बनिनसक्दै भत्कियो सडक

‘पटकपटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन्’

भक्तपुर — पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक बनिनसक्दै भत्किएको छ । चार वर्षअघि विस्तार थालिएको कमलविनायक भत्केको पाटी–नगरकोट सडकखण्डको करिब १६ किमि मुख्य सडक विस्तारमा ढिलाइसँगै ठेकेदारको लापरबाहीका कारण सडक किनारामा लगाएको नाली पर्खाल भत्किएको छ ।

 ‘विस्तारको नाममा चार वर्षदेखि सडकको बीचबीचमा खाल्डो खनी धराप पारेर छाडिएको छ,’ चाँगुनारायण नगरपालिका–६ नगरकोटका धनबहादुर लामाले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा स्थानीय बासिन्दा तथा नगरकोट आउने पर्यटकहरूले दु:ख पाइरहेका छन् ।’ घाम लागे धूलो, पानी परे हिलो हुँदा आवातजावतमा समस्या परेको उनी बताउँछन् । नगरकोटको सडक विस्तारलाई समयमै निर्माण गर्न र गुणस्तरीय निर्माण सामग्रीको प्रयोगका लागि स्थानीय बासिन्दा, नगरकोट तथा नाल्दुमका पर्यटन व्यवसायीहरूले पटकपटक जिल्ला प्रशासनमा डेलिगेसन दिँदै आएको छ ।

‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा करिब २८ करोडको लागतमा विस्तार थालिएको उक्त सडकको निर्माण आर्थिक वर्ष ०७२/७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य थियो । भूकम्प, नाकाबन्दीको समस्या देखाएर ठेकेदारले २०७४ मंसिरसम्म सम्पन्न गरिसक्ने भन्दै दुईपल्ट म्याद थप गराए पनि हालसम्म ३५ प्रतिशत मात्र काम भएको सडकको कन्सल्ट्यान्ट इन्जिनियर नरेशराम बाबुले बताए । सडक विस्तारको जिम्मा लिएको सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि १६ किमि सडक निर्माण गर्न थप ८ महिना म्याद थपको माग गरेको उनले बताए ।

सडक विस्तारको कार्य सन् २०१४ जुनमा सुरु भई दुई वर्षभित्र सकाउने लक्ष्य थियो । हालसम्म रिटेनिङ वाल, नाली बनाउने कार्य भएको छ । अधिकांश स्थानमा नाली भत्किसकेको छ । सडक विस्तारकै क्रममा रोलर चलाउँदा नाली भत्किएको स्विकार्दै ठेकेदारले सोही बजेटमा नाली निर्माण गर्ने कन्सल्ट्यान्ट बाबुले बताए । सडक विस्तारमा बिजुलीको पोल, टेलिफोनको पोल र सडक किनाराको दायाँबायाँको घरटहराको मुआब्जाको कारण दु्रत गतिमा भने जान नसकेको उनी बताउँछन् । ‘सडक किनाराको बिजुलीको पोल हटाउन एक करोड ९० लाख विनियोजन भइसकेको छ तर, प्राधिकरण र टेलिकमले नियम पहिल्यै पैसा चाहिन्थ्यो भन्यो,’ उनले भने । काम नसकुन्जेलसम्म बजेट भुक्तानी गर्न नपाउने आर्थिक नियमका कारण बजेट भुक्तानी गर्न नसकेको उनले बताए । 

पर्यटकीय मार्गको मुख्य सडकको दायाँबायाँ पर्खाल लगाउन ठूल्ठूलो खाडल खनेर त्यत्तिकै छोडेकाले दुर्घटना बढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई प्रत्यक्ष असर परेको पर्यटन व्यवसायी गोकुल लामिछानेले बताए । 

हाल साढे ३ मिटरको सडकलाई बढाएर ७/७ मिटर कालोपत्रे गर्ने, नाली/ढलको व्यवस्थापन गर्ने र मुख्य घुम्तीमा ११ मिटरसम्मको फराकिलो सडक बनाउने योजनासहित आयोजनाले सडक विस्तारको जिम्मा पाएका आरामाली इन्फ्रा पावर लिमिडेट र सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई समयावधिमै कार्य सम्पन्न गर्न निर्देशन दिएको चाँगुनारायण नगरपालिकाले जनाएको छ । ‘पटकपटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन्’ प्रमुख सोमप्रसाद मिश्रले भने, ‘सडक निर्माणको जिम्मा लिएको कम्पनीले वैशाखभित्र सडक विस्तारको कार्य सम्पन्न गर्ने जनाएको छ ।’

प्रकाशित : पुस ४, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?