कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथाकार प्रेमा शाह रहिनन्

काठमाडौँ — नेपाली साहित्यमा यौन मनोविज्ञान र विशेषत फ्राइडियन शिल्पी भित्र्याउने प्रखर कथाकार प्रेमा शाहको ७३ वर्षको उमेरमा अमेरिकाको साल्टलेकस्थित इन्टर माउन्टेन हस्पिटलमा बुधबार अपरान्ह शाहको निधन भएको छ ।

कथाकार प्रेमा शाह रहिनन्

शाहका पहेँलो गुलाफ र विषयान्तर(कथा संग्रह), मम्मी (उपन्यास), आकाश विभाजित छ(संयुक्त लेखन) लगायतका कृति प्रकाशित छन् । ‘मैले नेपाली साहित्यमा पारिजातपछि सबैभन्दा अब्बल कथा लेखकका रुपमा प्रेमालाई लिएको छु,’वीरगन्ज मुल घर भएकी प्रेमाका समकालिन लेखक डा.ध्रुबचन्द्र गौतमले कान्तिपुरसँग भने,‘उनी मभन्दा दुई वर्ष कान्छी भएपनि वीरगन्ज र आसपासमा म भन्दा पहिला प्रेमाको साहित्यिक नाम छाएको थियो ।’ गौतमले प्रेमाका स्मरणीय रचना भनेर ‘लोग्ने’ र ‘पहेंलो गुलाफ’ कथा तथा ‘सूर्यसँग संभोग’ कविताको स्मरण गरे ।


प्रेमा नेपाली चलचित्र जगतकी नायिका जल शाहकी आमा हुन् । उनी झण्डै एक दशकयता छोरीका साथमा अमेरिका बस्दै आएकी थिइन् ।


संगीतज्ञ शर्मा रहेनन्

यसैबीच, शाश्त्रीय संगीत विधाका प्रखर हस्ती चन्द्रराज शर्माको ७५ बर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।


‘मुनामदन’, ‘कुन्जिनी’, ‘सत्य हरिश्चन्द्र’, ‘मुटुको व्यथा’, ‘गौरी’ जस्ता अमर कृतिमा संगीत भर्ने शर्मा केही वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीत शिक्षक पनि थिए । शर्माले तत्कालीन दरबारनिकट रहेर लामो समयसम्म संगीत प्रशिक्षक जिम्मेवारी निभाएका थिए । नृत्य नाटक, गीति नाटक दुवै विधामा एकैसाथ संगीत भर्न सफल मानिएका शर्माका ३ सय ७० भन्दा बढी संगीत सृजना छन् । चलचित्र ‘कुमारी’मा चन्द्रराजको संगीत रहेको छ ।


शाश्त्रीय संगीतका गुरु यज्ञराज शर्माका छोरा चन्द्रराजपछि उनका छोरा सुदीपराज पनि संगीत विधामै छन् । राजा महेन्द्रले चन्द्रराजको शाश्त्रीय संगीत कौशल तथा ज्ञानका आधारमा नेपाल कला भुषण प्रदान गरेका थिए । चन्द्रराजको बिहीबार बिहान शिक्षण अस्पतालमा निधन भएको थियो ।

प्रकाशित : पुस ६, २०७४ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?