कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलो सुकेपछि कोदो र दाल खेती

हिलिहाङ (पाँचथर) — वर्षायाममा सुक्खा खडेरीका कारण कुलो सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरका किसानले खेतमा कोदो रोपेका छन् । कोदोसँगै रहरी दालको खेती लगाएका छन् ।

कुलो सुकेपछि कोदो र दाल खेती

सुख्खा खडेरीले पानीको मुहान सुकेर कुलोमा पानी नआएपछि बाँझिएको खेतमा रोपेको कोदो र दाल पाक्नै आँटेको छ । पोषिलो खाद्यान्न भए पनि पछिल्लो समय मासिँदै गएको कोदो बाँझो खेतबारीमा स्थानीय किसान कवीन्द्र बानियाँले खेती गरेका हुन् । रहरीको दाल भने सन्तबहादुर तामाङले रोपेका हुन् । गाउँघरमा आदिबासी जनजाति समुदायले कोदोलाई रक्सी बनाउने, पिसेर ढिँडो, रोटीलगायत विभिन्न परिकार बनाएर खाने गरेका छन् ।

बर्सेनि ४० मुरी धान उत्पादन हुने खेतबारी बाँझो राख्नुभन्दा मासिन लागेको कोदो रोपेर अन्न उत्पादन गर्ने उद्देश्यले यस वर्ष कोदो रोपेको किसान बानियाँले बताए । तामाङले धान रोप्न नसकेपछि खोंच बेंसीमा हुने रहरी दाल रोपेको बताए । रहरी दाल तरकारीका रूपमा खान सकिने भएकाले बेचेर आयआर्जनका लागि खेती गरेको तामाङले बताए ।

पछिल्लो समय मकै र कोदोलाई खाद्यान्नका रूपमा उपभोग घट्दै गएकाले खेती गर्नेको संख्यासमेत घट्दै गएको छ । पाँचथरमा हरेक वर्ष ५ हजार हेक्टर जमिनमा कोदो खेती हुने गरेकामा केही वर्षदेखि घट्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष ५ हजार हेक्टरमा जमिनमा ९ हजार ३ सय टन कोदो उत्पादन भएको थियो ।

गत वर्ष ४ हजार ८ सय ३९ हेक्टर जमिनमा गरिएको कोदो खेतीबाट ९ हजार ४६ टन र यस वर्ष ४ हजार ८ सय २५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ८ हजार ९ सय टन मात्र उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रहरी दालको उत्पादनको तथ्यांक कृषि कार्यालयसित छैन ।

प्रकाशित : पुस ६, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?