कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेशमा वनले सचिव सिफारिस गर्दै 

काठमाडौँ — वन तथा भूसंरक्षण मन्त्रालयले प्रदेशका वन तथा वातावरण मन्त्रालयको सचिवका लागि वरिष्ठ सहसचिवमध्येबाट सात जनाको नाम सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । 

प्रदेशमा वनले सचिव सिफारिस गर्दै 

मन्त्रालयले प्रदेश १ मा वन अनुसन्धान विभागका उपमहानिर्देशक यमप्रसाद पोखरेल, २ मा निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडका, ३ मा वन अनुसन्धान विभागका महानिर्देशक दीपक खराल, ४ मा भूसंरक्षण विभागका महानिर्देशक अखिलेश्वरलाल कर्ण, ५ मा मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शिव वाग्ले, ६ मा वनस्पति विभागका महानिर्देशक सञ्जीव राई र ७ मा तालिम प्रमुख राधा वाग्लेको नाम सिफारिस गर्ने तयारी गरेको छ ।


वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले वरिष्ठता र अनुभवका आधारमा सचिवका लागि उनीहरूको नाम सिफारिस गर्न लागिएको बताए । सामान्य प्रशासन मन्त्रालयले हरेक प्रदेशका लागि तीन जनाका दरले सहसचिवको नाम सिफारिस गर्न पत्राचार गरेको थियो । ‘सम्भवत: शुक्रबार प्रदेश मन्त्रालयका सचिवको नाम टुंगो लगाइनेछ,’ पौडेलले भने, ‘पहिलो चरणमा सचिव र केही वरिष्ठ उपसचिव खटाउने गरी नाम तय गरिनेछ ।’ वनका पाँचवटा क्षेत्रीय कार्यालयका कर्मचारीलाई पनि प्रदेशमा खटाइनेछ । संघ (केन्द्र) मा समेत वन मन्त्रालयअन्तर्गतका धेरैजसो विभाग कटौती हुने भएकाले तिनका सहसचिवलाई समेत प्रदेश मन्त्रालयमा खटाइनेछ । मन्त्रालयले प्रदेशमा काम गर्न तृतीय श्रेणीसम्मका इच्छुक कर्मचारीलाई निवेदन दिन पत्राचार गरेको थियो ।


अहिलेको वन तथा भूसंरक्षण, विज्ञान र जनसंख्या तथा वातावरण मन्त्रालयलाई गाभेर केन्द्रमा वन, विज्ञान तथा वातावरण मन्त्रालय बनाउने प्रस्ताव वन मन्त्रालयले सरकारलाई पेस गरिसकेको छ । प्रस्तावमा संघको मन्त्रालयमा वन, निकुञ्ज, वातावरण तथा जलाधार र जल तथा मौसम विज्ञान विभाग रहने प्रस्ताव गरिएको छ । प्रदेश मन्त्रालयमा भने वन विभाग मात्र रहने प्रस्ताव गरिएको छ । अहिले भएका जिल्ला वन कार्यालय भने हट्नेछन् ।


प्रकाशित : पुस ६, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?