१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गाउँभर भुवा नाचको रौनक

बझाङ — ससाना नानीदेखि बयोवृद्धसम्मलाई नचाउने सुदूरपश्चिमकै प्रसिद्ध भुवा पर्वको रौनकले जिल्लालाई छपक्कै छोपेको छ । बाजागाजासहित नाचिने भुवा नाच्ने र हेर्नेको घुइँचोले गाउँको रौनक बेग्लै बनाएको हो ।

गाउँभर भुवा नाचको रौनक

कौरव र पाण्डवको युद्ध सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुसे औंसीका दिन मसाल (राँको) सल्काएर सुरु गरिन्छ । जिल्लाका विभिन्न गाविसका ८० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको छ । ढाल तरबारसहित युद्धकला प्रदर्शन गर्दै नाचिने यो पर्व मनाउन जिल्लाबाहिर तथा विदेशमा गएका पनि घर फर्किने गर्छन् ।

औंसीको दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर प्रत्येक व्यक्तिले हातमा राँको सल्काई नाच सुरु गर्छन् । राँको नहालीकन यसको सुरुवात भएको मानिँदैन ।

बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषले प्रदर्शन गरेको युद्धकला हेर्न भुवा पर्व नमनाएका गाउँका सर्वसाधारण छिमेकी गाउँमा रमिता हेर्न आउँदा भीडभाड अझ बढी भएको छविस पाथिभेरा गाउँपालिकाका जीवन रावलले बताए । गाउँमा जुठो परेको अवस्थामा भुवाको राँको बाल्न हुँदैन ।

युद्धको समयमा कौरव र पाण्डवबीचको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काेले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सो’ भन्ने गर्छन् । भुवाको विशेष आकर्षण चाली नाच, ठाडो भस्सो भारी खेलजस्ता नाच र गायन हुन् ।

भुवा पर्व सुरु भएको दुई दिन (अर्थात् औंसीको द्वितीया) लाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायत परम्परागत परिकार पकाउने र इष्टमित्र तथा आफन्तलाई टीको पिठाया (टीकाटालो) गरी शुभकामना आदानप्रदान गरिन्छ । पुस शुक्ल पूर्णिमाअगावै भुवा पर्वको विधिवत् समापन गर्ने चलन छ । भुवाका अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोका बलीसमेत दिइन्छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?