२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुटुको भल्भ फेर्न ६ महिने पालो 

काठमाडौँ — बाराकी सविना साहलाई जन्मदै मुटुको समस्या थियो । आर्थिक स्तर कमजोर भएको परिवारमा हुर्किएकी २२ वर्षीया सविनाको खर्च अभावकै कारण मुटुको शल्यक्रिया हुन सकेको थिएन ।

मुटुको भल्भ फेर्न ६ महिने पालो 

‘तीन लाख रुपैयाँ खर्च लाग्छ भनेका थिए, पैसा नभएर अप्रेसन गरेनौं,’ साहकी आमा बिन्दादेवीले भनिन् । शल्यक्रिया नि:शुल्क हुने थाहा पाएपछि साह बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगिन् । अस्पतालले शल्यक्रिया गर्ने ६ महिनापछिको मिति लेखिदिएपछि उनी उपचारबिनै घर फर्किएकी छन् ।

अहिले सरकारले बाथ तथा मुटु रोगका लागि भल्भ फेर्न, मर्मत गर्ने या शल्यक्रियासहितको उपचार नि:शुल्क हुने व्यवस्था गरिदिएको छ । मुटुको भल्भ फेर्ने व्यवस्था नि:शुल्क भएपछि अस्पतालमा बिरामीको चाप बढिरहेको केन्द्रका निर्देशक डा. जोतिन्द्र शर्माले बताए । ‘पहिले खर्च अभावका कारण बिरामी उपचारै नगरी बस्थे, सेवा नि:शुल्क भएसँगै शल्यक्रियाका लागि लाइन लाग्न थालेको छ, नि:शुल्क सेवा विपन्नका लागि ठूलो राहत हो,’ शर्माले भने । शल्यक्रिया गर्नका लागि बिरामीलाई कम्तीमा ६ महिना पालो कुर्नुपर्ने अवस्था रहेको शर्माले बताए । ‘आकस्मिक शल्यक्रिया भए तुरुन्तै हुन्छ, अरूलाई औषधि खाएर कुर्नुपर्ने हुन्छ,’ उनले भने ।

सरकारले गत वैशाखदेखि मात्रै मुटुको भल्भ फेर्ने व्यवस्था नि:शुल्क गरेको छ । पछिल्लो समय नेपालमा मुटु, मृगौला र क्यान्सरजस्ता नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढेपछि सरकारले यस्ता रोगको उपचारमा अनुदानस्वरूप एक लाख रुपैयाँ दिने गरेको हो । पहिले मुटुको सिंगल भल्भ फेर्नुपर्दा २ लाख ७५ हजार रुपैयाँ र डबल भल्भ फेर्नुपर्दा ३ लाख २५ हजार रुपैयाँ खर्च लाग्थ्यो । यसअघि सरकारी अस्पतालबाट १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगीका लागि मात्रै नि:शुल्क उपचारको व्यवस्था थियो । शर्मा भन्छन्, ‘मुटुरोग पाँचदेखि १५ वर्षका बालबालिकामा बढी देखापर्छ, शल्यक्रिया गर्नुपर्नेे स्थितिमा पुग्दा उनीहरू वयस्क भइसक्ने हुँदा उनीहरूले नि:शुल्क शल्यक्रिया उपचार पाइरहेका थिएनन् ।’

वैशाखयता मात्रै करिब २३ सय विपन्नले नि:शुल्क रूपमा मुटुको शल्यक्रिया गरेको हृदयरोग केन्द्रको तथ्यांक छ । यसका लागि स्वास्थ्य मन्त्रालयको विपन्न नागरिक कोषबाट २१ करोड ६८ लाख सात हजार खर्च भएको केन्द्रले जनाएको छ । त्यस्तै केन्द्रबाट चार सय ६५ जनाको भने नि:शुल्क मुटुको साँघुरिएको भल्भ खुलाइएको केन्द्रका आर्थिक प्रशासक विमल उप्रेतीले बताए । मुटुको शल्यक्रिया गर्ने, भल्भ फेर्ने र बन्द भएका भल्भमा जाली राख्ने गरी हालसम्म सात हजार ७ सय १५ जनाले नि:शुल्क उपचार लिएको केन्द्रले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?