शव गृहमा उपचार गर्दा बिरामीको मृत्यु

अर्जुन राजवंशी

दमक — यहाँस्थित आम्दा अस्पतालले बिरामीलाई शव गृहमा राखेर उपचार गरेको खुलेको छ । भारतको आसाम जुनाइका ५५ वर्षीय नेत्र ओझाको त्यसरी उपचार गरिएको हो । ओझाको उपचार क्रममै मृत्यु भएपछि स्थानीयले लापरबाही गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन् ।

शव गृहमा उपचार गर्दा बिरामीको मृत्यु

सिकिस्त बिरामीलाई सुविधाविहीन शव गृहमा राखेर उपचार गर्न नहुने तर्क उनीहरुको छ ।


बेवारिसे अवस्थामा भेटेपछि ओझालाई उपचारका लागि अस्पताल भर्ना गरेको इलाका प्रहरी कार्यालयका डीएसपी दीपक गिरीले बताए । उनका अनुसार मानसिक स्वास्थ्य ठीक नभएका ओझा केही दिनयता दमक नगरपालिकामा भौतारिरहेका थिए ।


मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन ढकालले ओझालाई राखेर उपचार गरिएको भवन शव गृह नभएको दाबी गरे । उनले अस्पतालमा शव गृह नै नभएको र उक्त भवनमा राखेर यसअघि पनि बिरामीलाई उपचार गर्दै आएको बताए । ‘प्रहरीले भर्ना गरेपछि पहिलो दिन अन्य विरामीसँगै बेडमा राखेर उपचार गरिएको हो,’ उनले भने, ‘तर, ओझाको शरीरबाट नमिठो गन्ध आएपछि अन्य बिरामी र उनीहरुका कुरुवाले विरोध गरेपछि उक्त भवनमा सारिएको थियो ।’


ढकालले उक्त भवनमा यसअघि एचआइभी, एड्स, हेपाटाइटीस ‘बी’र भुटानी शरणार्थी शिविरका बिरामीलाई राखेर उपचार गर्ने गरेको बताए । ‘त्यो भवन शव गृह होइन । शव गृह बनाउने तयारी भने गरिरहेको हो । पहिला पनि त्यहाँ राखेर बिरामीको उपचार गरिएकाले ओझालाई पनि त्यहीं राखेका थियौं,’ उनले भने ।


मेडिकल सुपरिटेण्डेण्ट ढकालले उक्त भवन शव गृह नभएको दाबी गरे पनि भवनमा ‘शव गृह’लेखिएको प्लेट झुन्ड्याइएको छ । प्रत्यक्षदर्शीका अनुसार शव गृहमा बिरामीको उपचार गरेको बारे आइतबार अस्पताल परिसरमा चर्चा सुरु भएपछि तत्कालै अस्पताल प्रशासनले शव गृह लेखिएको प्लेट हटाएको छ । तीन दिनसम्म कोही नआएको भएपनि आइतबार दिउँसो बिरामीलाई खोज्दै उनका आफन्त नाता पर्ने आएका थिए । आफन्त आएको केहीबेरमै ओझाको मृत्यु भएको थियो । आइतबारै आफन्तले उनको शव बुझेर लगेको डीएसपी गिरीले बताए ।


प्रकाशित : पुस ९, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?