कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँको काम सदरमुकामबाटै पूर्वाधार निर्माणमा 

क्रियाशील रहेको निर्वाचित पदाधिकारीको दाबी

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका कार्यालय अझै स्थायी व्यवस्थापन हुन सकेको छैन । कार्यालयमा बैठकबाहेक बाँकी काम हुन सक्दैन ।

गाउँको काम सदरमुकामबाटै पूर्वाधार निर्माणमा 

गाउँपालिका अध्यक्षसमेत बैठकका लागि जाने र फेरि सदरमुकाम फुङलिङ फर्कने गर्छन् । गाउँका अधिकांश काम कार्यकारी अधिकृतले सदरमुकाम फुङलिङमै बसेर पत्ते गर्ने गरेको स्थानीयले बताए ।

कच्ची मोटरबाटो पुगेको यो गाउँपालिका केन्द्र तापेथोक बगरमा सदरमुकामबाट दैनिक दुइटासम्म साना सवारी जाने गर्छन् । इमेल इन्टरनेटजस्ता कुनै सुविधा पुगेको छैन । गाउँपालिका कार्यालय र स्थानीय व्यवसायीले राखेका चारवटा सीडीएमए स्काई फोनमात्रै छन् ।

अन्यत्र हातहातमा मोबाइल र इन्टरनेट पुग्दा पनि यहाँका बासिन्दालाई सम्पर्क गर्न बोलाइल माग्नुपर्छ । सिंहदरबार गाउँमै आएको चर्चा चलिरहँदा आफूहरूले त्यो अनुभूति गर्न नपाएको स्थानीयको गुनासो छ । तर निर्वाचित पदाधिकारी भने पूर्वाधार निर्माणमा क्रियाशील रहेको दाबी गर्छन् ।

‘गाउँपालिकाले विनियोजन रकम समयमै बाँडफाँड गरिसकेको छ । कामहरू पनि सुरु भएका छन् । सञ्चारको पहुँच नहुँदा गाउँपालिकामा नियमित बसेर काम गर्न केही कठिन छ,’ अध्यक्ष सरोज एभेङले भने, ‘सञ्चार व्यवस्थापनका लागि दूरसञ्चारलाई लगातार झकझक्याइरहेका छौं ।’ पालिकामा खटाइएका कर्मचारीलाई बस्ने राम्रो प्रबन्ध नभएको ठाउँमा जग्गा खरिद गरेर पूर्वाधार निर्माण गर्ने योजनामा लागेको उनले बताए ।

कृषि, पशुलगायत कार्यालयबाट गएका कर्मचारीलाई बस्ने ठाउँ अझै हुन सकेको छैन ।

‘इखाबुमा टेलिफोन टावर निर्माणको काम भइरहेको छ । तर टु जीमात्रै चल्ने रहेछ । त्यसले हामीलाई काम गर्दैन, कम्तीमा थ्री जी बनाइदिनुहोस् भनेर दूरसञ्चारसित अनुरोध गरिरहेका छौं । सञ्चार नभएसम्म नीति निर्देशनका विषयमा अपडेट हुन नसकिने रहेछ,’ कार्यकारी अधिकृत रामसुन्दर थापाले भने, ‘बिजुली छ, सञ्चार भएपछि गाउँमा ढुक्कै बसेर काम गर्न सकिन्छ ।’

गाउँमा बैंक नभएकाले कर्मचारी तलबभत्ता, निकासालगायत काममा सदरमुकाम धाउनुपर्ने बाध्यता छ । पूर्वाधार अभावमा बैंकलाई तत्कालन जान दबाब दिनसक्ने अवस्था नभएको गाउँपालिका प्रवक्ता छेतेन वालुङ बताउँछन् । बैठकका बेला जनप्रतिनिधि, कर्मचारी, पाहुना एउटै खाटमा सुतेर रात बिताउनु पर्ने बाध्यता रहेको उनले जनाए । थापाका अनुसार गाउँपालिकाको स्थायी व्यवस्थापनका लागि जग्गा खरिदलगायत काम भइरहेको छ । सकेसम्म नि:शुल्क जग्गा प्राप्तिका लागि समुदायसँग अनुरोध गरिएको र उनीहरू पनि यसमा सकारात्मक रहेको उनले बताए ।

भौगोलिक हिसाबले जिल्लाकै ठूलो गाउँपालिकामा नागरिकता सिफारिस, जन्म–मृत्यु दर्तालगायत कामका लागि वडावडामा कर्मचारी राखेको थापाको दाबी छ । लिङखिम, सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गाविस मिलाएर गाउँपालिका बनाइएको छ । सदरमुकाम रहेको फुङलिङ नगरपालिकादेखि चीनको तिब्बत छुने गाउँपालिका पूर्वाधारको हिसाबले सबैभन्दा पछि छ ।


प्रकाशित : पुस ६, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?