कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सबै प्रदेशमा वायु प्रदूषण मापन केन्द्र

काठमाडौँ — सरकारले राजधानीबाहिर विभिन्न सहरमा वायु प्रदूषण मापन केन्द्र जडान गर्ने भएको छ । वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले प्रदेश १ को इटहरी वा दुहबी, प्रदेश २ को वीरगन्ज, प्रदेश ५ को दाङ उपत्यका र नेपालगन्ज तथा प्रदेश ७ को डडेलधुरामा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्न लागेको हो । 

सबै प्रदेशमा वायु प्रदूषण मापन केन्द्र

प्रदेश ३ मा चितवनको इच्छाकामना डाँडामा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । उक्त केन्द्र वन क्षेत्रमा स्थापना गर्नुपर्ने र केही रूख कटान गर्नुपर्ने भएकाले जग्गा प्राप्ति र रूख काट्न वन मन्त्रालयसँग अनुमति मागिएको छ । अर्को चरणमा भने प्रदेश ६ को सुर्खेतको वीरेन्द्रनगरमा राखिनेछ । सबै प्रदेशका सहरी र सहरोन्मुख क्षेत्रमा वायु प्रदूषणको अवस्थाबारे जानकारी दिन विभागले केन्द्र स्थापनामा जोड दिएको हो ।


विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार केन्द्र स्थापनाका लागि प्राविधिक टोली यसै साता स्थलगत निरीक्षणमा जाँदैछ ।


‘केन्द्र स्थापना गर्ने ठाउँको अवस्था अध्ययनका साथै स्थानीय निकायका अधिकारीसँग पनि छलफल गरेर केन्द्र राखिने ठाउँ टुंग्याइनेछ,’ पौडेलले कान्तिपुरसित भने, ‘चालु आर्थिक वर्षभित्र सबै स्थानमा केन्द्र स्थापना गर्ने हाम्रो लक्ष्य छ ।’


काठमाडौं बाहिर केन्द्र स्थापनाका लागि करिब ६ करोड १३ लाख रुपैयाँ बजेट छ । आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौं बाहिरका धरान, विराटनगर, वीरगन्ज, दाङ, नेपालगन्ज, धनगढीलगायत सहरहरूमा पछिल्ला वर्षमा वायु प्रदूषणको मात्रा बढदै गएको छ । अस्तव्यस्त सडक, सवारी साधन तथा उद्योग वायु प्रदूषणका मुख्य स्रोत हुन् ।


काठमाडौं उपत्यकाभित्र विभागले रत्नपार्क, भैंसेपाटी, शंखपार्क, वीरेन्द्र सैनिक स्कुल परिसर भक्तपुर, पुल्चोक र कीर्तिपुरमा मापन केन्द्र स्थापना गरेको छ । उपत्यका बाहिर पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल लामाचौर र जल तथा मौसम विज्ञान विभागको क्षेत्रीय हावापानी कार्यालयमा राखिनेछ भने धुलिखेलमा पनि विभागले केन्द्र राखेको छ ।


अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक र आर्थिक सहयोगमा लुम्बिनी तथा चितवनको सौराहामा केन्द्र स्थापना गरिएको छ । सबै केन्द्रले वायु प्रदूषणको पीएम १० र पीएम २.५ को मात्राबारे विभागलाई ‘रियल टाइम’को जानकारी दिने गरेको छ । विभागले सबै केन्द्रले दिने सूचना वेबसाइट ‘पलुसन डट जिओभी डट एनपी’ मार्फत् अपडेट गर्छ ।

प्रकाशित : पुस १०, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?