१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, तीनजना गम्भीर घाइते

भरत जर्घामगर

लहान — सदरमुकाम सिरहा बजारस्थित मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटमा तीनजना घाइते भएका छन् ।

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, तीनजना गम्भीर घाइते

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार कार्यालय प्रमुखको कक्ष बाहिर लबिमा राखिएको सोफामूनी दिउँसो २ बजे बम विस्फोट भएको हो । प्रेसर कुकर बम विस्फोटमा पर्खालमा क्षति पुगेको छ । विस्फोटमा सिरहा नगरपालिका-११ का राजकुमार पासवान, रोशन र पवन पासवान घाइते भएका छन् । घाइतेको सिरहा अस्पतालमा उपचार गरिएको छ । अस्पतालका अनुसार घाइतेको अवस्था सामान्य छ । बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।


प्रमुख जिल्ला अधिकारीको निवाससँगै मालपोत कार्यालय छ । प्रहरी प्रमुख एसपी कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।


यसअघि मंसिर ८ गते जिल्लामा चुनावलाई लक्षित गरी प्रचारप्रसार सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको थियो । त्यतिखेर सिरहाको मिर्चैया-५ स्थित वाम गठबन्धनको चुनावी सम्पर्क कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भएन ।

चुनाव सकिएपछि मंसिर २८ मा लहानको मुख्यचोकमा मध्यान्ह बम विस्फोट भएको थियो । २४ सैं घण्टा सशस्त्र र नेपाल प्रहरी ड्युटीमा खटिने मुख्य चोकमा अपरिचित एक युवकले साइकलमाथि झोलामा राखेको अवस्थामा दिउँसो पौने १ बजे बम विस्फोट भएको थियो । तीनवटै बम विस्फोटमा प्रेसर कुकरको प्रयोग भएको छ । मिर्चैया र लहानको विस्फोटमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को अपिल फेला परेको थियो । अपिलमा ‘स्वतन्त्र तराई’को माग गरिएको छ ।

प्रकाशित : पुस ७, २०७४ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?