रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

ऐनले आधुनिक निर्माण सामग्री प्रयोग गर्न दिंदैन । – पुरातत्त्वविद्
पहिला पनि कंक्रिट प्रयोग गरिएको थियो । त्यतिबेला किन नबोलेको ? – इन्जिनियर रेग्मी
पुराना मात्रै भनेर हुँदैन । नयाँ जे बन्यो त्यही संस्कृति हो ।– मेयर शाक्य

काठमाडौं — काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा पर्खाल निर्माण धमाधम छ । रोडा, सिमेन्टजस्ता परम्परागत सामग्री पोखरी वरिपरि थुपारिएका छन् ।

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा पर्खाल निर्माण धमाधम छ । रोडा, सिमेन्टजस्ता परम्परागत सामग्री पोखरी वरिपरि थुपारिएका छन् । डोजरले खनिराखेका छन् । मिक्सरमा आधुनिक निर्माण सामग्री घोलिराखिएका छन् । काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट प्रयोग गरेर बनाएपछि पुरातत्त्व विभागले भत्काउन डेढ वर्षअघि आदेश दिएको थियो ।

पुरातात्त्विक महत्त्वको सम्पदामा कंक्रिट प्रयोग भएपछि यसको सर्वसाधारणले विरोध गरेपछि पुरातत्त्व विभागले मापदण्डअनुसार बताउन निर्देशन दिएको थियो । महानगरले आफूसँग पुरातात्त्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि एक वर्षअघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने भएको थियो । पोखरी र बाहिरी भागको निर्माण भने महानगरले गर्ने सहमति भएको थियो ।

‘बालगोपालेश्वर मात्रै सम्पदा मानियो । रानीपाखरीलाई सम्पदा मानिएन,’ पुरातत्त्वविद् सुदर्शनराज तिवारीले भने, ‘डेढ वर्षपहिला हामीले पूरै रानीपोखरीमा पुरातात्त्विक मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्छ भनेर आन्दोलन गरेका हौं । त्यही आन्दोलनले मापदण्डविपरीत बालगोपालेश्वरको पुनर्निर्माण रोकियो । अहिले फेरि रानीपोखरीमा कंक्रिट मिसाइयो ।’

२०७३ सालको भाइटीकामा सम्पन्न गर्ने गरी २०७२ माघ २ गते यसको पुनर्निर्माण सुरु भएको थियो । यसको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । २०७३ वैशाखदेखि महानगरले पुनर्निर्माण थालेको थियो । महानगरले २०३२ सालमा पुनर्निर्माण गर्दा यहाँ कंक्रिट प्रयोग गरेकाले त्यहीअनुसार आफूले पनि प्रयोग गरेको बताएको थियो । ‘पहिला नै यहाँ वाटर फाउन्डेसन बनाइएको थियो । त्यतिबेला किन केही नबोलेको ?’ रानीपोखरी पुनर्निर्माणको अगुवाइ गरिरहेका महानगरका इन्जिनियर उत्तरकुमार रेग्मी भन्छन्, ‘यतिबेला भनेर हुन्छ ?’

विगतको गल्तीबाट पाठ सिकेर अब राम्रो काम गर्न स्थानीयवासीले माग गर्दै आएका छन् । ‘हामी बलियो बनाउने नाममा सम्पदा मासिन दिंदैनौं,’ सम्पदा जोगाउन अभियान चलाइरहेका आलोकसिद्धि तुलाधर भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै बन्नुपर्छ । मापदण्डविपरीत गए हामी फेरि आन्दोलनमा उत्रिन्छौं ।’

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको छ । रानीपोखरीको छेउमा बस्नका लागि पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य छ । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्थासमेत गरिने महानगरले जनाएको छ । यसलाई साँझमा घुम्ने पार्कको रूपमा विकसित गरिने महानगरको योजना छ । गार्डेेन, घुम्न दुईवटा बाटा, कफी सपलगायत संरचना बन्नेछन् । पार्कमा आकर्षक लाइटको पनि व्यवस्था हुनेछ । पोखरीवरिपरिको क्षेत्रमा पनि विभिन्न रंगका लाइट राख्ने योजना छ । रंगीन फाहोरासमेत फालिनेछ । यहाँबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ ।

रानीपोखरीभित्रको संरचना र बाहिरी संरचना गरी दुई तहमा काम भइरहेको थियो । भित्री संरचना निर्माणमा महानगरले पुरातात्त्विक मापदण्डविपरीत काम गरेपछि उसलाई बाहिरी संरचनाको मात्रै कामको जिम्मेवारी दिइएको हो । बाहिरी संरचना निर्माण गर्दा पनि मापदण्ड मिचिएकाले यसलाई रोक्न सर्वसाधारणले माग गरेका हुन् । ‘यसको निर्माण मैले जित्नुभन्दा पहिला नै भएको हो । त्यतिबेलाको कामलाई निरन्तरता दिएको हो,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘के भएको सबै प्राविधक कुरा मलाई पनि थाहा छैन । मैले काम छिटो सुरु गर मात्रै भनेको हुँ । कसरी बनेको छ, त्यसबारे म बुझ्छु । तर हामीले पुराना कुरा मात्रै भनेर हुँदैन । जे बन्दै जान्छ, त्यही संस्कृति हुन्छ । बाउ–बाजेले जे गरेका थिए त्यही गर्छु भनेर हुँदैन । परिवर्तनलाई स्वीकार गर्नुपर्छ । नयाँ कुरालाई स्वीकार गर्नुपर्छ ।’

