२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘पहिलो पाठशाला’ को संरक्षण अभाव

विद्या राई

दिङ्लाबजार (भोजपुर) — जनस्तरबाट स्थापना भएको देशकै पुरानोमध्येको संस्कृत पाठशाला संरक्षण हुन नसक्दा जीर्ण बनेको छ ।

‘पहिलो पाठशाला’ को संरक्षण अभाव

१ सय ४२ वर्षअघि बालागुरु षडानन्द अधिकारीले उक्त पाठशाला स्थापना गरी शिक्षाको प्रचार सुरु गरेका थिए । दरबार हाइस्कुलपछिको देशकै दोस्रो पाठशाला भए पनि ‘जनताका छोछोरीले पढ्न पाउने’ पहिलो थियो । स्थापनाकालदेखि संस्कृत भाषामा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको पढाइ गरिँदै आएको थियो ।

तत्कालीन समयमा पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसामबाट विद्यार्थी गुरुकुल शिक्षाका लागि आउँथे । उनले जहाँनिया राणाशासनका बेला व्याप्त सतीप्रथा र जातीय विभेदविरुद्ध आवाज उठाएका थिए ।

दिङ्लाबजारमा षडानन्द–सीताराम गुठीमा मठमन्दिर, बगैंचा, हाटबजारको व्यवस्था गरेका थिए । गुठी स्थापनाबाट उब्जनी भएको १२ सय मुरी अन्नले संस्कृत पाठशाला व्यवस्थापन गर्न खर्च धान्ने गरेको थियो । गडीगाउँ कैलाशमा स्थापित पाठशाला वि.सं. १९५५ मा भन्ज्याङमा स्थानान्तरण गरिएको थियो ।

०३६ को नापीअनुसार उक्त गुठीको क्षेत्रफल १ हजार ७ सय ५३ रोपनी छ । अधिकारीले जग्गा तथा खेतको आम्दानीबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने व्यवस्था गरिएको थियो ।

यसरी शैक्षिक चेतना अभिवृद्धि गर्दै आएका भए पनि ०५१ मा माननीय नरेन्द्र बस्नेत नेतृत्वमा गुठीको नयाँ विधान जिल्ला प्रशासन भोजपुरबाट स्वीकृत गराएर पाठशाला र गुठीलाई स्वामित्व बाँडफाँट गरियो । पाठशालाका नाममा ६९ रोपनी र अन्य सबै जग्गा गुठीको नाममा छ । विधानसम्मत गठन भएको नयाँ समितिले काम थाल्न नपाउँदै ०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वले गुठी अस्तव्यस्त बन्दै गयो ।

विसं १९३२ चैत शुक्ल रामनवमीका दिन स्थापना भएदेखि २०१५ सालसम्म पाठशालाका रूपमा स्थापित थियो । ०१६ सालमा षडानन्द संस्कृत प्रधान पाठशाला, वि.सं. ०२१/२२ सालमा षडानन्द संस्कृत महाविद्यालय प्रस्तावित भयो । ०२५ सालसम्म उत्तरमध्यमा र ‘डिप्लोमा लेभल’ संस्कृत पढाइ हुन्थ्यो । ०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि षडानन्द संस्कृत मावि सञ्चालन भइरहेको थियो । दशक लामो द्वन्द्वको कारण गुरुकुल शिक्षा लिने विद्यार्थी घट्दै गए । ०५८ देखि अन्य विद्यालयमा पढाइ हुँदै आएका आधुनिक विषयको पठनपाठन सुरु भयो । उक्त विद्यालयमा हाल बालकक्षादेखि कक्षा १२ सम्म ४ सय ८८ विद्यार्थी अध्ययनरत छन् ।

०२२ सालतिर स्थापना भएका विद्यालयका पुराना भवन भूकम्पका कारण जीर्ण बनेका छन् । देशकै पुरानो तथा ऐतिहासिक विद्यालय भए पनि संरक्षण राज्यपक्ष, स्थानीय तवर तथा पूर्व विद्यार्थीबाट कुनै पहल नहुँदा अवस्था दयनीय बन्दै गएको प्रधानाध्यापक गोपाल तिम्सिनाले बताए । ‘शैक्षिक, आर्थिक क्रान्ति गरेको ऐतिहासिक तपोभूमि हो,’ उनले भने, ‘यहाँका उत्पादन देशकै विशिष्ट पदमा छन् तर संरक्षण र प्रवद्र्धनमा कसैले चासो दिएनन् ।’ संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि मुरारीराज आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य डा. हेमांगराज अधिकारी, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य चेतनाथ गौतमलगायत उच्च पदस्थ व्यक्तिहरू यही विद्यालयका उत्पादन हुन् ।

एक समय गुरुकुल शिक्षामात्रै प्रदान हुँदै आएको विद्यालयमा अहिले संस्कृत विषय ऐच्छिक गरिएको छ । कक्षा ६ मा सय पूर्णांकको व्याकरण र सय पूर्णांकको संस्कृत साहित्य पढाइ हुन्छ । व्याकरण सबै विद्यार्थीका लागि अनिवार्य र साहित्य ऐच्छिक राखिएको प्रअले बताए ।


प्रकाशित : पुस ६, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?