राजमार्ग आसपास उद्योगः मजदुर र आसपासका बस्ती जोखिममा

धादिङ — राजधानीलगायत मुख्य सहरलाई आफ्नो बजार बनाएका पृथ्वी राजमार्ग आसपासका ग्यास उद्योगले सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।

राजमार्ग आसपास उद्योगः मजदुर र आसपासका बस्ती जोखिममा

मुग्लिन–नौबिसे खण्डको आसपासमा सञ्चालित १९ वटा खाना पकाउने ग्यास र प्लास्टिक उद्योगले सुरक्षाका उपाय नअपनाएका हुन् । यसबाट आसपासका बस्ती र उद्योगमा काम गर्ने मजदुरको सुरक्षा चुनौती थपिँदै गएको छ । जोखिमयुक्त उद्योगले सञ्चालन अनुमति लिँदा गरेका लिखित सर्तसमेत पालना गरेका छैनन् ।

राजमार्ग आसपास १९ ग्यास उद्योग, ३० पेट्रोल पम्प, प्लास्टिक बनाउने कारखानाजस्ता जोखिमयुक्त उद्योग सञ्चालित छन् । भएकै उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेका बेला आयल निगमले जिल्लामा थप ६ वटा ग्यास उद्योग सञ्चालनको स्वीकृति दिएको छ । मुख्यतया राजधानीलगायत पोखरा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, नुवाकोट र रसुवामा ग्यास आपूर्ति गर्दै आएका ठूला उद्योगले सुरक्षाप्रति चासो दिएका छैनन् ।

धमाधम बस्ती विकास भइरहेका राजमार्ग वरपरका क्षेत्रमै हचुवामा उद्योग सञ्चालन अनुमति दिइएको प्रशासनकै कर्मचारी स्वीकार्छन् । प्रमुख राजमार्ग, मानवीय बस्ती, विद्यालय, होटल, अस्पताललगायत सार्वजनिक स्थल, सामुदायिक वनबाट निश्चित दूरीमा रहने सर्तमा ग्यास भर्ने प्लान्ट र पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई सञ्चालन अनुमति दिने कानुनी प्रावधान छ । तर यहाँ धेरै वटा प्लान्ट र पम्प सय मिटरकै आसपासमा छन् । ‘हो कतिपय पेट्रोलपम्प र ग्यास प्लान्टको दूरी ५० मिटर पनि छैन,’ जिल्ला प्रशासनका शाखा अधिकृत राममणि मिश्रले भने ।

गर्मी मौसममा उद्योगमा रहेका ग्यास बुलेटलाई पानीका फोहरा दिएर चिसो बनाउने, हरेक उद्योगमा अग्नि नियन्त्रणका उपकरण जडान गर्ने, बाहै्र महिना जतिबेला पनि पानीको पर्याप्त व्यवस्था हुनुपर्ने, आगो नियन्त्रण उपकरण जडान गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर अधिकांश उद्योगमा पर्याप्त पानीसमेत छैन । मिश्र भन्छन्, ‘बस्तीको सुरक्षा त परै, प्लान्टका कर्मचारी र मजदुरको सुरक्षासमेत छैन ।’ धेरै प्लान्टसँग ग्यास भर्ने पुराना सिलिन्डरको सुरक्षा परीक्षण उपकरण पनि छैनन् । बेनीघाटस्थित श्रीकृष्ण ग्यास उद्योगका प्रबन्धक ऋषि विसुरालले सामान्य सुरक्षा व्यवस्था भएको दाबी गरे । ‘प्लान्ट स्थापना गर्दा बस्ती थिएनन्,’ उनले भने, ‘पछि बस्ती बढदा समस्या देखिएको हो ।’

अघिल्लो वर्ष चैतमा भारतीय नाकाबन्दीका बेला अनुगमनमा आएका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले धार्केका २ वटा ग्यास उद्योग सिल गरेका थिए । राजमार्गका प्लान्टका लागि प्रतिदिन ५० भन्दा बढी बुलेटले ग्यास ओसार्ने गरेका छन् । सदरमुकामको नगरपालिकाबाहेक राजमार्गका कुनै पनि स्थानीय तहले अग्नि नियन्त्रण उपकरण खरिद गरेका छैनन् । ‘हरेक घटनामा राजधानीबाटै दमकल बोलाउनुपर्ने बाध्यता छ । टाढा भएकाले समयमा दमकल आइपुग्दैन,’ राजधानीसँग जोडिएको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भने । सदरमुकामबाट भन्दा काठमाडौंबाट दमकल बोलाउनु ६० किमि दूरी कम पर्छ ।


प्रकाशित : पुस ६, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?