१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कहिले बन्छ अरुणमा पुल ?

कामै नसकी ठेकेदार हिँडे

संखुवासभा — सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार हिँडेपछि पुल बेवारिसेजस्तै बनेको हो ।

कहिले बन्छ अरुणमा पुल ?

०७२ असोजमा निर्माण सक्नुपर्ने एक सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलरमात्रै उठाउने काम भएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरबाहीले निर्माण तीव्र गतिमा हुन नसकेको हो ।

पाँच वर्षअगाडि सम्झौता भएको पुल अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार दुई वर्षअघि नै निर्माण सक्नुपर्ने हो । समयमै पुलको काम नसक्दा स्थानीय काठको डुंगामा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

षडानन्द नगरपालिकाका पासाङ शेर्पाले पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपरेको गुनासो सुनाए । डुंगाबाट मोटरसाइकल तार्ने पनि गरिन्छ । दिंलाबाट खाँदबारी आउनेले अरुणमा पुल नभएपछि २ सयसम्म तिरेर मोटरसाइकल तार्छन्, उनले भने, ‘वर्षाका बेला खोला बढ्यो भने घण्टांै कुर्नुपर्छ । नभए खाँदबारीतिरै फर्केर जानुपर्छ ।’ ठेकेदारले तीन वर्षअघि पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको कारण देखाउँदै काम गर्न छाडेको स्थानीय प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयले पनि पुलमा चासो नदिएको शेर्पाले बताए । यो पुल बने भोजपुरका २० गाउँका सर्वसाधारणलाई आउजाउमा सहज हुने थियो । भोजपुरका उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । यहाँबाट होलसेलमा लगिएको दैनिक उपभोग्य सामग्री पनि डुंगाबाट तार्दा महँगो भएको दिंलाका दमन कटुवालले बताए । डुंगाबाट सामान तार्दा प्रतिकिलो ५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने उनले जनाए । ‘पुल बनिदिए खाँदबारीबाट सीधा दिंला यातायात चल्थ्यो,’ उनी भन्छन्, ‘अहिले पुरवारि एउटा र पारि अर्को गाडी फेरेर जानुपर्छ ।’

दिंलावासी पटकपटक तुम्लिङटारस्थित सडक डिभिजनमा गुनासो लिएर आए पनि कर्मचारीबाट सुनुवाइ नभएको स्थानीय प्रेमबहादुर श्रेष्ठले बताए । उनका अनुसार पुल छिटो पूरा गर्न भन्दै ५ पटक स्थानीयले कार्यालयमा धर्ना दिइसके । ०६४ पछि बनेको हरेक सरकारमा भोजपुरका नेताले विकासे मन्त्रालय सम्हालेका छन्, उनले भने ।

०७० को संविधानसभा निर्वाचन र ५ महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि दलहरूले एउटै प्रतिबद्धता जनाएको सम्झँदै उनले भने, ‘त्यो प्रतिबद्धता थियो, ०६७ बाट अलपत्र संखुवासभा–भोजपुर जोड्ने अरुण नदीको पक्की पुल सम्पन्न गर्ने । तर, जितेर गएका नेताले अहिलेसम्म बाचा पूरा गरेनन् । यसपटक जिताएकाको पनि पहिलो एजेन्डा यही पुललाई बनाएका छन् ।

हरेकपटक नेताहरू भोट माग्न आउँदा चर्का भाषण र चिप्ला आश्वासन बाँडेर जाने गरेको नेताले यो पुल बनाउन दबाब दियोस् । सम्झौता सकिएपछि बाँकी काम बीचमै छाडेर ठेकेदार हिँडेपछि पुल बन्छ कि बन्दैन चासोको विषय बनेको छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?