२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

किस्टका कर्मचारी आन्दोलनमा

ललितपुर — किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्कोमा कार्यरत नर्सलगायत कर्मचारीले कलेज व्यवस्थापनले माग सुनुवाइ नगरेको भन्दै आन्दोलन थालेका छन् ।

किस्टका कर्मचारी आन्दोलनमा

अस्पतालको विनियमावली श्रम ऐनअनुसार हुनुपर्ने, तलबभत्ता समयानुकूल वृद्धि, औषधि उपचार, जोखिम भत्ता नपाएको र अस्पतालमा ठेकेदारमार्फत कर्मचारी आपूर्ति बन्द गर्नुपर्नेलगायत १५ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । अस्पतालको ओपीडी र प्रशासन सेवा ९ दिनयता ठप्प छ । मागका सम्बन्धमा अस्पताल प्रशासन र कर्मचारीबीच २ वर्ष अघि सेवासुविधा वृद्धिका लागि सम्झौता भएको थियो । माग सुनुवाइप्रति ६ महिनादेखि व्यवस्थापनलाई ध्यानार्कषण

गराउँदा पनि चासो नदिएकाले कडा रूपमा प्रस्तुत भएको आन्दोलित कर्मचारीहरू बताउँछन् ।

कर्मचारीले शुक्रबार अस्पताल परिसरमा नाराबाजी गरे । ओपीडी र प्रशासन सेवा ठप्प हुँदा आएका बिरामी उपचारै नगरी फर्कन बाध्य भए । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ किस्ट अस्पतालका अध्यक्ष रूपेश केसीले अस्पताल प्रशासनले पटकपटक माग पूरा गरिदिने आश्वासन दिए पनि कार्यान्वय नगरेको बताए । अस्पतालमा डाक्टर र प्रोफेसरबाहेक ३ सय ७५ कर्मचारी छन् । २०७२ असारबाट प्रत्येक कर्मचारीको मासिक तलबबाट १.५ र व्यवस्थापनबाट १ प्रतिशत रकम बेहोर्ने गरी कल्याणकारी कोष खडा गरिएको थियो । कोषमा जम्मा भएको रकमबारे कर्मचारी अनविज्ञ रहेको संघकी सचिव सुस्मिता कट्टेल बताउँछिन् । भन्छिन्, ‘जागिर छोडेर जाने कर्मचारीसमेत उक्त कोषको रकम फिर्ता दिएनन् ।’ अस्पतालका वरिष्ठ प्रशासक अक्षयप्रसाद गौतमले कर्मचारीको माग कलेजमा हुने विद्यार्थी भर्नासँग सम्बन्धित रहेको दाबी गरे । ‘माग जायज छ,’ उनले भने, ‘सरकारले विद्यार्थी भर्ना ९० सिटमा सीमित र विद्यार्थीबाट उठाइने शुल्कमा कडाइ गर्दा आम्दानी कम भएकाले माग पूरा गर्न नसकिएको हो ।’ उनले कलेजले १ सय ५० विद्यार्थी भर्ना गरी सञ्चालन गर्न सके मात्र कर्मचारीको माग पूरा गर्न सकिने बताए ।

प्रकाशित : पुस ८, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?