‘अमेरिकी सहयोगसँगै सहकार्य र लगानी’

काठमाडौं — अमेरिकी राजदूत अलैना बी. टेप्लिट्जले बलियो लोकतन्त्र, शान्ति, मानव अधिकार, शिक्षा र विकासका क्षेत्रमा अमेरिकाले नेपाललाई लगातार सहयोग गर्ने बताएकी छन् । लोकतान्त्रिक व्यवस्था मजबुत पार्न तथा शान्ति र समृद्धिका पक्षमा सहयोग जारी रहने भन्दै राजदूतले सहयोगसँगै सहकार्य र लगानीतर्फ पनि दुवै मुलुकको ध्यान जानुपर्ने सुझाइन् ।

‘अमेरिकी सहयोगसँगै सहकार्य र लगानी’

दौंत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘नेपाल–अमेरिका दुईपक्षीय सम्बन्ध : आगामी ७० वर्ष र अगाडि’ विषयक अन्तक्र्रियामा राजदूतले त्यस्तो धारणा राखेकी हुन् । नेपालको राजनीतिक स्थायित्व, सामाजिक–आर्थिक विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्ने अमेरिकी नीति रहेको स्पष्ट पार्दै अलैनाले भनिन्, ‘नेपाल र अमेरिकी युवाबीच थप सहकार्यका लागि हामी कार्यरत छौं । निजी क्षेत्रका व्यापारीहरूलाई दुईपक्षीय सहकार्यमा जोड गरिएको छ । युवा उद्यमीको विकास पनि हाम्रो सहकार्यमा पर्छ ।’

गत अप्रिल २५ मा दुईपक्षीय सम्बन्ध ७० वर्ष प्रवेश गरेको हो । दुईपक्षीय सम्बन्ध ७० वर्ष पुगेको दिनदेखि नै दूतावास, फुलब्राइट कमिसन र युसेफ नेपालको संलग्नतामा विविध कार्यक्रम हँुदै आएको छ ।

मंगलबार राजधानीमा भएको अन्तक्र्रिया पनि त्यही शृंखलाअन्तर्गत हो । 

पछिल्लो समय अमेरिकाले नेपालको पुनर्निर्माण क्षेत्रमा पनि सहयोग गरिरहेको राजदूतले बताइन् । ‘अब लगानीलाई 
बढी महत्त्व दिन आवश्यक छ,’ उनले भनिन्, ‘यो दुईतर्फी हुन्छ ।’

नेपाल र अमेरिकाबीच लगानी सम्झौता भई त्यसमा काम भइरहेको जनाउँदै उनले थपिन्, ‘अमेरिकाले नेपालको पूर्वाधार विकासका लागि ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै विद्युत् प्रसारण लाइन र सडक संरचना सुधारमा काम गर्दैछ । यो नेपालको इतिहासमै एकैपल्ट आएको पहिलो र सबैभन्दा ठूलो दुईपक्षीय सहयोग हो । मिलेनियम च्यालेन्ज कोअपरेसनको कम्प्याक्ट कार्यक्रम हो ।’ अमेरिकी सरकारले एमसीसीमार्फत यस्तो सहयोग गर्दै आएकोमा नेपाल पनि छानिएको हो । यो सहयोग रकमअन्तर्गतका परियोजना आगामी ५ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

नेपाल र अमेरिकाबीचको व्यापार सन्तोषजनक नदेखिए पनि नेपालमा अमेरिकाबाट कृषिजन्य सामग्री, मेडिकल तथा मेसिनरी सामग्री आयात हुने गरेको छ भने अमेरिकमा गलैंचा, तयारी पोसाक, हस्तकला र हातले बन्ने गहना जाने गरेको छ । सन् १९४७ को अप्रिल २५ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्धमा धेरै कार्य हुँदै आएका छन् ।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत शंकर शर्माले दुई देशबीचको सम्बन्ध सुमधुर र सुझबुझपूर्ण रहेको बताए । अमेरिकीहरू नेपालीलाई धेरै माया गर्ने र सहकार्य गर्न रुचाउने भएकाले पनि नेपालमा अमेरिकी सद्भाव रहेको उनले जनाए । अमेरिकामा नेपाली डायस्पोरा बढदो रहेको भन्दै उनीहरू बलिया हुने र पछि लगानी भित्र्याउनसमेत उपयोगी हुने धारणा शर्माको छ ।

कार्यक्रममा पूर्वराजदूतहरू तथा अमेरिकी सहयोगमा उच्च शिक्षा हासिल गरेर फर्केका युवाहरूको सहभागिता थियो । 

प्रकाशित : पुस ४, २०७४ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?