१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक सम्पर्कविहीन [भिडियाेसहित]

निभाउन गएको दमकल नै जल्यो
रक्सौलस्थित आइओसीको डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै
भुषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक सम्पर्कविहीन [भिडियाेसहित]



आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले २ जना अग्नीनियन्त्रक सम्पर्कविहिन रहेको पुष्टी गरेका छन् ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ ।

अहिले त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली त्यहाँ पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ ।

त्यहाँ परिचालित सुरक्षाकर्मीका अनुसार अागलागीको समयमा त्यहाँ कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन । यस्तै समय समयमा त्यहाँ राखिएकाे सिलिन्डर विष्फोट भइरहेकोले नजिक गएर उद्दार गर्न सकिने अवस्था पनि छैन।

प्रकाशित : पुस ५, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?