सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

भूषण यादव

वीरगन्ज — प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ ।

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

त्यसैले ठेक्का पाएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी ३० किलोमिटर खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना स्वयं रौनियारले शिलान्यास गरेका हुन् । 

साख गुमाउँदै गएको ‘क’ वर्गको निर्माण कम्पनी पप्पुले पर्सामा मात्र करिब आधा दर्जन ठेक्का पाएको छ । हालसम्म अधिकांश ठेक्काको निर्माण कार्य निर्धारित मितिभन्दा पछाडि परेको छ । जनता सडक, गर्दौल–पोखरिया सडक कालोपत्र गर्ने, तिलावे नदीमाथि पुल निर्माण, वीरगन्ज बसपार्क टर्मिनल निर्माण, ल्यान्डफिल साइट निर्माण, ड्राइपोर्ट–परवानीपुर ६ लेन सडक निर्माण लगायतका ठेक्का पप्पुले पाएर ओगटदै आएको छ । तीजस्तै हुलाकी राजमार्ग पनि अलपत्र पर्ने हो कि भन्ने स्थानीयवासीमा चिन्ता बढेको छ । 

एक अर्ब ३२ करोड ४७ लाख रुपैयाँ लागतमा उक्त सडक ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत १७ नोभेम्बरमा ठेक्का सम्झौता भएको उक्त खण्डको निर्माण कार्य १७ मे २०२० सम्ममा पूरा गर्ने सडक विभागले जनाएको छ । शिलान्यास कार्यक्रममा सांसद एवं ठेकेदार रौनियारले अब जिल्लामा धेरै योजना आउने दाबी गरे । ‘पहिले म ठेकेदार मात्र थिएँ, अब टेबुल ठटाउने ठाउँमा पुगेको छु,’ उनले भने, ‘निर्माण कार्यमा आउने विभिन्न वाधासँग अवगत पनि छु, अब विकास हुनेछ ।’ जिल्लावासीको जीवनस्तर उकास्ने कार्यमा लाग्ने उनले दाबी गरे । 

सँगै शिलान्यास गर्न पुगेका पर्सा १ का सांसद प्रदीप यादवले २८ वर्षदेखि कांग्रेस र एमालेले मधेसलाई खेलौनाका रूपमा मात्र लिएकाले विकास हुन नसकेको आरोप लगाए । भारतको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगन्ज–ठोरी खण्डअन्तर्गत सेढवासम्मको ३० किलोमिटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालि र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रूपमा पाएका छन् । मधेसको मेरुदण्डका रूपमा रहेको राणाकालीन हुलाकी राजमार्ग १५ मिटर चौडा, दुई लेन कालोपत्रे र सडकको दायाँबायाँ २ मिटरको ग्राभेलसमेत ओछ्याइने पप्पुका प्रमुख इन्जिनियर जसुअ अब्राहमले जनाए । निर्माण सामग्रीको उपलब्धता र सबै सरोकारवाला पक्षको समन्वय भए निर्धारित समयमै योजना सम्पन्न हुने उनले दाबी गरे । 

परियोजनाको प्राविधिक कन्सल्ट्यान्ट भारतीय कम्पनी नेसनल हाइवेज एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन लिमिटेड छ । ठेकेदार कम्पनीका अनुसार ठेक्का सम्झौता भई सोमबार शिलान्यास भए पनि सडक क्षेत्रमा पर्ने विद्युत् पोल अझै हटेको छैन । जग्गाको मुआब्जा पनि वितरण भएको छैन । ठूलो रकमको ठेक्का भए पनि सरकारले हालसम्म २ करोड रुपैयाँमात्र विनियोजन गरेको सञ्चालक रौनियारले गुनासो गरे । उनले भने, ‘बजेट विनियोजन ठेक्काको आवश्यकताबमोजिम भएको छैन ।’ 

सडक सञ्जालमार्फत मधेसको कृषि, धार्मिक पर्यटन र उद्योग/व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण थालिएको हुलाकी राजमार्गको निर्माण कार्य झन्डै चार वर्षदेखि अलपत्र छ । २०६३/६४ मा निर्माण सुरु भएको राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यो राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । झापाको भद्रपुरदेखि महाकालीको दोधारा–चाँदनीसम्म करिब एक हजार ५ किलोमिटर लम्बाइको उक्त राजमार्ग भारत सरकारको अनुदानमा निर्माण हुन लागेको थियो । भारतले आफँै बनाउने वचन दिए पनि सम्पन्न हुन नसकेको महत्त्वपूर्ण योजनामध्ये एक हो, हुलाकी राजमार्ग । 

आफ्नै ठेकेदार राखेर पनि लामो समय अलपत्र परेको हुलाकी राजमार्ग निर्माणका लागि अहिले भारतीय सरकारले आर्थिक सहयोग गर्ने र नेपालले निर्माण गर्ने सम्झौता भएको छ । तराई/मधेसका २० जिल्ला छुने राजमार्ग निर्माणपछि यस क्षेत्रका करिब ७५ प्रतिशत गाउँलाई सडक सञ्जालसँग जोड्ने प्राविधिकहरू बताउँछन् । राजमार्गको कुल लम्बाइमध्ये करिब ३० प्रतिशत सडक चालु अवस्थामा रहेकाले ७० प्रतिशत नयाँ सडक निर्माण गर्नुपर्ने छ । चालु अवस्थाका अधिकांश भाग धुलौटे र ग्राभेल छन् । झापाको चन्द्रगढी र कञ्चनपुरको बेलौरीसम्मको यो पुरानो मार्ग अहिलेसम्म स्तरीय बन्न सकेको छैन । तत्कालीन राजा महेन्द्रका पालामा पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि यसको स्तरोन्नति ओझेलमा परेको हो ।

प्रकाशित : पुस ४, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?