कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा नेपाली अधिकारकर्मी पक्राउ

१८ घण्टा नियन्त्रणपछि बैंकक फर्काइए कट्टेल

काठमाडौँ — बैंककस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत एक नेपालीलाई भारतीय प्रहरीले भारतको तामिलनाडुस्थित त्रिची विमानस्थलबाट पक्राउ गरी १८ घण्टा नियन्त्रणमा राखेर बैंकक फर्काएको छ ।

भारतमा नेपाली अधिकारकर्मी पक्राउ

तामिलनाडुमा बिदा मनाउन मंगलबार राति बैंककबाट त्रिची विमानस्थल पुगेका फोरम एसियाका निर्देशक मुकुन्दराज कट्टेललाई प्रहरीले नाटकीय ढंगले पक्राउ गरी हिरासतमा राखेको हो । त्यसबीच उनलाई परिवारसँगसमेत सम्पर्क गर्न दिइएको थिएन ।


भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले उनी पक्राउ परेको सार्वजनिक गरेपछि दिल्लीस्थित नेपाली दूतावासले चासो देखाएको थियो । दूतावासले उनी पक्राउ पर्नुको कारण अझै पत्ता लगाउन सकेको छैन । कट्टेल भिसा नभएका कारण पक्राउ परेको भनिए पनि यथार्थ फरक रहेको जानकारी त्यहाँको प्रहरी प्रशासनले दिएको दूतावास अधिकारीले बताए । नेपालीलाई भारतमा भिसा आवश्यक पर्दैन । तर पाकिस्तान र चीनबाट भारत सिधा उडान गर्दा भने भिसा खोज्ने गरिएका घटना छन् ।


बैंककबाट जानेलाई यसरी भिसा खोज्नुपर्ने कारण नभएको उल्लेख गर्दै थाइल्यान्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीले कान्तिपुरसँग भने, ‘अन्य कुनै कारण होला । भिसाका कारण रोकेको वा थुनामा राखेको पक्कै होइन ।’ भारतमा पनि लामो समय कार्यवाहक रहेका राजदूत अधिकारीले यस्तो समस्या यसअघि नसुनेको बताए । मानव अधिकारसम्बन्धी उक्त संस्थामा कार्यरत भएकैले उनी भारतको ‘वाच लिस्ट’ मा रहेको स्रोतले उल्लेख गरेको छ । भारतका लागि कार्यवाहक राजदूत भरतकुमार रेग्मीले उनको पक्राउबारे अनौपचारिक रूपमा बुझ्ने काम भइरहेको बताए । उनले टेलिफोनमा भने, ‘समाचारमा आएदेखि नै आफ्नो तबरबाट बुझ्ने काम गरिरहेका छौं । वास्तविकता अझै स्पष्ट हुन सकेको छैन । औपचारिक रूपमा बुझ्छौं ।’ कट्टेल २० वर्षदेखि मानव अधिकार क्षेत्रमा कार्यरत छन् । नेपालमा रहँदा उनी डेनिस इन्टरनेसनल विकास एजेन्सीमा मानव अधिकार तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार थिए ।


कट्टेल कान्तिपुरसँग सम्पर्कमा आएनन् । उनी कार्यरत संगठनले भने ‘भारतको नियत’ प्रति दु:ख व्यक्त गर्दै नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धिलाई उसले अपमान गरेको जनाएको छ ।


प्रकाशित : पुस ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?