कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रानीपोखरी मिच्दै महानगर

काठमाडौँ — काठमाडौं महानगरले रानीपाखरीमा कंक्रिट मात्रै मिसाइरहेको छैन, पोखरी वरपरको सीमा मिचेर पर्खालसमेत लगाइरहेको छ । पोखरीको पूर्व र दक्षिणतिरको भागमा धमाधम पर्खाल लगाउने काम भएको छ । पोखरी छेउको विन्दुबाट झन्डै १५ फिट परसम्म पर्खाल लगाउने काम भइरहेको छ । 

रानीपोखरी मिच्दै महानगर

निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केनकेभी जेभीले ‘अनाधिकृत तवरमा काम’ गर्दै आएको विषय विवादमा छ । रानीपोखरीमा पहिला पनि यही ठेकेदार कम्पनीले कंक्रिट मिसाएको थियो । ‘विगतमा पनि उसैलाई ठेक्का दिइएको थियो,’ पुरातत्त्वका एक उच्च अधिकृत भन्छन्, ‘फेरि पनि त्यही कम्पनीलाई काम दिइएको छ । यो कम्पनीले मापदण्डअनुसार काम गर्नेमा शंका छ ।’

पुरातात्त्विक मापदण्डअनुसार पहिलाको संरचनाजस्तो छ, त्यस्तै बनाउनुपर्ने हुन्छ । महानगरले के बनाउन लागेको भनेर सूचना नै नदिएको स्थानीयवासी र सरोकारवालाले गुनासो गरेका छन् । ‘सम्पदा बनाउने नाममा मास्न लागेको छ महानगरले,’ पुरातत्त्वविद् सुदर्शनराज तिवारी भन्छन्, ‘अहिले रानीपोखरीभित्र के बनाउन लागेको हो ? हामीलाई प्रस्ट भनिएको छैन । पोखरीको बीचतिर कंक्रिटको पर्खाल ठड्याइएको छ । यसो गर्नु भनेको सिधै सम्पदा मास्नु हो ।’

यो पोखरी स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र थियो । पोखरीमा ४ वटा स्टेप थिए । ती स्टेपमा यसअघि नै महानगरले कंक्रिट प्रयोग गरेर पर्खाल लगाइसकेको छ । ‘पहिल्यै मापदण्ड मिचिएको थियो,’ सम्पदा जोगाउन अभियान चलाइरहेका आलोकसिद्धि तुलाधर भन्छन्, ‘अब त पोखरी नै मास्न लागेका छन् । छेउमा व्यापारिक भवन बनाएर यहाँ चाहिँ स्विमिङ पुल बनाउन लागेजस्तो छ । सम्पदा बनाउने नाममा यसलाई व्यापारीकरण गर्न खोजेको छ महानगरले । हामी यसो हुन दिँदैनौं ।’

गत वर्ष २०७२ माघ २ मा राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । २०७३ सालको तिहारमा निर्माण सम्पन्न गर्ने गरी महानगरले काम थालेको थियो । तर निर्माण क्रममा पुरातात्त्विक मापदण्डविपरीत आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि त्यसको सर्वसाधारणले विरोध गरेका थिए । त्यसपछि त्यसलाई रोक्न पुरातत्त्व विभागले आदेश दिएको थियो । तत्कालै पोखरीबीचको यमलेश्वर महादेवको मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको थियो ।

गत वर्ष पुरातत्त्वले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको थियो । रानीपोखरीबीचको मन्दिर र बाहिरको समेत गरेर दुई भागमा विभाजन गरी काम अघि बढाइएको थियो । मन्दिर बाहिरको काम भने महानगरले नै गर्ने सहमति छ । अहिले पुरातत्त्व विभागले गर्ने मन्दिरको काम रोकिएको छ भने महानगरले थालेको मन्दिरबाहिरको काम गर्दा पोखरी मिच्न थालेको हो ।

‘हामी पोखरी मिच्दैनौं,’ निर्माणको जिम्मा लिएका महानगर भौतिक निर्माण विभागका प्रमुख उत्तरकुमारमा रेग्मी भन्छन्, ‘हामी सम्पदाको मूल्य मान्यता मिच्दैनौं । पानी चुहिन नदिन यी संरचना बनाएका हौं । अरू ठाउँमा पनि पहिल्यै कंक्रिट मिसाएका थिए । त्यसरी बनाएका तीन वटा घर हामीले भत्काएका छौं । हामी स्थानीयवासीसँग वार्ता गरेर समस्या सल्टाउन तयार छौं ।’

भुइँचालोले मन्दिर भत्काए पनि पोखरी चलाउनुपर्ने अवस्था थिएन । ‘मन्दिर पो भत्काएको हो त,’ सम्पदामा पीएचडी गरिरहेकी मोनालिसा महर्जन भन्छिन्, ‘कंक्रिट लगाएका तीनवटा संरचना भत्कायौ भन्छ महानगर । तर पोखरीको बीचबाटै मिचेको छ । एकातिर मास्ने अनि अर्काेतिर कंक्रिट भत्काएका छौं भन्छन् ।’

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको थियो । तर मेयर विद्यासुन्दर शाक्य आएपछि यसको स्वरूपमा परिवर्तन गरिएको रेग्मीले जानकारी दिए । कस्तो परिवर्तन गरेको भनेर चाहिं आफूले भन्न नमिल्ने उनले बताए ।

‘म आधिकारिक होइन । आधिकारिक ठाउँबाट सूचना दिनु भनियो भने दिन्छु । नत्र दिन मिल्दैन । यहाँ पुरातात्त्विक मापदण्ड कसरी कायम गर्ने भन्नेमा हामी पनि चिन्तित छौं,’ रानीपोखरी छेउमा बस्नका लागि पार्क समेत निर्माण गर्ने महानगरको लक्ष्य थियो, यसअघि सार्वजनिक भएको ड्रइङ डिजाइनमा । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्था समेत गरिने महानगरको योजना सार्वजनिक भएको थियो ।

प्रकाशित : पुस ६, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?