कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘रानीपोखरीमा कंक्रिट रोक्छु’

रानीपोखरी यसरी बनाइएको हामीलाई थाहा दिइएको थिएन– उपमेयर खड्गी

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मापदण्डविपरीतको रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी छन् । रिभेवल काठमाडौं र सोसाइटी अफ नेपलिज आर्किटेक्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खड्गीले भनिन्, ‘अब म काम रोक्नतिर लाग्छु ।’

‘रानीपोखरीमा कंक्रिट रोक्छु’

खड्गीले महानगरका मेयर विद्यासुन्दर शाक्यले एकलौटी ढंगले काम गरेको आरोप पनि लगाइन् । ‘रानीपोखरी यसरी बनाइएको हामीलाई थाहा दिइएको थिएन,’ खड्गीले भनिन्, ‘बाहिर कुरा आएपछि हामीले मेयरलाई भन्यौं । उहाँले पछि सल्लाह गरौंला मात्रै भन्नुभयो । अब काम रोक्छु । हाम्रो सम्पदा मासिन दिन्नँ ।’

कार्यक्रममा उपमेयर खड्गीको भनाइको रक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस नेता गगन थापालगायतले समर्थन गरेका थिए । ‘रानीपोखरी पुनर्निर्माण पेलेरै गर्ने योजना मेयरले बनाएका छन्,’ क्षेत्र नं ६ का नवनिर्वाचित सांसदसमेत रहेका प्रधानले भने, ‘पेलेरै जान खोजे आन्दोलनमा समेत जानुपर्छ ।’ क्षेत्र नं ४ का सांसद थापाले पुनर्निर्माण तत्काल रोक्नुपर्ने बताए । ‘सहरलाई आधुनिक मात्र होइन, बस्नलायक बनाउनुपर्छ,’ थापाले भने, ‘रानीपोखरी गलत तरिकाले पुनर्निर्माण भएको विज्ञले बताइरहेका छन् । यसलाई तुरुन्त रोक्नुपर्छ ।’

महानगरका मेयर शाक्यले भने पुरातत्त्वको स्वीकृति लिएर बनाएकाले यसलाई जसरी पनि ब्युटिफिकेसन गर्ने र रानीपोखरीलाई पर्यटकीय गन्तव्य बनाएरै छाड्ने अडान लिएका छन् । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा खनेर धमाधम पर्खाल निर्माण थालिएको छ । रोडा, सिमेन्टजस्ता सामग्री पोखरी वरिपरि थुपारिएका छन् । काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट प्रयोग गरेर बनाएपछि पुरातत्त्व विभागले भत्काउन डेढ वर्षअघि आदेश दिएको थियो ।

पुरातात्त्विक महत्त्वको सम्पदामा कंक्रिट प्रयोग भएपछि यसको सर्वसाधारणले गरेको विरोधका कारण पुरातत्त्व विभागले मापदण्डअनुसार बनाउन निर्देशन दिएको थियो । महानगरले आफूसँग पुरातात्त्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि एक वर्षअघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने भएको थियो । पोखरी र बाहिरी भागको निर्माण भने महानगरले गर्ने सहमति भएको थियो । ‘बालगोपालेश्वरलाई मात्रै सम्पदा मानियो । रानीपाखरीलाई सम्पदा मानिएन,’ पुरातत्त्वविद् सुदर्शनराज तिवारीले भने, ‘डेढ वर्षपहिला हामीले पूरै रानीपोखरीमा पुरातात्त्विक मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्छ भनेर आन्दोलन गरेका हौं । त्यही आन्दोलनले मापदण्डविपरीत बालगोपालेश्वरको पुनर्निर्माण रोकियो । अहिले फेरि रानीपोखरीमा कंक्रिट मिसाइयो ।’

२०७३ सालको भाइटीकामा सम्पन्न गर्ने गरी २०७२ माघ २ गते यसको पुनर्निर्माण सुरु भएको थियो । यसको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । २०७३ वैशाखदेखि महानगरले पुनर्निर्माण थालेको थियो । महानगरले २०३२ सालमा पुनर्निर्माण गर्दा यहाँ कंक्रिट प्रयोग गरेकाले त्यहीअनुसार आफूले पनि प्रयोग गरेको बताएको थियो । ‘पहिला नै यहाँ वाटर फाउन्डेसन बनाइएको थियो । त्यतिबेला किन केही नबोलेको ?’ रानीपोखरी पुनर्निर्माणको अगुवाइ गरिरहेका महानगरका इन्जिनियर उत्तरकुमार रेग्मी भन्छन्, ‘यति बेला भनेर हुन्छ ?’ स्थानीयवासी भने विगतको गल्तीबाट पाठ सिकेर अब राम्रो काम गर्नुपर्ने बताउँछन् । ‘बलियो बनाउने नाममा सम्पदा मासिन हामी दिँदैनौं,’ सम्पदा जोगाउन अभियान चलाइरहेका आलोकसिद्धि तुलाधर भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै बन्नुपर्छ । मापदण्डविपरीत गए हामी फेरि आन्दोलन थाल्छौं ।’

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको छ । रानीपोखरीको छेउमा बस्नका लागि पार्क बनाउने र आउने पर्यटकलाई टिकट काटेर घुम्ने व्यवस्था गरिने महानगरले जनाएको छ । यसलाई साँझमा घुम्ने पार्कको रूपमा विकसित गरिने महानगरको योजना छ । बगैंचा, घुम्न दुईवटा बाटो, कफी सपलगायत संरचना बन्नेछन् । पार्कमा लाइट पनि जडान हुनेछ । पोखरीवरिपरिको क्षेत्रमा पनि विभिन्न रंगका लाइट राख्ने योजना छ । रंगीन फाहोरासमेत फालिनेछ । यहाँबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ ।

महानगरले रानीपोखरीको बाहिरी निर्माणमा पनि मापदण्ड मिचेको भन्दै सर्वसाधारणले रोक्न माग गरे पनि मेयर शाक्य भने पहिले नै भएका कामलाई आफूले निरन्तरता दिएको बताउँछन् । ‘यसको निर्माण मैले जित्नुभन्दा पहिला नै भएको हो । त्यतिबेलाको कामलाई निरन्तरता दिएको हो,’ मेयर शाक्यले भने, ‘के भएको हो सबै प्राविधिक कुरा मलाई पनि थाहा छैन । मैले काम छिटो सुरु गर मात्रै भनेको हुँ ।’

प्रकाशित : पुस ११, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?