कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धमाधम छुट्छन् सुन तस्करीका अभियुक्तहरू

जनकराज सापकोटा

काठमाडौँ — ठूलो परिमाणको सुन तस्करीका अधिकांश घटनामा मुछिएका प्रतिवादीहरू अदालतबाट सामान्य धरौटीमै छुटेका छन् । प्रहरीले संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दायर गरे पनि अदालती प्रक्रियाबाट केही लाख धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइरहेका छन् ।

धमाधम छुट्छन् सुन तस्करीका अभियुक्तहरू

यसले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न त उठेको छ नै, विद्यमान कानुनी ‘छिद्र’ को फाइदा तस्करीमा संलग्नले उठाइरहेको समेत देखिन्छ ।


२०७३ पुस २१ मा नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्युरोले दुबईबाट एयर अरेबियाको विमानमार्फत ‘सेटिङ’ मा काठमाडौं ल्याउँदै गरिएको ३३.७७७ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद गर्‍यो । तस्करीको सुन बरामद भएलगत्तै ब्युरोले पत्रकार सम्मेलन गरेर अनुसन्धान गर्ने जिम्मा राजस्व अनुसन्धान विभागलाई नदिने बरु आफैंले संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाउने घोषणा गर्‍यो । यसअघि अधिकांश सुन तस्करीका घटनामा प्रहरीले मुद्दाको जिम्मा राजस्व अनुसन्धान विभागलाई दिने गरेको थियो । संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाउँदा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने सुविधा प्रहरीलाई थियो । महिनौं लामो अनुसन्धानपछि प्रहरीले ३३ जना प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो, जसमा ब्युरोले १६ करोड ४२ लाख रुपैयाँ बिगो दाबी माग गरेको थियो भने भन्सार ऐनअनुसार जरिवाना, ५ वर्ष कैद र संगठित अपराधमा कैद माग दाबी गरेको थियो ।


ब्युरोले तस्करीमा मुख्य भूमिका निर्वाह गरेको भनेर जो जसलाई प्रतिवादी बनाएको थियो, तीमध्ये अधिकांश सामान्य धरौटी बुझाएर छुटिसकेका छन् । ३३ प्रतिवादीमध्ये २० जना छुटिसकेका छन् भने ६ जना पुर्पक्षका लागि थुनामा छन् । अन्य प्रतिवादी फरार छन् । अवैध सुन तस्करीमा सामेल भएको अभियोगमा विमानस्थल भन्सारमा कार्यरत कर्मचारी, काठमाडौंका ठूला भनिएका सुन पसलका सञ्चालकहरूदेखि एसएसपी श्याम खत्रीसम्म पक्राउ परेका थिए ।


विमानस्थलमा कार्यरत एसएसपी खत्रीमाथि सुन पास गराउन सुरक्षा प्रबन्ध मिलाएर आर्थिक लाभ लिएको आरोप थियो । विमानस्थल भन्सारमै कार्यरत कर्मचारी श्रीनारायण यादवले प्रहरी बयानका क्रममा अवैध सुन भन्सार पास गराएपछि एसएसपी खत्रीले एक लाख रुपैयाँ दिने गरेको बताएका थिए । तर २३ माघमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार एसएसपी खत्री २ लाख धरौटीमा छुटे । जिल्ला अदालतको आदेश अमिल्दो भएको भन्दै एसएसपी खत्रीले पाटन उच्च अदालतमा पुनरावेदन दिए । पाटन उच्च अदालतको आदेशबाट भने उनी साधारण तारेखमा रिहा भए ।


