१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चिकित्सक लापरबाहीले मृत्यु, पीडितलाई १० लाख क्षतिपूर्ति दिने सहमति

दाँतको उपचार गर्न अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जैका ५६ वर्षीय शिवलाल अर्यालको मृत्यु
घनश्याम गौतम

गुल्मी — चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएपछि रेसुंगा हस्पिटलले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ । दाँत दुखेर उपचार गर्न मंगलबार अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जैका ५६ वर्षीय शिवलाल अर्यालको राति मृत्यु भएको थियो ।

चिकित्सक लापरबाहीले मृत्यु, पीडितलाई १० लाख क्षतिपूर्ति दिने सहमति

उनको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल र प्रहरी कार्यालय घेराउ गरेका थिए । प्रहरीमा भएको छलफलमा अस्पताल प्रशासनले १० लाख रुपैयाँ क्षतिपूर्ति दिन र घटनाको छानबिन गर्न सहमत भएपछि पीडित परिवारले बुधबार शव बुझेका थिए ।

दाँतको जराका कारण गिजा सुन्निएको र दाँतको जरामा पिप जम्दै गएर पीडितलाई मुख खोल्न समेत अप्ठ्यारो परेपछि अस्पताल पुगेका थिए । सामान्य शल्यक्रियापछि निको हुने भन्दै चिकित्सकले घाँटीको शल्यक्रिया गरी जमेको पिप निकालेका थिए । त्यसपछि लामो समयसम्म बिरामीको होस खुलेन । झन्डै ३ घण्टामै मृत्यु भएको थियो । घटना प्रकृति हेर्दा बिरामीको घाँटीमा झन्डै ४ इन्च तेर्सो चिरिएको छ ।

चिरिएको घाउमा शल्यक्रियापश्चात् कुनै टाँकासमेत नलगाई पट्टी बाँधेर चिकित्सक टोली बिरामीको होस नआउँदै अस्पतालबाट ब्याडमिन्टन खेल्न भन्दै बाहिरिएका थिए । ‘डेढ घण्टापछि होस आउँछ भनेकाले हामीले कुरेर बस्यौं,’ बिरामीका आफन्त बुद्धि गौतमले भने, ‘होस नै नआएपछि डाक्टर खोज्दा बाहिर गएको भन्ने सुन्यौं । पछि डाक्टर आएर हेर्दा मृत्यु भइसकेको थियो ।’ अर्यालको शल्यक्रियामा डाक्टर प्रकाश पुन, यम भुजेल र विक्रम बस्नेतको टोली संलग्न थियो ।

अर्जैका वडाध्यक्ष शोभाखर गिरीले चिकित्सकको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको बताए । ‘बिरामी देखेपछि मैले नै अस्पताल जानुस् भनेर पठाएको थिएँ,’ उनले भने, ‘दाँत दुखेको बिरामीको घाँटीबाट शल्यक्रिया गरी ज्यानै लिने काम भएछ ।’ प्रशासनकै पहलमा लुम्बिनी अञ्चल अस्पतालबाट डाक्टर ल्याएर छानबिन गर्ने, अपांग श्रीमतीको पालनपोषण र स्याहार सुसारका लागि १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, पीडित शिवलालका छोरालाई रोजगारीको व्यवस्था गर्ने सहमतिपछि परिवारले शव बुझेको उनले बताए ।

शल्यक्रियामा संलग्न चिकित्सक प्रकाश पुनले भने लापरबाही भन्दा शल्यक्रिया गरिसकेपछि बाँकी रहेको पिप ब्लडकै माध्यमबाट शरीरमा फैलिएको कारण बिरामीको ज्यान गएको बताए । ‘हामीले परिवारलाई जानकारी गराएर शल्यक्रिया सुरु गरेका थियौं,’ उनले भने, ‘सुरुमा कम्प्लिकेट नभए पनि पछि संक्रमण बढेर बिरामीको मृत्यु हुन गयो । त्यसमा हामी पनि दु:खी छौं तर लापरबाही भएको होइन ।’


प्रकाशित : पुस ६, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?