कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

सुर्खेत — वीरेन्द्रनगर १ मसुरीटोलकी सजना सुनारले पोहोर साल भाइ (काकाको छोरा) को हुनै लागेको विवाह रोकिन् । बालविवाहविरुद्ध स्वत:स्र्फूत अभियानको नेतृत्व गरिरहेकी उनको यस कदमबाट अभिभावकले चित्त दुखाए । काका र भाइसँग उनको अझै बोलचाल छैन । उनले आफ्नै पहलमा गाउँका ५ जोडीको विवाह रोकेको बताइन् । ‘तथ्यांक हेर्ने हो भने हाम्रो जिल्ला बालविवाह सबैभन्दा बढी हुनेमा पर्दोरहेछ,’ उनले भनिन्, ‘तथ्यांक सुन्दा लाज लाग्यो । कोही न कसैले अगुवाइ नगरे बालविवाह रोकिने देखिएन । जोखिम मोलेरै म लागेँ ।’

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

मसुरीटोल दलित बस्ती हो । अशिक्षा, गरिबी अन्यत्रको भन्दा यहाँ बढी छ । यही टोलकी सजनाले महिला हिंसा र जोखिममा परेका बालबालिकाको पक्षमा ‘भोलिन्टियर’ काम गर्ने साहस गरिन् । ९ जना विद्यालय छाडेका बालबालिकालाई पुन: विद्यालय फर्काउन उनी सफल भएकी छन् । सन् २०१३ मा स्ट्रोमा फाउन्डेसन र किर्डाक नेपालको सहयोगमा मसुरीटोल संवाद केन्द्र गठन भयो । उक्त टोलका १३ देखि १९ वर्षसम्मका किशोरकिशोरी आवद्ध भए । सजना एक्लैले गरिरहेको स्वयंसेवामा उनकै उमेरका दौंतरी जोडिन पुगे । ‘अवसर एकपटक आउँछ । त्यसलाई सही सदुपयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा आफ्नो रुचि हो । आउने बाधा व्यवधानलाई पार गर्न सहनशीलता चाहिन्छ ।’ बालविवाह, जातीय छुवाछूत, बहुविवाहलगायत सामाजिक कुरीतिविरुद्ध किशोरकिशोरी एकजुट भए । स्थानीय गैसस जागरण केन्द्र (स्याक) नेपालको पहलमा विद्यालय छाड्न सक्ने र छोडिसकेकालाई पनि समेटेर सामाजिक कार्यका लागि किशोरकिशोरी एनिमेटर तथा युवाको सञ्जाल (आशा) गठन भयो ।

सजनाजस्तै सञ्जालमा आवद्ध किशोरकिशोरी सामाजिक कुरीतिविरुद्ध आक्रामक अभियान चलाएका छन् । आशाकै पश्चिम घाटगाउँका अमर विकले भाइ (ठूलाबुवाको छोरा) को बिहे रोक्दाको अनुभूति सुनाए । ‘धनगढीबाट दुलही ल्याएको थियो । ऊ १५ वर्षको थियो । मेरै पहलमा रोकें । अहिलेसम्म बोल्दैन,’ अमरले भने । अभिभावक र दलका स्थानीय नेताले समेत सकारात्मक सहयोग नगरेको गुनासो उनले पोखे । प्रहरी, अभिभावक र नेताको मिलेमतो आफूहरूको अभियानका लागि बाधक बनेको अमर बताउँछन् । आशा सञ्जालका जिल्ला कोषाध्यक्ष गीता बोहराले आफूहरूले पूर्ण सरसफाइ, पूर्ण खोपयुक्त, छाउपडीमुक्त गाउँ घोषणा अभियानै सञ्चालन गरेको बताइन् । गुटु र बाबियाचौरलाई छाउपडीमुक्त घोषणाका लागि गाउँका ९४ छाउगोठ भत्काएको अमरले जानकारी दिए ।

जिल्लामा २१ संवाद केन्द्र र ३४ बाल बगंंैचा छन् । संवाद केन्द्रमा जीवनयोपगी सीप, आत्मजागरण, आत्मअनुभूति, अन्तरव्यक्ति सम्बन्ध, समालोचनात्मक निर्णय, तनावपूर्ण स्थितिको सामना,

संवेग नियन्त्रणलगायतका विधिबारे किशोरकिशोरीले छलफल गर्ने गर्छन् ।

प्रकाशित : पुस ८, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?