कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पैतृक सम्पत्तिमा संयुक्त पुर्जा

संविधानमै संयुक्त जग्गाधनी पुर्जाको व्यवस्थासँगै अभियानले तीव्रता पायो

रुकुम (पश्चिम) — आठबिसकोट नगरपालिका ११ की विमला कामी अहिले फुरुङ छिन् । घरपरिवार र पतिको विश्वासमै रहेकी विमला असार २२ गतेयता असाध्य खुसी देखिन्छिन् । पतिको नाममा रहेको पैतृक सम्पत्तिमा अब उनको पनि समान हक भएको छ । त्यसअघि कुरामा मात्रै समान हक भए पनि अब वास्तविक हक पाएकी छन् । असार २२ गतेपछि विमला र उनका पति लालवीरको पैतृक सम्पत्तिमा समान हक स्थापना भएको छ ।

पैतृक सम्पत्तिमा संयुक्त पुर्जा

मालपोत कार्यालयबाट संयुक्त जग्गाधनी पुर्जा बनाएपछि विमला पनि पैतृक सम्पत्तिकी मालिक बनिन् । ‘मैले सोचेकै थिएन, पतिले जिल्ला जाउँ भन्नुभयो, गयौं र हाम्रो भएको जति सबै सम्पत्ति दुवैको नाममा बनायौं,’ उनले भनिन्, ‘अब पतिको नाममा रहेको सम्पत्तिको पुर्जामा उहाँको मात्रै नाम छैन माल कार्यालयबाट मेरो नाम पनि थपेर पुर्जा दिएको छ ।’ यसअघि विश्वासले मात्रै घर बसेको उनले बताइन् । ‘बिहे भयो, छोराछोरी भए त्यही विश्वासका आधारमा मेरो घर, मेरो बारी भन्थेँ । कागजी रूपमा बिहे दर्ता र विश्वासबाहेक अन्य कुनै मेरो नाममा थिएन,’ उनले भनिन्, ‘अब म पनि भए जति घरजग्गाको पक्का मालिक भएकी छु ।’

उनले पति र छोराछोरीलाई विश्वास मानेकी छन् भने पैतृक सम्पत्तिलाई अधिकार मानेकी छन् । लालवीरले पनि जिल्लामा सबैभन्दा पहिला संयुक्त जग्गाधनी पुर्जा बनाउन पाएकामा खुसी जनाए । बिहेपछि एक छोरा र एक छोरी भइसकेको भन्दै उनले पैतृक सम्पत्तिमा पत्नीको अधिकार समान भएकाले दुवैको नाममा पुर्जा बनाएको बताए । ‘हामी एकअर्काबिना रहन सक्दैनौं भनेरमात्रै हुँदैन,’ लालवीरले भने, ‘भएको सम्पत्ति दुवैको समान हक होस् भनेर यो निर्णय गरेको हुँ ।’

आठबिसकोट ९ का गोकर्णकुमार र निर्मला चन्दले पनि संयुक्त जग्गाधनी पुर्जा बनाएका छन् । मंसिर २८ गते जिल्ला मालपोत पुगेर गोकर्णले आफ्नो नाममा भएको पैतृक सम्पत्ति श्रीमती निर्मलाको नाममा पनि बनाए । एकल जग्गाधनी पुर्जा भएका गोकर्ण अब संयुक्त धनी भएका छन् । संविधानमा व्यवस्था भएको कुरा कार्यान्वयन गरिएको गोकर्णले बताए । नारामा मात्रै सीमित भएको समान अधिकारलाई आफूले कार्यान्वयन गरेको उनको बुझाइ छ । ‘हामीले कुरामात्रै होइन, व्यवहारमा पनि समान अधिकार बनाऔं भनेर संयुक्त पुर्जा बनायौं,’ उनले भने, ‘यसले श्रीमान्श्रीमतीबीचको आपसी विश्वासको दायरामात्रै बढाएको छैन, थप जिम्मेवार बनाएको महसुस भएको छ ।’

जिल्लामा यसरी संयुक्त जग्गाधनी पुर्जा लिने कामी र चन्द दम्पतीमात्रै होइन । मालपोत कार्यालयका अनुसार कामी र चन्दको जोडीबाहेक अन्य आठ जोडीले संयुक्त पुर्जा बनाइसकेका छन् । मालपोतका अनुसार संयुक्त पुर्जा लिनेमा अधिकांश आठबिसकोट नगरपालिकाका छन् । मालपोत अधिकृत मोहनप्रकाश गिरीले संविधान तथा कानुनमै संयुक्त जग्गाधनी पुर्जाको व्यवस्था गरेकाले संयुक्त दर्ता प्रमाण लिने बढदै गएको बताए । कानुनले तोकिएबमोजिमका कागजात र मालपोत कार्यालयमा एक सय रुपैयाँ तिरेको रसिद भएपछि केही समयमै संयुक्त जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी हुने मालपोत अधिकृत गिरीले जानकारी दिए । उनले छोटै समयमा दस जोडीले संयुक्त पुर्जा बनाउनु भनेको उल्लेख संख्या भएको बताए । संयुक्त प्रमाण पुर्जा जारी कार्य विधि २०७४ मा संयुक्त जग्गाधनी दर्ता प्रमाण पुर्जा लिनका लागि श्रीमान्श्रीमती दुवैको नागरिकता, बिहे दर्ता, फोटो, मालपोत कर तिरेको रसिद र सम्बन्धित वडाको सिफारिससहित दम्पती नै मालपोतमा पुग्नुपर्ने व्यवस्था छ ।

जिल्लाको बाँफिकोट गाउँपालिकाले नीति तथा कार्यक्रमको १५ नम्बर बुँदामा महिला सशक्तीकरणका लागि संयुक्त पुर्जा बनाउने प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । पैतृक सम्पत्तिमा महिलाको सहज पहुँच होस् भनेर यसलाई नीति तथा कार्यक्रममै उल्लेख गरिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।


प्रकाशित : पुस ८, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?