तापक्रम घट्दै

काठमाडौं — भारतको राजस्थान, पन्जाब तथा हरियाणाबाट पश्चिम नेपाल हुँदै आएको बाक्लो हुस्सु/कुहिरोले तराईको वायुमण्डल ढाकेसँगै केही दिनदेखि शीतलहर सुरु भएको छ ।

२४ घण्टाभन्दा बढी समयदेखि वायुमण्डल कुहिरोले ढाक्दा पूर्वी र मध्य तराईमा चिसो बढेर शीतलहर सुरु भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद वरुण पौडेलले तराईमा शीतलहर सुरु भएको बताए । ‘नेपालदेखि बंगलादेशसम्मको वायुमण्डल बाक्लो कुहिरोले ढाकेको छ,’ पौडेलले कान्तिपुरसित भने, ‘त्यसैको असरले तराईमा शीतलहर सुरु भएको हो ।’ बिहानदेखि बेलुकीसम्मै वायुमण्डल कुहिरोले ढाकेपछि सूर्यको किरण जमिनसम्म पुगेको छैन । पूर्वदेखि पश्चिम तराईसम्मै शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ । पौडेलले केही दिनमा बाक्लो कुहिरो हट्दै जाने बताए ।

काठमाडौंसहित देशका अधिकांश भागमा अधिकतम र न्यूनतम तापक्रममा पनि गिरावट आएको छ । काठमाडौंमा केही दिनयता तापक्रम दुई डिग्रीमा झरेको छ । पौडेलले काठमाडौंको तापक्रम अझैं घट्ने क्रममा रहेको बताए । ‘डिसेम्बर–जनवरीमा प्राय: काठमाडौंमा तापक्रम शून्यमा झर्ने गरेको छ,’ उनले भने, ‘तत्कालै पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले वायुमण्डलमा यस्तै कुहिरो र तुवाँलो रहने देखिन्छ ।’

प्रकाशित : पुस ४, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?