विमानस्थल भन्सारको एक्सरे शाखामा लामो समयदेखि काम गरिरहेका रेडियो टेक्निसियन श्यामकृष्ण श्रेष्ठलाई पनि ब्युरोले मुख्य प्रतिवादी बनाएको थियो । एसएसपी खत्रीसँग मिलेर ‘सेटिङ’ मा सहयोग गरेको आरोप उनीमाथि लागेको थियो । केही महिना थुनामा बसेका श्रेष्ठ पनि अन्तत: काठमाडौं जिल्ला अदालतको आदेशअनुसार दुई लाख धरौटी बुझाएर छुटे । तस्करीको सुन किनेको आरोप लागेका राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठ एक/एक लाख धरौटीमा छुटे । त्यस्तै संगठित तस्करीबाट काठमाडौं भित्रिएको सुन सस्तो मूल्यमा किनेको आरोप न्युरोडमा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस सञ्चालन गरिरहेका राजेश, सुनील, मनोज र सपनमाथि लागेको थियो । धरान स्थायी घर भएका सपन पप र फ्युजन गीतका लोकप्रिय गायकका रूपमा परिचित छन् ।


ब्युरोले मुद्दा चलाएका राजेश बोगटी र राजेन्द्रमान शाक्य क्रमश: जेठ २२ र २३ गते डेढ/डेढ लाख रुपैयाँ धरौटी बुझाएर छुटे । जेठ २९ गते मल्लिका बज्राचार्य शाक्य साधारण तारखेमा धरौटीमा छुटिन् भने वैभव लक्ष्मी गोल्ड प्यालेसकी सञ्चालिकामध्येकी एक गीता श्रेष्ठ जेठ ३० मा एक लाख धरौटी बुझाएर रिहा भइन् । सोही प्यालेसका अर्का सञ्चालक प्रमोद श्रेष्ठ सात लाख रुपैयाँ धरौटी बुझाएर छुटे । ब्युरोले आरके ज्वेलर्सका शाक्य र बज्राचार्यका साथै शालिमार ज्वेलर्सका बोगटी र वैभव लक्ष्मी गोल्ड प्यालेसकी सञ्चालिका श्रेष्ठमाथि अवैध सुन खरिद गरेको आरोप लगाएको थियो । गीता र प्रमोदलाई ब्युरोले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो ।


तस्करीको सुन ओसारपसारका मुख्य नाइके भनेर ब्युरोले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरी राजनप्रसाद पन्थलाई दुबईबाट डिपोर्ट गराउन सफल भएको थियो । डिपोर्ट भएर काठडमाडौं फर्कनेबित्तिकै विमानस्थलमा पक्राउ परेका पन्थ १० लाख धरौटी बुझाएर छुटिसकेका छन् । त्यस्तै प्रहरीले दुबईमा बसेर सुन तस्करी धन्दा चलाइरहेको आरोप लागेका गुप्तलाल भुसाललाई पनि डिफ्युजन नोटिस जारी गरेको थियो । कात्तिक २३ गते दुबईबाट ल्याइएका भुसाल पनि कात्तिक २६ गते काठमाडौं जिल्ला अदालतमा २० लाख धरौटी बुझाएर छुटे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।


दुबईबाट अवैध रूपमा भित्रिएको सुन काठमाडौंमा व्यवस्थापन गर्ने आरोप लागेका रामप्रताप खडका पनि जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका छन् । उनलाई ब्युरोले रामहरि कार्कीसँग मिलेर अवैध सुन ‘रिसिभ’ गर्ने र सुन पसलमा पुर्‍याउने गरेको आरोप लगाएको थियो । आरके ज्वेलर्स न्युरोडका कामदार सन्नी श्रेष्ठ, विमानस्थल भन्सारमा रेडियो टेक्निसियनका रूपमा कार्यरत गंगाप्रसाद भुर्तेल र सोही पदमा कार्यरत प्रद्युम्नहरि खडका र तेजबहादुर श्रेष्ठ १०/१० लाख धरौटीमा छुटेका छन् । कतिसम्म भने आरके ज्वेलर्सका सञ्चालकमध्येका एक राजेन्द्रकुमार शाक्य डेढ लाख धरौटीमा छुटे भने सोही पसलमा कामदारका रूपमा कार्यरत सन्नीसँग भने दस लाख धरौटी माग गरिएको थियो ।


