सरुवा रोकिएपछि आफैं सरुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — आफूले चाहेअनुसारका सरुवा गर्न वन सचिव डा. युवकध्वज जीसी बाधक बनेपछि वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ज्ञानेन्द्र पौडेल आफैंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा मिलाएका छन् ।

वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ज्ञानेन्द्र पौडेल ।

केही दिनअघि सहसचिव पौडेलले उपसचिव/डीएफओहरूको सरुवा सूची बोकेर सचिव जीसीको कार्यकक्ष पुगेका थिए। सचिवले सरकार फेरिने बेला आफूले सरुवाको अनुमति दिन नसक्ने, सार्नैपरे कर्मचारी संगठनसँग सहमति गर्नुपर्ने अडान लिएपछि पौडेल वन मन्त्रालयमा काम नगर्ने भन्दै बाहिरिएका थिए।

Yamaha

‘पौडेल आफैं सामान्य प्रशासन मन्त्रालय गएर तत्काल सरुवा माग गर्नुभएछ,’ वन मन्त्रालय स्रोतले आइतबार कान्तिपुरलाई भन्यो, ‘उहाँको आइतबार सरुवापत्र आएको छ।’ सोमबारदेखि नै उनी अख्तियार हाजिर हुँदैछन्। मन्त्रालयको प्रशासन महाशाखामा बसेर पौडेलले ‘ग्रुपिजम’ गरेको मन्त्रालयका अधिकारीको आरोप छ। पौडेलको अख्तियारमा सरुवा भए पनि सामान्यले वनको प्रशासन महाशाखामा तत्काल अर्को सहसचिव पठाएको छैन।

वन सचिव जीसीले सामान्य सचिव शंकरप्रसाद कोइरालासँग अर्को सहसचिवबारे जानकारी लिँदा दुई महिनापछि मात्र सहसचिव पठाउन सक्ने बताएको स्रोतको दाबी छ। वनको प्रशासनमा एक सहसचिव, दुई उपसचिव र अधिकृतहरूको दरबन्दी रहेकामा दुई उपसचिव र दुई अधिकृत पद रिक्त छ। प्रशासनका दुई जना अधिकृत मात्र कार्यरत छन्। अख्तियार सरुवा भएका सहसचिव पौडेलले भने आफ्नो सरुवा नियमित भन्दै समाचारको विषय नभएको तर्क गरे।

यसैबीच, निजामती कर्मचारी संगठन वन मन्त्रालय विभागीय कार्यसमिति र राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले सचिव जीसीलाई आइतबारै भेटेर दीर्घकालीन असर पर्ने गरी मन्त्रालय र विभाग तथा आयोजनाहरूमा राजनीतिक नियुक्ति र सरुवा नगर्न आग्रह गरेका छन्। वनमन्त्री विक्रम पाण्डेले जाने बेला राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको चुरे गठन आदेश संशोधन गरी दुई जना सदस्य थप गर्ने प्रक्रिया अघि बढाएका बेला कर्मचारी संगठनले त्यसो नगर्न ध्यानाकर्षण गराएका हुन्। गठन आदेशमा सहायकमन्त्री सरहका ५ जना सदस्य रहने व्यवस्था परिवर्तन गरी सात प्रदेश हेर्न सात जना सदस्य बनाउन संशोधन प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित : पुस ९, २०७४ २०:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘कमजोर सरकार अब बन्ने छैन’ 

विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार हिजोको जस्तो कमजोर नबन्ने बताएका छन् ।

चितवन उद्योग संघले आइतबार साँझ भरतपुरमा प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी भएकाहरुलाई आयोजित सम्मान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले भनेर पनि गर्न नपाइने र नसकिने हिजोको स्थिति अब नरहने बताए।

ऐनका व्यवस्थाहरुलाई सुधार गर्न सकिए र आयत-निर्यातसँग सम्बन्धित राष्ट्रको हितविपरीत कानुनहरुलाई संशोधन गर्न सकिए पाँच वर्ष भित्रमा मुलुकमा केही न केही आर्थिक क्रान्ति हुने दाहालको दाबी छ। ‘निजी क्षेत्रका व्यवसायीसँग धेरै नै अन्तरक्रियाको आवश्यकता देखेको छु, उहाँहरुले दिने सुझावलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने छ ,’ उनले भने,‘ हिजोका सरकार जस्तो कमजोर सरकार अब रहने छैन, अबको सरकारले भनेपछि त्यो लागू हुने छ।’

शान्ति, सुशासन र समृद्धि विकासको मोडल भएको उल्लेख गर्दै उनले भने,‘हामीले ठूला/ठूला महत्कांक्षासहित जनतालाई केही कुराको इच्छा जगाएका छौं, चाहे सुरुङमार्ग, चाहे रेलमार्ग या ठूला/ठूला तटबन्धको कुरा नै किन नहोस्, त्यही भएर आगामी दिनमा सबै मिलेर देशको आर्थिक क्षेत्रमा नयाँ अभियान छेड्न आवश्यक छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाको मुखबाट माओवादीले लिडरसीप कसरी विकास गर्न चाहन्छ भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भनेको सुन्दा खुसी लागेको उनले बताए।

केही दिनयता दाहाल गृह जिल्लामा छन्। क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि दाहाल अहिले जनताको घरदैलोमा पुगेर धन्यवाद दिन व्यस्त छन्।

प्रकाशित : पुस ९, २०७४ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT