दैनिक ६० पिन्ट रगत चाहिने विपि प्रतिष्ठानमा रगतको अभाव

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरु समस्यामा परेका छन् । 

दैनिक ६० पिन्ट रगत चाहिने विपि प्रतिष्ठानमा रगतको अभाव

दैनिक ५० देखि ६० पिन्ट रगत खपत हुने प्रतिष्ठानमा रगत अभावसंगै केही दिनदेखि विरामीका आफन्तबाट नै सट्टा भर्ना गर्नुपर्ने भएपनि कतिपय अवस्थामा ग्रुप नमिल्दा समस्या आउने गरेको रक्तसञ्चार केन्द्रका कर्मचारी सानुबाबु थापाले बताए । केन्द्रमा ओ पोजेटिभ, एबी पोजेटिभ र बी पोजेटिव गु्रपका रगत शून्य रहेको छ । अन्य गु्रपका रगत समेत थोरै भएका कारण समस्या भएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।


कतिपय जटिल शल्यक्रियामा विरामीको रगत समुह अनुसारको नै रगत अनिबार्य चाहिने भएपनि अभावकै कारण त्यस्ता बिरामीको शल्यक्रिया समय समेत सार्नु परेको प्रतिष्ठानका एक शल्य चिकित्सकले बताए । उनले तुरुन्त रगत उपलब्ध गराउनुपर्ने जटिल प्रकारका शल्यक्रिया प्रभावित भएपछि समयमै शल्यक्रिया गर्न नसकेको बताए ।


नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले निर्वाचनका अवधिमा सबै मानिसहरु निर्वाचनमै केन्द्रित भएको र अत्याधिक बढेको चीसोका कारण रक्तदान कार्यक्रम हुन नस्क्दा प्रतिष्ठानमा रक्तसञ्चारमा रगत अभाव भएको बताए । उनले भने, ‘सट्टाभर्ना गरेर भएपनि विरामीलाई रगत उपलब्ध गराउने प्रयास भएको छ ।’ उनले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न पत्राचार गरेको बताए । पुष ८ गतेदेखि लगातार रक्तदान कार्यक्रम हुने भएकोले रगतको अभाव हट्ने बताए ।

यसैबीच प्रतिष्ठानमा उपचार गर्न आउने विरामी रगत कै अभावले मृत्यु हुनु नपरोस भनेर चिकित्शा शाास्त्रका विद्यार्थीहरुको समुह ‘विपिकेआइएचएस ब्लड डोनेसन कमिटि’ले जुनसुकै समयमा समुह मिल्ने बिरामीलाई रगत दिने बताएको छ । कमिटीका पूर्व अध्यक्ष विमल देओले प्रतिष्ठानमा उपचार गर्न आउने कुनै पनि विरामीले रगतको अभावमा मृत्युवरण गर्नु नपरोस् भनेर संस्था गठन गरेको बताए ।

उनले प्रतिष्ठानमा करिव १५ सय विद्यार्थी सवैको सम्पर्क नम्बर सहित रक्त समुह बनाएको र रेडक्रस वा कसैले रत्तदानकालागि अनुरोध गरेमा तत्काल सहयोग गर्ने बताए । उनले भने, ‘कहिले काही रगत अभाव हुन्छ । कतिपय बिरामीलाई रगत चाहिएपनि चाहेको रक्त समुहको रगत रक्तसंचार केन्द्रमा नहुँदा हामीले मासिक रुपमा कम्तिमा ७० पिन्ट रगत दान गर्ने गरेका छौं ।’


प्रकाशित : पुस ६, २०७४ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?