कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ को नाम मिथिला राख्न माग

राजविराज — प्रदेश २ को नाम मिथिला राख्नुपर्ने र प्रदेशको सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने मागसहितको १३ बुँदे राजविराज घोषणापत्र जारी गर्दै १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शनिबार सकिएको छ ।

प्रदेश २ को नाम मिथिला राख्न माग

सम्मेलनले नेपालमा शाहवंशको प्रादुर्भावसँगै मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई विस्थापित गरी एउटै भाषा एउटै भेष लाद्ने नीति ल्याइएको निष्कर्ष पनि निकालेको छ ।


प्रदेश २ मा बहुसंख्यक व्यक्तिद्वारा मैथिली भाषा बोलिने भए पनि भोजपुरीसहित अन्य भाषा पनि मातृभाषाका रूपमा बोलिने भएकाले तिनलाई पनि सम्मानजनक अधिकार दिन सम्मेलनले माग गरेको छ । यस्तै प्रदेश १ मा पनि मैथिलीभाषीको संख्या बहुसंख्यक रहेकाले उक्त प्रदेशमा पनि सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने, मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण र संवद्र्धन गर्दै झापादेखि वीरगन्जसम्म मिथिला पर्यटन क्षेत्र घोषणा गर्नसमेत सम्मेलनले माग गरेको छ ।


प्रदेश १ र २ का मैथिलीभाषी क्षेत्रमा अनिवार्य रूपमा मातृभाषा मैथिलीका माध्यमबाट आधारभूत शिक्षा दिइनुपर्ने सँगै उच्च शिक्षामा समेत अनिवार्य विषयका रूपमा मैथिलीको पठनपाठनको बाध्यात्मक व्यवस्था गर्नसमेत सम्मेलनले माग गरेको छ । मैथिली भाषा नेपालको सर्वाधिक बोल्ने दोस्रो भाषा हो ।


यसको साहित्य र सांस्कृतिक परम्परा आफैं समृद्ध रहेकाले संघीय, प्रादेशिक र स्थानीय तहको सेवा आयोग परीक्षामा यस भाषालाई मान्यता दिनसमेत सम्मेलनले आग्रह गरेको सम्मेलन आयोजक समितिका संयोजक शुभचन्द्र झाले जानकारी दिए ।


यस्तै, संघीय सरकार र सरकारी निकायमा मैथिलीलाई दोस्रो राजकाजको भाषाका रूपमा मान्यता दिन, मैथिली एकेडेमी स्थापना गर्न, मिथिलाक्षर (तिरहुतिया लिपि) को संरक्षण पहल गर्न पनि सम्मेलनले माग गरेको छ ।


नेपालको राष्ट्रिय अभिलेखालयमा संरक्षित मैथिलीको प्राचीन पाण्डुलिपिको अध्ययन र अनुसन्धानका लागि शोधवृत्तिको घोषणा गरी केन्द्र, प्रदेश र स्थानीय तहद्वारा कोष स्थापना गर्न, मैथिली भाषामा निर्माण हुने साना तथा ठूला पर्दाको चलचित्रलाई करमुक्त गर्न, मैथिली भाषाको फिल्म निर्माण र सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी अनुदानको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

प्रकाशित : पुस ९, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?