आमाको नाममा नागरिकता लिन अझै समस्या

संविधानले आमाको नामबाट पनि नागरिकता दिनू भने पनि प्रमुख जिल्ला अधिकारीहरू तर्कन्छन्
फातिमा बानु

काठमाडौँ — संविधानले आमा वा बुवा नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता पाउन सकिने व्यवस्था गरे पनि आमाको नामबाट नागकिता लिन अझै असहज छ । विराटनगरकी २५ वर्षिया एक युवतीकी आमालाई (हाल काठमाडौंवासी) उनी गर्भमै छँदा बाबुले छाडे ।

बाबुको नागरिकताको प्रमाणपत्र नहुँदा उनले हालसम्म नागरिकता बनाउन सकेकी छैनन् । ‘बाबाममीको प्रेमविवाह भएको रे, ममीलाई घरमा नस्विकारेपछि बाबाले हामीलाई छाडेर हिँडेछन्,’ उनले भनिन् । उनकी आमा नेपाली नागरिक हुन् तर जिल्ला प्रशासनले बाबुको नागरिकताबिना नागरिकताको सिफारिस नदिएको उनले सुनाइन् ।

Yamaha

उच्च शिक्षा लिएर आमा र आफ्नो भविष्यका लागि अघि बढ्ने उद्देश्य लिएकी ती युवतीलाई नागरिकता नै समस्या तगारो भएको छ । ‘मैले आमाको नामबाट नागरिकता मागेको धेरै भयो, जिल्लामा धेरै सीडिओ परिवर्तन भए तर कसैले नागरिकता दिएनन्,’ उनले भनिन्, ‘नागरिकताबिना कलेजले भर्ना लिन मानेको छैन ।’ प्रशासनबाट नागरिकता बन्न नसकेपछि उनले सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनको मुद्दा अदालतमा विचाराधीन छ । अन्तरिम संविधानले नै आमाको नाममा नागरिकता दिने व्यवस्था गरेको थियो । नयाँ संविधानमा पनि यसलाई निरन्तरता दिइएको छ । संवैधानिक व्यवस्थाका बाबजुद स्थानीय तहले सिफारिस गर्दा नै बाबु खोज्ने गरेको पीडितहरू सुनाउँछन् । विशेष गरी एकल महिलाका सन्तान, बाबु बेपत्ता भएको व्यक्ति, बलात्कारबाट जन्मिएका बालबालिकाले आमाको नामबाट नागरिकता लिन पहल गरिरहेका छन् ।

नागरिकता नहुँदा स्कुल तहसम्मको मात्रै शिक्षामा सीमित हुनुपर्ने, अंश नपाउने, सीप हुँदाहुँदै पनि जागिर नपाउने, पाइहाले पनि कार्यालयले नागरिकताबिना नियुक्ति दिन नमान्नेजस्ता समस्या भोगरिहको प्रभावितहरू सुनाउँछन् । भारतमा जन्मिएकी सिर्जना (नाम परिवर्तन) का आमाबाबु नेपाली हुन् । बाबुको भारतमा रोजगारीमै मृत्यु भएपछि उनी आमासँगै नेपाल फर्किइन् । परिवारले आमाछोरीलाई स्विकारेका छैनन् । सम्पतिको अंश दाबी गर्ने उद्देश्यले नागरिकता मागेको भन्दै परिवारले घरबाट निकालिदिएको उनले सुनाइन् । आमाको नगारिकता लिएर सिफारिस माग्दा प्रशासनले अपशब्द प्रयोग गरेको उनको दुखेसो उनले पोखिन् । ‘हामीसँग बुबाको नागरिकता छैन, उहाँको नागरिकताबिना म पनि राज्यबिहिन हुनुपरेको छ ।’ हाल उनी पनि नगारिकता प्राप्तीका लागि सर्वोच्च अदालत धाइरहेकी छिन् ।

अधिवक्ता मीरा ढुंगाना कानुनले पितृसत्ता हटाउनेखाले व्यवस्था ल्याएता पनि कर्मचारीतन्त्रबाट यस्तो मानसिकता हट्न नसकेका कारण समस्या भएको बताउछिन् । ‘आमाको नामबाट नागरिकता नदिनुको कारण पनि यही हो,’ उनले भनिन् । सर्वोच्च अदालतले बुबाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ । व्यवहारमा भने यो नियम लागू हुन नसक्दा नागरिकता प्रभावित व्यक्ति अन्यायमा परिरहेको अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए । ‘संविधानले आमाको नाममा नागरिकता दिने स्पष्ट व्यवस्था गरेको छ, स्थानीय तहले कार्यान्वयन नगर्दा पीडितहरू अदातल धाउन बाध्य छन्,’ उनले भने । ०६८ को जनगणनाअनुसार नेपालमा ८ लाख ९६ हजार ८ सय बालबालिका आमासँग मात्र बस्छन् । एक अध्ययनले २०६८ असार मसान्तसम्म नेपालमा १६ वर्ष वा सोभन्दा माथि उमेरका ४३ लाख ४६ हजार ४६ व्यक्तिसँग नागरिकताको प्रमाणपत्र नरहेको देखाएको थियो ।

Esewa Pasal

प्रकाशित : पुस ९, २०७४ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

समयमा किन छुट्दैनन् बस ?