रानीपोखरीलाई शोकको प्रतीकको रूपमा पनि लिने गरिन्छ । यसलाई नेवारी भाषामा न्हुहु पुखु भनेर चिनिन्थ्यो पहिला । नेवारी भाषामा न्हुहु पुखु भनेको नयाँपोखरी हो । यसले बिस्तारै रानीपोखरीको रूपमा चर्चा पाउन थालेको हो । प्रताप मल्लले आफ्ना दुई रानीको सम्झनामा सालिकसमेत राख्न लगाए । आफ्नो दरबारअगाडि दुई रानी रूपमती र राजमतीको सम्झनामा कृष्ण मन्दिर पनि बनाए । त्यहाँ रुक्मिणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए । रानीपोखरीसँग भावनात्मक साइनो छ । यहाँ तिहारमा भाइटीका लगाइन्छ । यमलेश्वर महादेवको मन्दिर भाइटीकाको दिनमा मात्रै खुल्छ । नेवार समुदायका प्रताप मल्लले आफ्ना अर्का दुई रानी अनन्तप्रिया र प्रभावतीको सालिक, ५ छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए । आफ्नो सालिक पनि राखे । यी सालिकमध्ये केही अझै हनुमानढोका दरबारमा देखिन्छन् । यो पोखरी स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षण केन्द्र थियो । पोखरीमा ४ वटा स्टेप छन् । २२ फिट ४ इन्चको पोखरीबाट मन्दिरसम्म पुग्न पश्चिमतिरबाट पुल निर्माण गरिएको थियो । यहाँ माछा पौडिरहेका दृश्य आकर्षक देखिन्थे । अहिले पोखरीका झन्डै ५ सय माछा बालाजु उद्यानमा सारिएको छ । पोखरीको निर्माण गरेपछि सफाइ गरिएको छ । यो मन्दिरसँग भाइटीकाको संस्कृति पनि जोडिएको छ । केही वर्षयता तराईको ठूलो पर्व छठसँग पनि जोडिएको छ । केही वर्षयता राजधानी बस्ने तराईवासी हिन्दुहरू यही पोखरी किनारामा छठी माईको पूजा गर्छन् । भुइँचालोले संरचना भत्काएपछि यहाँ यो वर्ष यी दुवै संस्कृति रोकिए । विसं १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर भुइँचालोले क्षतिग्रस्त बनाएको थियो । करिब ११ करोड रुपैयाँ खर्च गरेर महानगरले यसको पुनर्निर्माण गर्ने योजना बनाएको हो । पोखरीको बीचभागमा शिवलिंग, महिषाशुर मर्दिनीको प्रतिमा राखिएको छ ।

गुम्बज शैलीको यो मन्दिर बनाउन इँटाको गारो र त्यसलाई जोड्न चुना, सुर्की (इँटाको धूलो), मासको दाललगायत प्रयोग भएको छ । अहिलेजस्तो रड, सिमेन्टको आविष्कार नभएकाले सबै प्राचीन मन्दिर, घर, दरबार बनाउन यही सामान प्रयोग हुन्थे । ‘पुनर्निर्माणका नाममा यी पुरातात्त्विक महत्त्व नास गर्न पाइँदैन,’ मानन्धर भन्छन् । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार रानीपोखरी तान्त्रिक विधिअनुसार बनाइएको हो । यहाँ पानी भर्न पनि तान्त्रिक विधि अपनाइनुपर्ने उनी बताउँछन् । बज्राचार्यका अनुसार प्रताप मल्ल धार्मिक स्वभावका थिए । उनी सबै धर्मलाई समान महत्त्व दिन्थे । यिनले हिन्दुका मठमन्दिर, देवालय बनाए । बौद्धका चैत्य, गुम्बालगायत निर्माण, जीर्णाेद्धार गर्न लगाए । तर यिनको विशेष झुकावचाहिं हिन्दु र त्यसमा पनि तान्त्रिक परम्परामा बढी थियो । उनले हिन्दु र बौद्ध धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे ।

उनको दरबारमा शैव, हिन्दु, बौद्ध धर्मका तान्त्रिकलाई सम्मानका साथ राखेका थिए । भारतबाट झिकाइएका तान्त्रिकसमेत थिए उनका दरबारमा । शैव तान्त्रिक गुरु ज्ञानानन्द, बौद्ध तान्त्रिक जामुना गुभाजु उनका दरबारमा सम्मानका साथ राखिएका थिए । जामुना गुभाजुले तान्त्रिक चमत्कार गर्ने गरेका लोकोक्ति नेवारी समुदायमा अझै पाइने इतिहासकार बताउँछन् ।

प्रकाशित : पुस ४, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?