निमावि सकेपछि मजदुरी

बालश्रम

तमानखोला (बागलुङ) — कक्षा ७ पछि तमानखोला ६, नर्जाखानीकी मीना सिर्पालीको अगाडिको पढाइ बन्द भएको छ । उनी बाबुआमासँगै मेलापात र ज्याला मजदुरीमा हिँड्न थालेकी छन् ।

निमावि सकेपछि मजदुरी


मावि तह पढ्न गाउँमा विद्यालय छैन । चार घण्टा परको खुंखानीमा डेरा लिएर पढ्न उनको आँट पुगेन, खर्च धान्न नसक्ने पीरले अभिभावकले पनि उनलाई डेरामा राखेर पढाउन सकेनन् ।

‘टाढा गएर पढ्न सकिँदैन, बुवाआमाले खर्च हाल्न पनि सक्नुहुन्न,’ सिर्पालीले भनिन्, ‘गाउँका धेरै साथी पनि ७ कक्षा पास गरेपछि पढाइ छाडेर नोकरी खोज्न हिडेका छन् ।’ केटाहरू रोजगारीका लागि भारत र खाडी मुलुक जाने गर्छन् भने अधिकांश केटीको १५ देखि १६ वर्षको हुँदाहुँदै विवाह भइसक्ने उनले बताइन । विवाह नगरेका केटीहरूको समय भने मेलापातमै बित्ने गरेको छ ।

सानो गोरेटोले मात्र छोएको यो गाउँमा पुग्न सदरमुकामबाट सजिलो छैन । ‘यहाँका मान्छेले दुई छाक मीठो खान पनि गाह्रो छ, कसरी छोराछोरी पढाउँछन्,’ वडाध्यक्ष कुलबहादुर छन्त्यालले भने, ‘भूगोलले ठगेकोले हामीलाई शिक्षा र स्वास्थ्यमा धेरै समस्या छ । गाउँमा एउटा माध्यमिक विद्यालय बनाउन आवश्यकता परेको छ ।’ नजिक भनेको ४ घण्टा पैदल हिँडेर खुंखानीस्थित शान्ति माविमा पुग्नुपर्ने उनले बताए । नर्जाखानी गाउँ सदरमुकाम बागलुङबाट १ सय ४० किमि पश्चिम–उत्तरमा पर्छ । यहाँका विद्यार्थी उच्चमावि पढ्न एक दिन पैदल हिँडेर बुर्तिवाङ पुग्ने गरेका छन् ।

तमानखोला–६ को नर्जाखानी, पात्ले र भित्रिवन क्षेत्रका चार सय घरपरिवारका बालबालिकाले यस्तो समस्या वर्षौंदेखि भोग्दै आएका हुन् । गाउँमा रहेका दुई प्रावि र विष्णु निमाविमा पनि शिक्षक पर्याप्त छैनन् । तर, सदरमुकाम पुग्नै दुई दिनको समय र खर्च लाग्ने भएकाले गाउँलेले शिक्षक र विद्यालयको माग गरेका छैनन् । ‘सदरमुकाम पुगेर केही माग गर्नुपर्दा कम्तीमा १० हजार खर्च हुन्छ,’ स्थानीय प्रेमदेवी विकले भनिन्, ‘हाम्रा छोराछोरीले पढेर पनि जागिर पाउने होइनन्, हामीले ज्याला मजदुरी नगरी खान पाइँदैन । को जाओस् सदरमुकाम ।’ गाउँका अधिकांशले भारी खेप्ने र मजदुरीकै भरमा जीवन गुजारा गरेको उनले बताइन् ।

जिल्ला शिक्षा कार्यालयले यी गाउँमा पनि शतप्रतिशत बालबालिका विद्यालय भर्ना गराउने अभिायन सञ्चालन गरेको सदरमुकाममा आयोजित कार्यक्रममा बताउने गरेको छ । तर, नाम मात्र लेखाएर स्कुल छाड्ने दर उच्च रहेको अभिभावकको भनाइ छ ।

विद्यालय जानै समस्या, भर्ना भएकाहरू पनि छाड्ने दर बढी भएकाले जिल्ला शिक्षाको तथ्यांक प्रभावकारी नभएको शिक्षकहरूकै भनाइ छ । ‘भर्ना भए पनि बाध्यताले बालबालिका आउन सक्दैनन्,’ शान्ति माविका प्रधानाध्यापक लालबहादुर छन्त्यालले भने, ‘प्राथमिक तहलाई अनिवार्य भने पनि मावि तहलाई अनिवार्य भनेर हामीले ल्याउन सकेका छैनौं ।’

निमावि तह पूरा गर्दा यहाँका अधिकांश बालबालिकाको उमेर १६ देखि १८ पुगिसकेको हुने उनले बताए । ‘त्यसपछि उनीहरू रोजगारीको खोजी अरू जिल्ला र विदेशतिर जान्छन्,’ उनले भने, ‘विद्यालयमा ल्याउने र टिकाउने गर्न सजिलो छैन ।’

प्रकाशित : पुस ८, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?