कान्तिपुर संवाददाता

ललितपुर — लगनखेल–चापागाउँ रूटमा चल्ने बस प्रत्येक ७/७ मिनेट अन्तरमा छुट्ने तालिका छ । यो ललितपुर मिनिबस व्यवसायी संघको औपचारिक तालिका हो । तर, यथार्थमा यी गाडी १५ मिनेटमा पनि छुटदैनन् । साँझपख चल्ने गाडी त झन् आधा घण्टासम्म रोकिन्छन् । पीडित यात्रीका अनुसार कसैले ढिलो भयो भनेर गुनासो गरे चालकले उल्टै झर्पाछन् र भन्छन्, ‘हतार भए झर्नुस् न त ।’


‘कार्यालय समयमा बस थप्ने गरेका छौं भन्छन्, तैपनि प्राय: प्याक भएर आउँछन्,’ गोदावरी नगरपालिका १२ की सुनिता महर्जनले भनिन्, ‘माइक्रोमा त टेक्ने ठाउँसमेत हुँदैन ।’ उनले स्थानीय तहका जनप्रतिनिधिले यातायातमा सुधार गर्ने आश्वासन बाँडेपनि कुरैमा सीमित रहेकोदु:खेसो पोखिन् ।

बस समयमा नछुट्नेमात्र होइन, गन्तव्यमै नपुग्दा झनै समस्या हुने गरेको गुनासो गोदामचौरका राजु आचार्य गर्छन् । ‘साँझ लगनखेलबाट गोदामचौर र विशंखुनारायणका लागि छुट्ने बस ठैवचोकबाट फर्किन्छन्,’ उनले भने, ‘यात्रु हिँडेर घर पुग्न बाध्य छन् ।’ झरूवारासीकी कञ्चन केसीको कार्यालय साँझ ५ बजे छुट्छ । ‘काठमाडौंस्थित अफिसबाट लगनखेल पुग्दा झन्डै साढे ६ बजिसक्छ,’ उनले भनिन्, ‘त्यतिखेर लगनखेलबाट माइक्रो छुटिसक्छ ।’ गाडी भेटिए पनि थोत्रामा कोच्चिएर जान बाध्य हुने गरेको सुनाइन् ।

बस व्यवसायी संघका अनुसार कार्यालय समयमा लगनखेल–धापाखेल रुटमा ७ मिनेट, लगनखेल–दक्षिणकालीमा ४० मिनेट, लगनखेल–कीर्तिपुर र लगनखेल–लुभु मानेदोभानमा १०/१० मिनेट, नखिपोट–रत्नपार्कमा ७ मिनेट, ढोलाहिटी–रत्नपार्क २० मिनेट, हात्तिवन खरिबोट–रत्नपार्क ५ मिनेट र गोदावरी–लगनखेल १० मिनेटको अन्तरमा बस छुट्नुपर्ने कार्यतालिका छ । संघले तोकेको समयमा बस सञ्चालन गर्न लगनखेल, लेले, चापागाउँ, लुभु, बुंगमतीलगायतका बसपार्कमा ३४ कर्मचारी खटाइएका छन् । तर पनि बस चालकको मनोमानी रहेको पीडितको गुनासो छ । ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निररत्न नेवा भने बसहरू समयमै छुटिरहेको दाबी गर्छन् । ‘यसबारे समितिमा लिखित उजुरी परे बस चालकलाई जरिवाना गराउँछु,’उनले भने ।

सीमित बस
संघले आफ्नो प्रत्येक साधारणसभामा जिल्लामा बस थप गर्ने घोषणा गर्दै आएको छ । तर कहिल्यै थप्दैनन् । बस अपुग हुँदा काँठ र सहरी क्षेत्रका यात्री झुन्डिएर कष्टकर यात्रा गर्न बाध्य छन् । दक्षिण दुर्गम पहाडी गाउँवासी दूध, तरकारी ढुवानी गर्ने गाडीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । लगनखेल–चापागाउँ–गिम्दी–चन्दनपुर–ठूलादुर्लुङ रूटमा ७८ बस सञ्चालनमा रहेको संघको दाबी छ । लगनखेल–धापाखेलमा ३२, लगनखेल–दक्षिणकालीमा ४, लगनखेल–कीर्तिपुरमा ७, लगनखेल–लुभुमा ७२, नखिपोट–रत्नपार्कमा २०, ढोलाहिटी–रत्नपार्क १०, हात्तिवन खरिबोट–रत्नपार्क २०, गोदावरी–लगनखेल ८०, लगनखेल–रत्नपार्क ६८ र लगनखेल–बुङमती–छम्पी–फर्सिडोल–टीकाभैरव रुटमा ६५ बस सञ्चालनमा रहेको संघले बताएको छ ।

प्रकाशित : पुस ९, २०७४ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT