२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लागूऔषधको बिगबिगी

असारयता एक महिलासहित २४ पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके ।

लागूऔषधको बिगबिगी

त्यो त्यही गाडी थियो, जसको पछाडिको सिटमा नियन्त्रित लागूऔषध ब्रुप्रिनर्फिन १२ सय एम्पुल, डाइजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल लुकाइएको थियो ।

दुखाइ कम गर्न र सुत्केरी महिलाको उपचारका क्रममा सुईबाट प्रयोग गरिने ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनलाई लागूऔषध प्रयोगकर्ताहरूले मिसाएर सुईमार्फत प्रयोग गर्छन् । डाक्टरको प्रेस्क्रिप्सनमा मात्रै पाइने यी औषधिहरू लागूऔषधका संगठित कारोबारीहरूले खुला सिमानाको फाइदा उठाउँदै भारतबाट राजधानीसम्म ल्याएर बेच्छन् । प्रहरीले स्कार्पियो गाडीमा लागूऔषध लिएर आउने भारतीय नागरिक रमेश कुमारलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतीय औषधि उत्पादक कम्पनीहरूको यस्तो उत्पादनलाई लागूऔषधका व्यापारीले सीमावर्ती भारतीय बजारमा दुईदेखि तीन सय रुपैयाँमा खरिद गर्छन् । जसलाई काठमाडौंको लागूऔषध प्रयोगकर्ताहरूले भने एक सेटको एक हजारदेखि १४ सय रुपैयाँसम्म किन्छन् । लागूऔषध प्रयोगकर्ताहरूले ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन मिसाएर प्रयोग गर्ने भएकाले यी तीनलाई एक सेट भन्छन् । पक्राउ परेका रमेशले लामो समयदेखि भारतीय बजारबाट काठमाडौंसम्म लागू औषध ल्याएर बेच्ने गरेका थिए । ब्युरोका डीआईजी ठूले राईका अनुसार रमेशले काठमाडौं तथा अन्य सहरमा सञ्जाल बनाएर नियन्त्रित लागूऔषधको कारोबार गरिरहेका थिए । प्रहरीको अनुमानमा सोमबार पक्राउ परेको लागूऔषध नसमातिएको भए रमेशकुमारले करिब दस लाख रुपैयाँ आम्दानी गर्ने थिए ।

नियन्त्रित लागूऔषधका कारोबारी पक्राउको पछिल्लो घटना त एउटा उदाहरणमात्रै हो । असारयताको पाँच महिनामा मात्रै ब्युरोले ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन कारोबारीका विभिन्न १५ घटना सार्वजनिक गरिसकेको छ । जसमा एक महिलासहित २४ जना पक्राउ परेका छन् । ब्युरोका अनुसार अधिकांश कारोबारीले खुला सिमानाको फाइदा उठाउँदै काठमाडौंसम्म लागूऔषध ल्याएका छन् ।

काठमाडौं ल्याइएको ठूलो परिमाणको नियन्त्रित लागूऔषध उपत्यकामै खपत भएको छ । सानो हिस्सा भने उपत्यकाका सीमावर्ती जिल्ला नुवाकोट र काभ्रेसम्म पुगेको छ ।

ब्युरोको केन्द्रीय कार्यालयले काठमाडौं उपत्यकाबाट मात्रै यो अवधिमा १३ हजार १ सय ४६ सेट ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन बरामद गरिसकेको छ । औसत बजारमूल्यमा सेटको एक हजार रुपैयाँले मात्रै हिसाब गर्दा पनि पाँच महिनामा ब्युरोले एक करोड ३१ लाख रुपैयाँ बराबरको ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन बरामद गरिसक्यो ।