तस्करीको सुन लिन दिलबन्धु कार्की टेरियस गाडी लिएर विमानस्थल पुगेका थिए । गाडीका मालिक जितबहादुर तामाङलाई पनि प्रहरीले प्रतिवादी बनाएको थियो । प्रतिवादी तामाङ पनि काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भइसकेका छन् ।


तस्करीमा मुछिएका ६ जना मात्रै पुर्पक्षका लागि थुनामा छन् । यूएईबाट सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन जाने दिलबन्धु कार्की र रामहरि कार्की, सुन पठाउन व्यवस्था मिलाउने सन्तोष काफ्ले, विमानस्थल भन्सारको स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकाल र विमानस्थल भन्सारमा कार्यरत तथ्यांक अधिकृत श्रीनारायण यादवमात्रै थुनामा छन् ।


३३ केजी सुन तस्करीमा जसरी मुख्य प्रतिवादी सामान्य धरौटी बुझाएर मुक्त भए त्यस्तै प्रवृत्ति गत भदौ २९ गते क्षेत्रपाटीमा रोकिराखेको गाडीबाट बरामद ८८ केजी सुनको मुद्दामा पनि देखिएको छ । प्रहरी परिसर काठमाडौंले सुन तस्करीको यो घटनामा पनि संगठित अपराध निवारण ऐनअन्तर्गत ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो । प्रहरीले काठमाडौंमा होटल व्यवसाय गर्ने फरार दुई चिनियाँ नागरिक पान विङमिङ र याङ विङमिङसहित ११ जनालाई प्रतिवादी बनाएको थियो । तीमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् भने चार जना धरौटी बुझाएर छुटिसके ।


चिनियाँ नागरिकसँग मिलेर तस्करी व्यवस्थापन गरेको आरोप लागेका केरुङ–नेपाल व्यापार संघका अध्यक्ष एवं रसुवाका कांग्रेस नेता मानबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दियो । तामाङले वी च्याटमार्फत चिनियाँ नागरिकसँग सुन तस्करी गर्नेबारे सूचना आदानप्रदान गर्ने र चिनियाँसँग मिलेर व्यापारसमेत गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । एक हजार रुपैयाँको लोभमा तस्करीको सुन ओसारपसार गर्ने गाडी चलाउने तीन चालक दम्बा सान्डु तामाङ, दिलीप खडका र मनोज अधिकारीलाई भने जिल्ला अदालतले थुनामा राखेको छ, जबकि प्रहरी परिसर काठमाडौंले तीनै चालकलाई मुख्य अभियुक्त नभई सहयोगीका रूपमा मात्रै पेस गरेको थियो । अदालतले ओसारपसारमा संलग्न सहयोगी लाक्पा ग्याल्जेन तामाङलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


सुन किनेको आरोप लगाएका रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडुलाई भने अदालतले पाँच लाख धरौटीमा मुक्त गरिदियो । सुन किनेकै आरोप लागेका नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल २ लाख धरौटीमा छुटे भने बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य ५ लाख धरौटीमा छुटे । सुन पसलका सञ्चालक थोरै धरौटी बुझाएर छुटदा भने तस्करीको सुन खारेको आरोप लागेका सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले पुर्पक्षका लागि थुनामा छन् । अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकारीले यतिमात्रै भने, ‘तस्करीका मुख्य अभियुक्त थोरै धरौटीमा छाड्ने, सहयोगी भूमिकामा रहेकालाई पुर्पक्षमा थुनामा राख्ने अदालती निर्णयले अचम्म बनाएको छ ।’


सामान्य धरौटीमा छुटेका रविश्याम ट्रेडर्सका अग्रवाल २०७२ पुस २३ गते पनि काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै धरौटीमा छुटेका दार्चुला घर भएका बडु भने लामो समयदेखि यार्सालगायतका बहुमूल्य जडीबुटी तिब्बतलगायत चिनियाँ बजारमा थोकमा बेच्ने काममा संलग्न व्यापारी हुन् । बडुले नेपालबाट यार्सागुम्बु तिब्बत पठाउने र त्यसको मूल्य सुनबाट बुझ्ने गरेको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको थियो ।


