मापदण्डविपरीत कफी सप

रानीपोखरी पुनर्निर्माण
-बनाएरै छाड्छु : मेयर शाक्य
-गैरकानुनी निर्माण रोक्छौं : पुरातत्त्व विभाग
-सम्पदा मासिन दिँदैनौं : स्थानीय बासिन्दा

काठमाडौँ — रानीपोखरीमा कंक्रिट हालेर काम थालेपछि त्यसलाई रोक्न माग राख्दै सम्पदाप्रेमी महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न गए । शाक्यले सजिलै भेट दिएनन् । कहिले महानगर आउनू भने । कहिले राष्ट्रिय सभागृहमा बोलाए । सभागृहमा पनि घण्टौं कुराएपछि आज समय छैन, भोलि आउनुस् भने । सम्पदाप्रेमीले ठूलै कसरत गरेर मेयर शाक्यलाई भेटे । शाक्यले गुनासा सुने । अनि जवाफ दिए– ‘मैंले सबै प्राविधिक कुरा बुझेको छैन । पुरातात्त्विक मापदण्ड मिचिएको रहेछ भने रोक्छु । तर यहाँ कफी सप चाहिँ बनाएरै छाड्छु ।’

मापदण्डविपरीत कफी सप


‘कफी सप बनाउनु नै मापदण्ड मिच्नु हो,’ पोर्चुगलबाट सम्पदामा विद्यावारिधि गर्दै गरेकी मोनालिसा महर्जनले मेयर शाक्यलाई भनिन्, ‘मापदण्ड मिचिएको भए कारबाही गर्छु पनि भन्नुहुन्छ । कफी सप पनि बनाउँछु भन्नुहुन्छ । सम्पदामा नयाँ संरचना बनाएपछि त यो जोगाएकै भएन । मासेको पो भयो । बनाउने भन्दै महानगरले सम्पदा मास्न लागिरहेको छ ।’

‘धार्मिक स्थलमा अब पर्यटक भित्र्याउने हाम्रो सोच छ,’ मेयर शाक्यले भने, ‘पुरानो मात्रै भनेर हुँदैन । बाबुबाजेले जे गरेका थिए, त्यही गर्छु भनेर हुँदैन । आधुनिकता स्विकार्नु पर्छ । जे नयाँ बनायो, त्यही संस्कृति हो । पहिला राष्ट्रिय सभागृह छेउको यो भवन थिएन । सार्कका बेलामा यसको निर्माण भयो । निर्माण भएपछि यही संस्कृति भयो ।’


‘धार्मिक स्थलमा पर्यटक लानुपर्छ । पर्यटकीय स्थल बनाउनुपर्छ । आम्दानीको स्रोत बनाउनुपर्छ । यसमा हामी पनि सहमति जनाउछौं । हामीले चाहेको पनि त्यही हो,’ रानीपोखरीको विनाश रोक्न माग गर्न गएका पुरातत्त्वविद् तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका हिस्ट्रिकल आर्कोलोजिस्ट सुदर्शनराज तिवारीले भने, ‘तर पर्यटक लैजाने मौलिकता मासेर होइन, मौलिकता जोगाएर पर्यटक लानुपर्छ । मौलिकता जोगायो भने पर्यटक झन् आकर्षित हुन्छन् । मौलिकता हेर्न आउँछन् ।’


‘रानीपोखरीमा को कफी खान जान्छ ? यहाँ त मन्दिर हेर्न जाने हो । पोखरी हेर्न जाने हो । कफी सप त बाहिर बनाए भैगयो नि,’ सम्पदा बचाउ अभियान चलाइरहेका आलोकसिद्धि तुलाधारले भने, ‘ताज महलमा कति धेरै पर्यटक जान्छन् ? त्यहाँभित्र कफी सप छ ? छैन । बाहिर बनाइएको छ । आधुनिकीकरणका नाममा सम्प्दामा मनपरी गर्न पाइँदैन ।’


महानगरले रानीपोखरीमा धमाधम पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट मिसाइरहेको छ । त्यति मात्रै होइन, पोखरी नै साँघुरो बनाएर पर्खाल लगाइरहेको छ । पुरातत्त्व विभागको स्वीकृति नलिई रानीपोखरी मिचेर कंक्रिट प्रयोग गरेको पाइएको छ । महानगरले पोखरीको सीमाबाट झन्डै १५ फिट परसम्म धमाधम पर्खाल लगाइरहेको छ । ‘यो हामीले स्वीकृति दिएका होइनौं,’ रानीपाखरीको निरीक्षण गर्न आएका विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरेले भने, ‘पोखरीको ब्युटिफिकेसन गर्न स्वीकृति दिएका हौं, तर पोखरी मिचेर पर्खाल लगाउन र कंक्रिट प्रयोग गर्न स्वीकृति दिएका छैनौं ।’


विभागले महानगरसँग ड्रइङ डिजाइन माग्ने र गैरकानुनी निर्माण रोक्ने प्रतिबद्धतासमेत जनाएको छ । यसको पुनर्निर्माणको ठेक्का वल्र्डवाइड कँडेल केनकेभी जेभीले पाएको छ । रानीपोखरीमा पहिला पनि यही ठेकेदार कम्पनीले कंक्रिट मिसाएको थियो । २ वर्ष पहिला नै यसको निर्माणको ठेक्का पाएको थियो । स्रोतका अनुसार काम छिटो सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी महानगरले गरेको थियो । ‘कालोसूचीमा पर्ने थाहा पाएपछि काम देखाउन हतार–हतार काम अघि बढायो । अहिले डोजरले धमाधम पोखरी खनिरहेको छ । ‘पहिला पनि सम्पदा मास्ने ठेकेदार यही हो,’ सम्पदा जोगाउ अभियानका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘ठकेदारलाई सम्पदाको जिम्मा दिँदा यही समस्या हुन्छ । हामीले ठेक्कामा भन्दा ज्यालामा काम दिनुपर्छ भनेर आवाज उठाएको यही भएर हो ।’


महानगरका मेयर शाक्यले गैरकानुनी निर्माण भएको थाहा पाए रोक्ने आश्वासन दिएका थिए । तर काम भने नरोकिएको सम्पदाप्रेमीको गुनासो छ । ‘रोक्छु भन्नुभएको थियो,’ सेभ हेरिटेज अभियानका आलोकसिद्धि तुलाधरले भने, ‘झन् रातारात काम भइरहेको छ । सम्पदामा डोजर चलाइएको छ । हाम्रा मेयर सम्पदाप्रति संवेदनशील हुनुहुन्न भन्ने हामीलाई लागेको छ ।’


प्रकाशित : पुस ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?