२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चिसोले रित्तिए हिमाली बस्ती

मुस्ताङ/लमजुङ — चिसो बढेपछि हिमाली जिल्ला मुस्ताङका अधिकांश बस्ती रित्तिएका छन् । पर्यटक आउजाउ पातलिएको छ । सदरमुकाम जोमसोमकै ७० प्रतिशत होटल बन्द छन् । स्थानीय बासिन्दा पनि चिसो छल्न अन्यत्र जाँदा जिल्ला सुनसान भएको छ ।

चिसोले रित्तिए हिमाली बस्ती

उपल्लो मुस्ताङका अधिकांश घरमा ताला लागेको छ । चौंरी, भेडा र च्यांग्राको रेखदेख गर्न स्थानीयले पालो मिलाएका छन् । सबैजना जाडोमा कठ्यांग्रिएर बस्न नपरोस् भनेर पालो लगाउने व्यवस्था मिलाइएको हो । स्थानीयले बस्तुभाउ हेर्ने गोठाला अन्यत्रबाट ल्याउने चलन छ । ५/७ घर मिलेर गोठालो राख्ने र सामूहिक तलब दिएर जाडो छल्न बाहिरिएका छन् ।

माथिल्लो भेगमा बाक्लो हिउँ परेपछि चौंरी गाई बेंसी झारेर चरनको व्यवस्था मिलाइएको छ । चुनावसम्म जेनतेन चिसो सहेर बसेकाहरू आफ्नो घरको व्यवस्था मिलाएर बाहिरिएका छन् । ‘हामी घर कुर्न केही मान्छे बसेका छौं, धेरैजसो बाहिर गइसके,’ छोन्हुप गाउँकी तेन्जिन गुरुङले भनिन्, ‘सातादेखि हिउँ झरिरहेको छ । घरबाहिर निस्कन सकिन्न, भित्रै आगो तापेर बसेका छौं ।’ यसपालि धेरै हिउँ परेको उनले बताइन् ।

चिसोले मंसिर १५ देखि नै सबै स्कुल बन्द छन् । पोखरा, बेनी र राजधानीकै केही स्थानमा विद्यार्थीलाई सामूहिक रूपमा राखेर अतिरिक्त कक्षा सञ्चालन गरेर पढाउने व्यवस्था मिलाइएको छ । जाडोयाममा पढाइ नबिग्रियोस् भनेर कक्षा सञ्चालन गरिएको शिक्षा कार्यालयले जनाएको छ । फागुनसम्म यहाँका सबै स्कुल बन्द हुनेछन् । सदरमुकाम जोमसोममा रहेका अधिकांश सरकारी कार्यालय खालीजस्तै छन् । केही कार्यालय पियनले रुँगेका छन् । ४५ वटा सरकारी कार्यालयमा ८ वटामा मात्र प्रमुख छन् । जाडो छल्नकै लागि कर्मचारीहरू हरेक महिनाको ३ गते हुने कार्यालय प्रमुखहरूको नियमित बैठकमा उपस्थित हुने र लगत्तै पोखरा, काठमाडौंलगायत ठाउँमा फर्कने गर्छन् । कार्यालयमा कामको चाप शून्यजस्तै छ । स्थानीय नै जिल्लामा नभएपछि सेवाग्राहीको उपस्थिति छैन । ‘चिसो निकै बढेको छ, कामको बोझ पनि छैन,’ निमित्त प्रजिअ रामसुन्दर शर्माले भने, ‘आवश्यक कर्मचारी सबै कार्यालयमा छन्, सेवाग्राही आएमा काम रोकिने अवस्था छैन ।’ जाडोले पालो मिलाएर बिदामा बस्नु स्वाभाविक भएको उनले बताए । लोमान्थाङ, चराङ, झुसाङ, मुक्तिनाथ, जोमसोम, मार्फा, टुकुचेलगायत ठाउँमा रहेका साधारण होटल बन्द छन् ।

केही स्तरीय होटलले तातोको प्रबन्ध गरेर सञ्चालन गरिरहेका छन् । हिउँ हेर्न आउने पर्यटकलाई स्तरीय होटलले आवासको प्रबन्ध मिलाएका छन् । जोमसोममा मात्र करिब २ दर्जन स्तरीय होटल सञ्चालनमा छन् । आन्तरिक पर्यटक शून्य भए पनि तेस्रो मुलुकबाट आउनेहरूमा कुनै कमी छैन । तेस्रो मुलुकका पर्यटक हिउँमा खेल्न मनपराउने भएकाले यही मौसममा आउने होटल व्यवसायीले बताए ।

पर्यटकलाई आउजाउमा समस्या नहोस् भनेर जोमसोम विमानस्थलमा जहाज उडान नियमित छ । चिसो अत्यधिक बढे पनि उडान नरोकिएको र दैनिक २/३ उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । ‘खासगरी युरोप, अमेरिका र चीनबाट पर्यटक आएका छन्, उडान सेवा रोकेका छैनौं,’ विमानस्थल प्रमुख विष्णु अधिकारीले भने, ‘मौसम प्रतिकूल भएको भए उडान बन्द गर्नुपथ्र्यो । तर, अहिलेसम्म उडानमा समस्या छैन ।’

सदरमुकाम जोमसोमको तापक्रम अहिले माइनस ४ डिग्रीमा झरेको छ । विमानस्थल कार्यालयका अनुसार, न्यूनतम तापक्रम माइनस ४ र अधिकतम ७ डिग्री सेन्टिग्रेड छ । मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा माइनस ६ डिग्रीसम्म पुगेको छ । घाम नलाग्दा स्थानीय बाहिर निस्किन सकेका छैनन् ।

चिसोले गर्दा विकास निर्माणका काम रोकिएका छन् । जोमसोम र उपल्लो मुस्ताङ क्षेत्रमा निर्माणका कुनै पनि काम नभएका हुन् । फागुनबाट मात्र निर्माणका काम सुरु हुने प्राविधिक कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । माथिल्लो क्षेत्रमा भन्दा तल्लो मुस्ताङमा कम जाडो हुने भएकाले लेते तल सडक निर्माण भइरहेको कालीगण्डकी करिडोर सडक कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?