गत भदौमा ब्युरोले टोखाबाट १४ केजी सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ गर्‍यो । चीनबाट रसुवाको केरुङ हुँदै काठमाडौं ल्याइएको २२ केजी सुनमध्ये त्यो एक हिस्सा थियो । ब्युरोले संगठित रूपमा सुन तस्करी भइरहेको भन्ने निष्कर्षका आधारमा तस्करीमा संलग्न सात जनालाई पक्राउ गर्‍यो भने फरार चार जनालाई फेला परेका बखत अदालतमा बुझाउने गरी काठमाडौं जिल्ला अदालतमा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दायर गर्‍यो । ब्युरोले यो मुद्दामा १० करोड ६१ लाख ९४ हजार रुपैयाँ बिगो दाबी कायम गरेको थियो ।


संगठित अपराधमा मुद्दा चलाइएको यसअघिका दुई घटनामा जस्तै यो प्रकारणमा पनि ब्युरो चकित पर्‍यो । तस्करीमा संलग्न मुख्य आरोपीले सामान्य धरौटीमै अदालतबाट उन्मुक्ति पाए भने सहयोगी भूमिका रहेकाहरू पुर्पक्षका लागि थुनामा पुगे । प्रहरीले तस्करीको मुख्य नाइकेका रूपमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका निर्वाचित अध्यक्ष राजकुमार पौडेललाई प्रतिवादी बनाएको थियो । तस्करीको सुन बरामद भएलगत्तै भारत पसेका श्रेष्ठ निर्वाचनअघि सुटुक्क काठमाडौं आए र काठमाडौं जिल्ला अदालतको आदेशअनुसार एक लाख धरौटी बुझाएर प्रतिनिधिसभा चुनावमा खटिए । पौडेलको सहयोगीका रूपमा रहेका रमेश खडका पनि घटनालगत्तै फरार भए र उनी पनि पौडेल जस्तै काठमाडौं जिल्ला अदालतको आदेशअनुसार एक लाख धरौटी बुझाएर मुक्त भए ।


फरार पौडेल र खडका धरौटी बुझाएर मुक्त हुनुअघि नै १६ कात्तिकमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले मुद्दाका ६ प्रतिवादीलाई २ देखि ५ लाख धरौटीमा मुक्त गरिसकेको थियो । न्यायाधीश बानियाँकै इजलासले पेम्बा दोर्जेलाई भने पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालती आदेशलगत्तै विष्णु गौतम ५ लाख धरौटी बुझाएर छुटे भने सरोज थापा, रवीन्द्र खत्री, राजेन्द्र खत्री, दीपेन्द्र थापा र दीपकुमार शाह जनही दुई/दुई लाख धरौटीमा रिहा भए ।


संगठित रूपमा भइरहेको सुन तस्करीका तीन प्रतिनिधि घटनाका मुख्य प्रतिवादीहरू सामान्य धरौटीमा रिहा हुनुलाई प्रहरीका उच्च अधिकारी अनौठो रूपमा हेर्छन् । एक उच्च अधिकारीले संगठित अपराधमा मुछिएका र करोडौंको बिगो मागदाबी भएको मुद्दामा केही लाखमा धरौटी बुझाएर प्रतिवादी छुटदा संगठित अपराधले बढावा पाउन सक्ने बताए । ‘कि त प्रहरीको अनुसन्धानमा त्रुटि हुनुपर्‍यो, होइन भने अदालती प्रक्रियाबाट कसरी प्रतिवादीहरू सजिलै छुट्ने परिस्थिति निर्माण भयो भन्नेबारे गम्भीर समीक्षा हुन जरुरी छ,’ उनले भने ।


प्रकाशित : पुस ९, २०७४ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?