१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘कमजोर सरकार अब बन्ने छैन’ 

विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार हिजोको जस्तो कमजोर नबन्ने बताएका छन् ।

‘कमजोर सरकार अब बन्ने छैन’ 

चितवन उद्योग संघले आइतबार साँझ भरतपुरमा प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी भएकाहरुलाई आयोजित सम्मान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले भनेर पनि गर्न नपाइने र नसकिने हिजोको स्थिति अब नरहने बताए ।


ऐनका व्यवस्थाहरुलाई सुधार गर्न सकिए र आयत-निर्यातसँग सम्बन्धित राष्ट्रको हितविपरीत कानुनहरुलाई संशोधन गर्न सकिए पाँच वर्ष भित्रमा मुलुकमा केही न केही आर्थिक क्रान्ति हुने दाहालको दाबी छ । ‘निजी क्षेत्रका व्यवसायीसँग धेरै नै अन्तरक्रियाको आवश्यकता देखेको छु, उहाँहरुले दिने सुझावलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने छ ,’ उनले भने,‘ हिजोका सरकार जस्तो कमजोर सरकार अब रहने छैन, अबको सरकारले भनेपछि त्यो लागू हुने छ ।’


शान्ति, सुशासन र समृद्धि विकासको मोडल भएको उल्लेख गर्दै उनले भने,‘हामीले ठूला/ठूला महत्कांक्षासहित जनतालाई केही कुराको इच्छा जगाएका छौं, चाहे सुरुङमार्ग, चाहे रेलमार्ग या ठूला/ठूला तटबन्धको कुरा नै किन नहोस्, त्यही भएर आगामी दिनमा सबै मिलेर देशको आर्थिक क्षेत्रमा नयाँ अभियान छेड्न आवश्यक छ ।’


नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाको मुखबाट माओवादीले लिडरसीप कसरी विकास गर्न चाहन्छ भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भनेको सुन्दा खुसी लागेको उनले बताए ।


केही दिनयता दाहाल गृह जिल्लामा छन् । क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि दाहाल अहिले जनताको घरदैलोमा पुगेर धन्यवाद दिन व्यस्त छन् ।


प्रकाशित : पुस ९, २०७४ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?