३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नयाँ घरमा बाढीपीडित

देवनारायण साह

मोरङ — बाढीले घरबारविहीन हुँदा विराटनगर–१९ खापटोलस्थित सुकुम्बासी बस्तीकी रिना ऋषिदेव चार दिनकी सुत्केरी थिइन् । खुला आकाशमुनि उनले ठूलो कष्टका साथ नवजात शिशु हुर्काइन् ।

नयाँ घरमा बाढीपीडित

अहिले भने बासको समस्या टरेको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बनाइदिएको अस्थायी बासस्थान लाई टाटी लगाएर बस्ने घर बनाएपछि धेरै सुविधा भएको उनले बताइन् ।

‘घर बाढीले बगाउँदा सुत्केरी अवस्थामा थिएँ,’ उनले भनिन्, ‘चार दिन पालमुनि बसेर बिताएँ ।’ अहिले सहकारीले बाँसको खाँबा हालेर बाँसकै मचान राखेर माथिबाट जस्ता हालेको घर बनाइदिएको छ । त्रिपाल हटाएर विस्तारै टाटी लगाइरहेको उनले सुनाइन् । कांग्रेस ऋषिदेव पनि छोराछोरी, पत्नीसहित त्रिपालमुनि बस्दै आएका छन् । उनलाई पनि सहकारीले घर बनाइदिएको छ । मचान लिप्न र टाटी लगाउन मात्रै बाँकी छ । ‘काम नगरे बिहान–बेलुकाको चुल्हो बल्दैन । त्यसैले फुर्सद मिलाएर मचान लिप्ने र टाटी बनाउने काम गरिरहेको छु,’ उनले भने, ‘२/४ दिनदेखिको शीतलहरमा सहकारीले बनाइदिएको बासमा नै मचानमाथि पराल ओछ्याएर सुत्यौं । अब चिसो बढ्न थालेकाले टाटी लगाउन थालेको छु ।’ स्थानीय देवशरण मुखियाले खापटोलका सबै सुकुम्बासी भएको र घर बनाउन नसकेर अहिलेसम्म त्रिपालमुनि बस्दै आएको बताए ।

‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’ को सहयोगमा सहारा नेपालले उनीहरूजस्तै १ सय २५ बाढीपीडित परिवारका लागि घर निर्माण गरिदिएको छ । सहकारीका विराटनगर सेवा केन्द्र प्रमुख घनश्याम अधिकारीले बाढी आएको बेलामा आफ्ना १५ जना सदस्यलाई राहत वितरण गर्न जाँदा अरूलाई पनि बासकै समस्या देखेपछि घर बनाउन पहल थालेको बताए ।

‘स्रोत जुटाउन केही समय लाग्यो । जाडो मौसम आउनै थालेकाले तत्काल उनीहरूका लागि बासको आवश्यक भइसकेको थियो’ उनले भने, ‘ह्याबिट्याटले सुरुमा १८ घरका लागि दिएको सहयोगबाट १५ दिनमा घर तयार पारिए । त्यसपछि ९७ घरका लागि थप सहयोग उपलब्ध भयो । २० दिनमा सबै घर तयार गर्‍यौं ।’

उनले बाढीपीडित सुकुम्बासी परिवारहरूका लागि अस्थायी बास मात्रै बनाइदिएको तर उनीहरूले खरको टाटी आफंै लगाएपछि त्यो घरमा परिणत भएकाले

आफूहरूका लागि ठूलो सिकाइ भएको सुनाए । सहकारीले प्रत्येक परिवारका लागि १८ फिट लम्बाइ र १० फिट चौडाइ भएको घर निर्माण गरिदिएको हो ।

चार महिनादेखि पालमुनि बस्दै आएका सुकुम्बासी बाढीपीडितहरू अहिले आ–आफ्नै घरमा फर्कन थालेका छन् । सहकारीका घनश्याम अधिकारीले प्रत्येक घरमा ७० वटा बाँस, ९ वटा जस्ता र ४ वटा त्रिपाल गरी ४५ हजार मूल्य बराबरको सहयोग गरेको बताए । उनीहरूका लागि पानी खान ४ वटा ट्युबवेलसमेत जडान गरिदिएको उनले जनाए । साउन अन्तिम साता सिंघीया खोलामा आएको बाढीले खापटोलस्थित सुकुम्बासी बस्ती बगाएको थियो ।


प्रकाशित : पुस ६, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?