेको संख्या ठूलो हुन्छ । 
‘हिउँदभरि काम गरेर गहुँ काट्न घर फर्किन्छौं,’ अछाम रामारोशनकै खडक विकले भने, ‘काम राम्रो पाइए दसैं सम्म उतै बस्न सक्छौं ।’

प्रकाशित : पुस ३, २०७४ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?