ब्युरोको शाखा कार्यालयहरूबाट भने यही अवधिमा ४ हजार २ सय २६ एम्पुल ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको देखिन्छ । यसको औसत बजारमूल्य करिब पचास लाखको हाराहारीमा छ । ब्युरो प्रमुख डीआईजी राईका अनुसार ब्युरोका अतिरिक्त देशैभरि रहेका प्रहरीका विभिन्न इकाईले बरामद गरेको लागू औषधको परिमाण झनै ठूलो छ । उनले भने, ‘लागूऔषधको गुप्त सञ्जालले नेपाली समाज कसरी आक्रान्त बन्दै छ भन्ने कुराको यो सानो उदाहरण मात्रै हो ।’

ब्युरोका अनुसार प्लस टु र उच्च शिक्षा अध्ययन गर्ने तन्नेरीहरू ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको दुरुपयोगमार्फत लागूऔषध प्रयोगकर्ता बनिरहेका छन् । मुखबाट खाने विभिन्न लागूऔषधका प्रयोगकर्ता नै समय क्रममा सुईमार्फत सोझै रगतमा पुर्‍याइने ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको प्रयोगकर्ता भएको देखिन्छन् । डीआईजी राईले यस्ता धेरै तन्नेरी देखेका छन्, जो सुईमार्फत ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको प्रयोग गर्दा गर्दै लागू औषधको कारोबारी भएका छन् । डीआईजी राईले भने, ‘सुरुमा आफूमात्रै दुव्र्यसनी बन्छन् । समयक्रममा पैसाको जोहो गर्न नसकेपछि आफू पनि सानोतिनो कारोबारी बन्छन् र खर्चको जोहो त्यसैबाट पुर्‍याउँछन् ।’

डीआईजी राईले ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको अम्मली भएर परिवार र प्रतिष्ठा सिध्याएका थुपै तन्नेरी देखेका छन् । उनले केही महिनाअघि कोटेश्वरबाट पक्राउ परेका एक तन्नेरीको कथा सुनाउँदै भने, ‘पक्राउ परेको तीन दिनसम्म पनि उसका अभिभावक लिन आएनन् । पछि पो थाहा भयो, ती तन्नेरीको त सिंगो परिवार नै लागूऔषध प्रयोगकर्ता रहेछन् ।’

लागूऔषधका कारोबारीहरूले संगठित रूपमा ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको सञ्जाल विस्तार गरिरहेको प्रहरीको अनुमान छन् । सीमावर्ती भारतीय बजारमा खरिद गर्ने, सिमा कटाउने र काठमाडौंसम्म ल्याउने काममा समूहका फरकफरक व्यक्ति प्रयोग भएका देखिन्छन् । प्रहरीले गत मंसिर ६ मा गोठाटारबाट विनोद खत्रीलाई ३ सय ८६ एम्पुल ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनसहित पक्राउ गरेको थियो । खत्रीले एक भारतीय व्यापारीबाट उक्त लागूऔषध फेला पारेको र त्यसलाई बेच्ने योजना बनाएको बताएका थिए । खत्री पक्राउ परेको भोलिपल्टै अर्थात् मंसिर ७ मा झापा गौरादह नगरपालिका–७ घर भएका प्रदीप बराइली तारकेश्वर नगरपालिका–९ बाट पक्राउ परेका छन् । बराइलीको साथबाट ब्युरोले २ सय ७३ एम्पुल ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन बरामद भएको थियो । बराइलीको कथा पनि खत्रीको भन्दा फरक थिएन ।

ब्युरोका प्रमुख डीआईजी राईका अनुसार चिकित्सकको परामर्शमा मात्रै लिनुपर्ने ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनजस्ता औषधि लागूऔषध प्रयोगकर्ताले उपयोग गर्नु आफैंमा असामान्य हो । यस्ता दुव्र्यसनी पक्राउ पर्ने, सजाय भुक्तान गर्ने तर सामाजिक स्वीकार्यताको अभावमा फेरि दुव्र्यसनकै चंगुलमा पर्ने गरेको देखिन्छ । उनले भने, ‘सामाजिक रूपमै सचेत भइएन भने यो भयावह बन्न सक्छ ।’

प्रकाशित : पुस ६, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?